close

नेपालमै पहिलोपटक आईटी ओलम्पियाड हुँदै

टेकपाना टेकपाना

चैत १३, २०७७ २१:२२

नेपालमै पहिलोपटक आईटी ओलम्पियाड हुँदै

काठमाडौं । आदिम नेसनल कलेजको आयोजना र कोड फर चेन्जको सह-आयोजनामा नेपालमै पहिलोपटक आईटी ओलम्पियाड हुने भएको छ । प्रविधिको नवीनतामा विशेष ध्यान राख्दै आएको आदिम कलेज र प्रविधिमा युवाको सशक्तिकरणमा काम गर्दै आएको कोड फर चेन्जले यो कार्यक्रम गर्न लागेका हुन् ।

देशैभर दक्ष जनशक्ति उत्पादन गरी विभिन्न राष्ट्रिय कार्यक्रमहरुको सफल कार्यान्वयन गरिसकेको कोड फर चेन्जले उक्त कार्यक्रमको मुख्य जिम्मेवारी पाई काम शुरु गरिसकेको छ ।

पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह, त्रिभुवन विश्वविधालय इन्जिनियरिङ संस्थानका प्राध्यापक डा. सुवर्ण शाक्य, नेसनल इन्नोभेसन सेन्टरका प्रमुख महावीर पुन र विज्ञान तथा प्रविधि शाखा त्रिभुवन विश्वविधालयका सहायक प्राध्यापक नवराज पौडेलको बोर्ड अफ ट्रस्टी रहेको उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्य शहरहरुमा हुन लागेको हो ।

स्थानीय, प्रदेशहुँदै राष्ट्रियस्तरको प्रतिस्पर्धा हुने मोडालिटी रहेको उक्त कार्यक्रममा विभिन्न शहरहरुका माध्यमिक विद्यालयहरुले आफ्ना विधार्थीहरुलाई प्रतिष्पर्धा गराउन सक्नेछन् भने आफ्ना विद्यार्थीहरुलाई प्रविधिको उपयोग र विकासमा समावेश गराई आफ्नो विद्यालयको नाम चिनाउनुका साथै प्रविधिको नवीनतामा अग्रसर गराई देश तथा विदेशमा योगदानको गर्न सक्नेछन् ।

उक्त कार्यक्रम ७ वटा प्रदेशमा हुने छ, जसमध्ये ६ वटा प्रदेश बाट १०,१० विद्यालयाहरुले उपस्थिति जनाई प्रतिष्पर्धा गर्न सक्नेछन् भने ३ नम्बर प्रदेशमा २० वटा विद्यालयबीच प्रतिस्पर्धा भई प्रदेशस्तरको प्रतिस्पर्धामा पुग्नेछन, हरेक प्रदेशबाट एक/एक वटा विद्यालयलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट ७ विद्यालयका विधार्थीहरु रास्ट्रियस्तरको प्रतिस्पर्धामा पुग्ने र उत्कृष्ट टिमले विभिन्न पुरस्कार तथा राशि पाउनुका साथै राष्ट्रिय परिचय बनाउनसमेत सफल हुनेछन् ।

कुनै पनि शुल्क नतिरी प्रतिष्पर्धामा उपस्थित हुन पाउने उक्त कार्यक्रम प्रविधिको अर्को फड्को भएको बताउँदै विज्ञहरुले उक्त कार्यक्रम नेपालका विद्यालयहरुको शैक्षिक गुणस्तर मापन गर्ने एउटा आधारसमेत बन्ने भनाइ राखे । विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन हौसला पुग्नसक्ने अनुमानसमेत लगाउन थालिएको उक्त कार्यक्रम चैत्त ७ मा सुरु भई वैशाखको २० गते सकिनेछ ।

परीक्षाले मापन गर्दै आइएको शिक्षा प्रणालीलाई थप प्रयोगात्मक र उपयोगी बनाउन सहयोग पुर्याई प्रविधिमा फड्को मार्ने उद्देश्यले सुरु गरिएको याे कार्यक्रम चैत्र ७ देखि १७ गतेसम्म विभिन्न विद्यालयहरुमा सञ्चालन हुनेछ भने विद्यालयबाट छानिएका उत्कृष्ट दुई प्रतिस्पर्धी प्रदेशस्तरको प्रतिस्पर्धामा एउटै टिम भई आफ्नो विद्यालयको प्रतिनिधित्व गर्नेछन् ।

विभिन्न ८० विद्यालयबीच हुने प्रदेशस्तरीय प्रतिष्पर्धा फरक फरक प्रदेशमा हुनेछ र हरेक प्रदेशबाट एउटा टिम तथा एउटा विद्यालयले रास्ट्रियस्तरको प्रतिस्पर्धामा भाग लिन पाउनेछन र जितेर सुनौलो अवसर हात पार्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१