close

अनलाइनबाटै यसरी लिनुहोस् वैदेशिक रोजगारको पुनः श्रम स्वीकृति

टेकपाना टेकपाना

चैत १५, २०७७ १६:५८

अनलाइनबाटै यसरी लिनुहोस् वैदेशिक रोजगारको पुनः श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगार विभागले एक पटक वैदेशिक रोजगारीमा गइसकेका कामदारले पुनः सोही वैदेशिक रोजगारीलाई निरन्तरता दिन चाहेको खण्डमा अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । आज हामी तपाईंलाई अनलाइनबाटै कसरी वैदेशिक रोजगारको पुनः श्रम स्वीकृति लिने भन्ने विषयमा बताउँदै छौं ।

यदि तपाईंले पुरानो श्रम स्वीकृति लिँदा आफ्नो आँखा वा औँठाछाप (बायोमेट्रिक) रजिस्टर गर्नुभएको छ भने मात्रै अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सक्नुहुन्छ । तर बायोमेट्रिक दर्ता छैन भने पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सकिँदैन ।

यसका लागि वैदेशिक रोजगार विभागको कार्यालयमा गएर आफ्नो आँखा वा औँठाछाप दर्ता गराउनुपर्ने हुन्छ । पुनः श्रम स्वीकृतिका लागि १५०० रुपैयाँ कल्याणकारी कोष शुल्क र कामदारको उमेर अनुसार ३००० देखि ९००० हजार रुपैयाँसम्म वीमा शुल्क लाग्नेगरेको छ । जुन तपाईंले ईसेवा, खल्ती जस्ता माध्यमबाट भुक्तानी गर्न सक्नुहुन्छ ।

पुनः श्रम स्वीकृति कसरी लिने

१. वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृतिका लागि सुरुमा वैदेशिक रोजगार विभागको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।

२. अब त्यसमा आफ्नो युजरनेम (ईमेल) र पासवर्ड राखेर साइन इन गर्नुहोस् । यदि तपाईंलाई आफ्नो युजरनेम र पासवर्ड थाहा छैन भने रि-इन्ट्री रजिस्टरमा क्लिक गर्नुहोस् र नयाँ वेबपेजमा आफ्नो राहदानी तथा पासपोर्ट नम्बर राखेर सर्चमा क्लिक गर्नुहोस् ।

३. अब रि-इन्ट्री (Re-Entry) लेखेको ठाउँमा क्लिक गर्नुहोस् र इम्प्लोइमेन्ट डिटेल (Employment Details) छनौट गर्नुहोस् । इम्लोइमेन्ट डिटेलभित्र रहेको एड न्यू (Add New) मा क्लिक गर्नुहोस् ।

४. त्यसपछि इन्डिभिजुअल इम्लोइमेन्ट डिटेल (Individual Employment Detail) नाम गरेको फारम देख्नुहुनेछ । त्यसमा आवश्यक विवरण भर्नुहोस् । कम्पनीको विवरमा कम्पनी रहेको देश, कम्पनीको नाम र उक्त देशमा चल्ने मुद्रा उल्लेख गर्नुपर्ने हुन्छ ।

त्यस्तै सुविधाको विवरणमा आफ्नो सीप, तलब रकम, दैनिक काम गर्ने घण्टा, साप्ताहिक काम गर्ने घण्टा र अन्य विवरण भर्नुहोस् । भिषाको विवरणको रुपमा भिषा नम्बर, भिषा जारी मिति, भिषा समाप्त हुने मिति र सम्झौता अवधि खुलाउनुहोस् ।

त्यसैगरी पुरानो श्रम स्वीकृति, दक्षताको प्रमाणपत्र, सम्झौता पात्र, अध्यागमनको छाप, पासपोर्ट, भिषा, दुतावासको जस्ता कागजात अट्याच गर्नुहोस् । यसमा दुतावासको पत्र आवश्यकता परेको अवस्थामा मात्र राख्नुपर्ने हुन्छ ।

यसरी सबै विवरण भरिसकेपछि एग्रिमेन्ट फर्म (Agreement Form) मा टिक लगाउनुहोस् र अन्तिममा रहेको सबमिट (Submit) बटनमा क्लिक गर्नुहोस् ।

५. तपाईंले पुनः श्रम स्वीकृतिका लागि लाग्ने कल्याणकारी कोषको शुल्क र वीमा शुल्क ईसेवा तथा खल्ती जस्ता डिजिटल वालेटबाट अनलाइन भुक्तानी गर्न सक्नुहुन्छ ।

त्यसका लागि ईसेवा वा खल्ती एप वा वेबसाइटमा गएर क्रमशः फरेन इम्लोइमेन्ट वेलफेयर फण्ड (Foreign Employment Welfare Fund) र फरेन इम्लोइमेन्ट इन्स्योरेन्स फण्ड (Foreign Employment Insurance Fund) सर्च गरेर त्यसमा आफ्नो पासपोर्ट नम्बर राख्नुहोस् ।

अब त्यसमा तपाईंले तिर्नुपर्ने रकम देख्न र भुक्तानी गर्न सक्नुहुन्छ । तपाईं विदेशमा भएकाले ईसेवा वा खल्ती प्रयोग गर्न पाउनु भएको छैन भने नेपालमा भएका अरु कसैमार्फत यस्तो शुल्क तिर्न सक्नुहुन्छ ।

६. अब ड्याशबोर्डमा तल अन्तिममा रहेको इन्डिभिजुअल रिइन्ट्री रिक्वेस्ट (Indiviual ReEntry Request) मा जानुहोस् । त्यहाँ इन्स्योरेन्स (Insurance) र क्यास डिपोजिट (Cash Deposit) को मुनी हरियो कलरमा टिक लगाइएको छ भने एक्सन मुनी रहेको रातो थोप्लोमा क्लिक गर्नुहोस् र त्यसभित्र रहेको रिक्वेस्ट (Request) मा थिच्नुहोस् ।

त्यसपछि आउने सन्देशमा ओके दबाउनुहोस् । अब ब्राञ्च टोकन इन्फो (Branch Token Info) अप्सन देखा पर्छ । त्यसमा अनलाइन ब्राञ्च छनौट गरी सबमिट (Submit) मा थिच्नुहोस् ।

अब प्रिन्टमा क्लिक गरी प्रिन्ट ईस्टिकरमा जानुहोस् । त्यसपछि प्रिन्ट ईस्टिकर देखापर्छ, त्यसको अन्तिममा रहेको एक्सन बटन दबाउनुहोस् र भ्यूमा क्लिक गर्नुहोस् । अब इम्लोइमेन्ट इन्फो देखा पर्छ ।

त्यसको तल रहेको प्रिन्ट ईस्टिकरमा क्लिक गर्नुहोस् । यसरी आएको पुनः श्रम स्वीकृतिको स्टिकरलाई प्रिन्ट गरेर आफूसँग सुरक्षित राख्नुहोस् ।

सामान्यतया यसरी फारम बुझाएको एकहप्ताभित्र पुनः श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ । त्यस्तै तपाईंको युजर आईडीमा रहेको ईमेलमा पनि पुनः श्रम स्वीकृतिको स्टिकर पाउन सक्नुहुन्छ ।

रिक्वेस्ट भएको खण्डमा कारण सहितको म्यासेज पनि ईमेलमै आउने विभागले जनाएको छ । त्यसकारण अनलाइनबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएपछि आफ्नो ईमेल नियमित रुपमा चेक गर्न नबिर्सिनुहोस् ।

वैदेशिक रोजगारी तथा पुनः श्रम स्वीकृतिका लागि थप जानकारी लिनुपर्ने भएमा वैदेशिक रोजगार विभागको फोन नम्बर +९७७-०१-४७८२६१६ र +९७७-०१-४७८२७१० मा फोन गर्न सक्नुहुन्छ ।

त्यस्तै विभागको ईमेल आईडी यहाँ अथवा यहाँ क्लिक गरेर समेत आफ्नो प्रश्न वा जिज्ञासा राख्न सक्नुहुन्छ । यसैगरी सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेसनल रिलेसन्स (सीएमआईआर) को फोन नम्बर +९७७-०१-४७९५९३१ वा +९७७-०१-९८४६६२०११ मा सम्पर्क गर्न वा यहाँ क्लिक गरी ईमेल पठाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१