close

२० वर्षपछि खुल्यो भन्सार एजेन्टको लाइसेन्स, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

चैत १६, २०७७ १३:१६

२० वर्षपछि खुल्यो भन्सार एजेन्टको लाइसेन्स, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

काठमाडौं । भन्सार विभागले ६६० पदका लागि भन्सार एजेन्टको लाइसेन्स खुलाएको छ । विभागले २०७८ वैशाख १२ गतेभित्र आवेदन बुझाउने गरी दरखास्त आह्वान गरेको हो ।

दुई दशकभन्दा लामो समयपछि खुलेको भन्सार एजेन्टको लाइसेन्सले मुलुकको आयात तथा निर्यातमा सहजता ल्याउने विश्वास गरिएको छ । सामान्य भाषामा भन्नुपर्दा भन्सार एजेन्टको लाइसेन्स वकिलको लाइसेन्स जस्तै हो ।

जसका लागि अनिवार्य रुपमा भन्सार विभागको लाइसेन्स लिनुपर्ने हुन्छ । यस्तो लाइसेन्स लिने व्यक्तिहरुबाट मात्र व्यवसायीले आफ्नो भन्सार एजेन्ट नियुक्त गर्न सक्छन् ।

निकासीकर्ता वा पैठारीकर्ताले आफ्नो तर्फबाट मालवस्तु जाँचपास गराउन वा भन्सार कार्यालयसँग सम्बन्धित कार्य गराउन लाइसेन्स प्राप्त व्यक्तिमध्येबाट भन्सार एजेन्ट नियुक्ती गर्न सक्ने व्यवस्था छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले यहाँ क्लिक गरी विभागको वेबसाइटमा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली (Online Agent Application) मार्फत दरखास्त दिनुपर्नेछ ।

भन्सार नियमावलीअनुसार भन्सार एजेन्टका लागि न्यूनतम योग्यता स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएको, नेपाल सरकारलाई बुझाउनुपर्ने रकम बाँकी नरहेको, फौजदारी अभियोगमा अदालतबाट कसूरदार नभएको र २१ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्छ ।

लिखित र अन्तर्वार्ता गरी दुई चरणमा हुने यो परीक्षाका लागि परीक्षा केन्द्र भने काठमाडौं उपत्यकाभित्र मात्र रहने विभागले जनाएको छ । यसका लागि परीक्षा दस्तुर ३,००० रुपैयाँ तोकिएको छ ।

कसरी दिने आवेदन ?

भन्सार एजेन्टका लागि आवेदन दिन सुरुमा यहाँ क्लिक गर्नुहोस् । फाराममा उल्लेखित विवरण भर्नुहोस् र आवश्यक कागजात संलग्न गरी सबमिट गर्नुहोस् ।

दरखास्त स्वीकृत भएपछि उम्मेदवारहरुले परीक्षा प्रवेश पत्र अनलाइन सिस्टमबाटै प्रिन्ट गर्नुपर्नेछ । परीक्षार्थीले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका जुनसुकै शाखामा गएर कोड नम्बर ३०५०३३५०१ तथा राजस्व संकेत नम्बर १४२२४ भएको भन्सार विभाग त्रिपुरेश्वर कार्यालयको खाता नम्बर १०००२०००१०००० मा परीक्षा आवेदन शुल्क बुझाउन सक्नेछन् ।

यसरी रकम बुझाउँदा प्राप्त भौचर स्क्यान गरी दरखास्त फाराम प्रणालीमा अपलोड गर्नुपर्ने हुन्छ । यसबाहेक परीक्षार्थीहरुले अनलाइनबाटै समेत परीक्षा शुल्क बुझाउन सक्ने व्यवस्था गरिएको छ ।

यसका लागि यहाँ क्लिक गरी अनलाइन रजिस्ट्रेसन गरी भन्सार कार्यालयको कोड र राजस्व नम्बर उल्लेख गरी भौचर तयार पारेर कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्नुपर्नेछ ।

परीक्षार्थीहरुले अनलाइनबाटै दरखास्त भर्दा नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योगताको प्रमाणपत्र, कम्प्युटर तालिमको प्रमाणपत्र, दरखास्त दस्तुर दाखिला गरेको प्रमाण, उम्मेदवारको फोटो र दरखास्त स्क्यान गरी अनलाइनमार्फत अपलोड गरी बुझाउनुपर्नेछ ।

भन्सार विभागको सूचना

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३