close

एप्पलको आईफोन मर्मत तालिममा यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

चैत २९, २०७७ २२:३४

एप्पलको आईफोन मर्मत तालिममा यसरी बन्नुहोस् सहभागी

काठमाडौं । एप्पलले आईफोन, आईप्याड लगायतका आफ्ना डिभाइसहरुको मर्मतका लागि विश्वव्यापी रुपमा तालिम प्रदान गर्ने भएको छ । कम्पनीले इन्डिपेन्डेन्ट रिपेयर प्रोभाइडरका रुपमा यो कार्यक्रम अघि बढाएको हो ।

यसमार्फत कम्पनीले आफ्नो डिभाइस मर्मतका लागि आधिकारिक तालिम प्रदान गर्नेछ । यो कार्यक्रम सन् २०१९ मै सुरु भएपनि विश्वव्यापी रुपमा विस्तार भएको थिएन ।

अमेरिकाबाट सुरु भएको यो कार्यक्रम गत वर्ष क्यानडा र युरोपमा विस्तार गरिएको थियो । तर, अब भने कम्पनीले यो कार्यक्रम विश्वव्यापी रुपमै अघि बढाएको हो ।

यसको उद्देश्य आफ्नो डिभाइसमा वारेन्टी सकिएपछिको मर्मतका लागि प्रयोगकर्तालाई सहजता होस् भन्ने हो । वारेन्टी भएका प्रयोगकर्ताको हकमा एप्पलको आधिकारिक मर्मत केन्द्रबाटै मर्मत हुने गर्दछ ।

तर, वारेन्टीपछिको मर्मतलाई पनि व्यवस्थित र सहुलियत प्रदान गर्न कम्पनीले यस्ता तालिममार्फत स्वतन्त्र मर्मत सेवाप्रदायक बनाउँदै आएको छ ।

यस्तो स्वतन्त्र मर्मत सेवाप्रदायकलाई कम्पनीले एप्पलका आधिकारिक स्पेयर पार्टस्, तालिम तथा स्रोतसाधन प्रदान गर्नेछ । यो तालिम नेपालसहितका २ सयभन्दा बढी देशमा खुला गरिएको छ ।

यसरी तालिम दिएपश्चात एप्पल प्रयोकगर्ताले उक्त पसल तथा संस्थामा गएर आफ्ना डिभाइसहरु मर्मत गराउन सक्ने कम्पनीले जनाएको छ ।

तालिममा सहभागी हुन कुनै शुल्क बुझाउनुपर्ने छैन । तर, याे तालिमपछि एप्पलका सम्पूर्ण डिभाइसको मर्मत गर्न सक्नुपर्ने हुन्छ । साथै एप्पलका आधिकारिक मर्मत केन्द्रबाहेक अन्यले यो तालिममा भाग लिन एप्पलस्तरको मर्मत दक्षता हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

यसमा सहभागी हुन कम्पनी आवश्यक हुनेछ । व्यक्तिगत रुपमा मात्रै यो कार्यक्रममा सहभागी हुन सकिने छैन । यो तालिमको प्रमाणपत्र निःशुल्क रुपमा उपलब्ध हुनेछ । भने, इच्छुकले अनलाइनबाटै यसमा सहभागी जनाउन सक्नेछन् ।

यो कार्यक्रममा एप्पलका आधिकारिक रिसेलरले सहभागीता जनाउन पाउने छैनन् ।

यो तालिममा सहभागी हुनका लगि तपाईंले ईमेलमार्फत आफ्नो जानकारी पठाउनुपर्ने हुन्छ । तपाईंले पठाएको जानकारीको आधारमा एप्पलले त्यसमाथि अध्ययन गरी यदि तपाईंको कम्पनीले उक्त कार्यक्रममा सहभागी हुन मिल्नेछ भने थप प्रक्रिया अघि बढाउने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१