close

राहदानीमा अब राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

टेकपाना टेकपाना

बैशाख १, २०७८ ११:०

राहदानीमा अब राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

काठमाडौं । सरकारले राहदानीमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने तयारी गरेको छ । ‘बायोमेट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्रलाई प्रभावकारी वितरण गर्ने योजना ल्याएको सरकारले साउनदेखि राहदानीमा एनआईडी नम्बर अनिवार्य गर्ने तयारी गरेको हो ।

सरकारले जारी गर्ने विभिन्न किसिमका कार्डमा राष्ट्रिय परिचयपत्र नम्बर समावेश गर्ने याेजना ल्याइएकाे छ ।

त्यस्तै सरकारले ल्याएको नागरिक एप र राष्ट्रिय परिचयपत्र एप एकीकृत गरी राष्ट्रिय तथ्याङ्क विभाग, निर्वाचन आयोगसँगको समन्वयमा एकीकृत ढङ्गले व्यक्तिगत विवरण सङ्कलन गर्ने कार्य भइरहेको राष्ट्रिय रिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागले राष्ट्रिय परिचयपत्र व्यवस्थापन, पञ्जीकरण घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

के हाे राष्ट्रिय परिचयपत्र ?

राष्ट्रिय परिचयपत्रलाई बुझ्न सबैभन्दा पहिला राज्यले आफ्ना नागरिकहरुलाई दिने परिचयत्रहरुको विषयमा जान्न जरुरी छ ।  मुख्यतः सरकारले आफ्ना नगरिकलाई दिने परिचयपत्रपत्र दुई किसिमका हुन्छन् । ती हुन् फाउण्डेशनल आईडी र फंसनल आईडी । 

व्यक्तिको पहिचान स्थापित गर्ने फाउण्डेशनल आईडीले राज्यभीत्रका अनेक सेवा सुविधा तथा तथा प्रयोजनका लागि मान्यता पाउँछ । अहिले कायम रहेको त्यस किसिमको परिचयपत्रको रुपमा हामीले नागरिकतालाई लिन सक्छौँ ।

अर्कोतर्फ फंसनल आईडी कुनै विशेष प्रयोजनका लागि मात्रै दिने गरिन्छ । ड्राइभिङ लाइसेन्स, प्यान कार्ड, मतदाता परिचयपत्र यस किसिमको परिचयपत्रका उदाहरण हुन् । 

नेपालमा २००९ सालदेखि राष्ट्रिय परिचयपत्रको रुपमा नागरिकताको प्रचलन सुरु भएको हो । त्यसको शुद्धताका लागि हामीले सुरुवाती समयदेखि प्रमाणीकरणको चुनौती झेल्दै आएका छौँ । मानौँ तपाईं-हामीले आफ्नो नागरिकता कुनै निकायमा पेश गर्‍यौँ भने, त्यसलाई प्रमाणीकरण गर्ने कुनै भरपर्दो संयन्त्र छैन ।

वास्तवमा अहिलेको समयमा नागरिकताका आधारमा व्यक्तिको पहिचान गर्न निकै नै चुनाैतीपूर्ण भइसकेको छ । यसै किसिमको चुनौतिकाे सामना गर्न र सार्वजनिक सेवा सुविधा सहज र छिटो छरितो रुपमा नागरिकलाई प्रदान गर्नकै लागि राष्ट्रिय परिचयपत्र ल्याउन लागिएको हो ।

अब आउने राष्ट्रिय परिचयपत्र मूलतः सूचना प्रविधिमा आधारित हुनेछ । त्यसमा नागिरकतामा हुने व्यक्तिको जनसांखिक विवरण बाहेक अनुहार (फोटो), दश वटै औँलाको औंठाछाप, दुई आँखाको आइरिस लगायतको व्यक्तिको जैविक विवरणका साथै विद्युतीय हस्ताक्षरको रुपमा ई–सिग्नेचर समेत राखिनेछ ।

यस किसिमको राष्ट्रिय परिचयपत्रका आधारमा कुनै पनि निकायले परिचयपत्रका आधारमा अनलाइन तथा अफलाइन दुबै रुपमा व्यक्तिको पहिचान प्रमाणित गर्न सक्नेछ । फिङ्गरप्रिन्ट लगायतका केही विवरण कार्डमै समावेश गर्ने सरकारी योजना छ ।

एक व्यक्तिको विवरण अर्को व्यक्तिसँग जुध्न नदिन विशेष किसिमको प्रविधि अपनाइने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएकाे छ । अहिलेको कागजी प्रणालीमा भने यस किसिमको पद्धति संभव छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१