close

ज्याक माको आन्ट ग्रुपलाई नयाँ संरचनामा आउन चीनको दबाब

टेकपाना टेकपाना

बैशाख २, २०७८ १४:५९

ज्याक माको आन्ट ग्रुपलाई नयाँ संरचनामा आउन चीनको दबाब

काठमाडौं । चिनियाँ प्रशासनले ज्याक माको आन्ट ग्रुपलाई व्यापकरुपमा पुनर्संरचना गर्न दबाब दिएको छ । वित्तीय प्रविधि कम्पनी आन्ट ग्रुपले बैंकले जसरी काम गर्नुपर्छ भन्दै चीनले पुनर्संरचनाको दबाब दिएको हो ।

गत नोभेम्बरमा मात्र आन्ट ग्रुपको वित्तीय मोडललाई मुख्य कारण देखाउँदै चीनले कम्पनीको अहिलेसम्मकै ठूलो मानिएको ३७ अर्ब डलरको आईपीओ निस्काशनमा रोक लगाएको थियो ।

यसैबीच गएको शुक्रबार पनि चिनियाँ प्रशासनले आन्टकै सहायक कम्पनी अलिबाबामाथि एकाधिकार अभ्यासको आरोप लगाउँदै अहिलेसम्मकै उच्च दुई अर्ब ८० करोड डलरको जरिवाना लगाएको थियो ।

आन्ट ग्रुप चीनकै ठूलो भुक्तानी सेवा प्रदायक हो, जसको विद्युतीय भुक्तानी सेवा कम्पनी अली पेबाट मासिक ७३ करोड सक्रिय प्रयोगकर्ताहरु छन् ।

वास्वतमा आन्ट ग्रुपलाई पुनर्संरचनाको दबाब दिन चीन प्रशासनलाई देशको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले उत्साहित गरेको हो । आन्ट ग्रुपलाई कडा निगरानीमा राख्न र न्यूनतम पूँजीगत आवश्यकता पुरा गर्न कम्पनीले प्रशासनलाई माग गरेको हो ।

केन्द्रीय बैंकले आन्ट ग्रुपलाई व्यापक तथा फिजिबल पुनर्संरचनागत योजनाअन्तर्गत ल्याउन सके उसले अली पे, उसको क्रेडिट कार्ड र उपभोक्ता ऋण सेवाबीचको ‘अस्वभाविक लिङ्केज’ लाई कटौती गर्ने बताएको छ ।

आन्ट ग्रुपसँग उसको उपभोक्ताको सम्पूर्ण डेटा हुने र अन्य प्रतिस्पर्धीको तुलनामा अघि आउन कम्पनीलाई त्यसले ठूलो बल दिने बैंकको भनाइ छ ।

यसबीच आन्ट ग्रुपले पर्सनल क्रेडिट रिपोर्टिङ कम्पनी पनि सेटअप गर्ने विषयमा सहमति जनाएको छ । जसले सेवाग्राहीहरुको व्यक्तिगत जानकारीलाई संरक्षण गर्नुका साथै डेटा दुरुपयोगका घटनालाई प्रभावकारीरुपमा घटाउने छ ।

चिनियाँ नियामकका पछिल्ला केही कदमहरुले स्पष्टरुपमा आन्ट ग्रुप तथा अलिबाबाका सहसंस्थापक ज्याक माको व्यवसायिक साम्राज्यलाई निशाना बनाएको देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१