close

डिजिटल अर्थतन्त्रका लागि नेपालले चाल्नुपर्ने कदम

टेकपाना टेकपाना

बैशाख ७, २०७८ १५:५६

डिजिटल अर्थतन्त्रका लागि नेपालले चाल्नुपर्ने कदम

आज म डिजिटल अर्थतन्त्र र दूरसञ्चार क्षेत्रलाई कोभिड १९ को महामारीबाट पुनरुत्थान गर्न अन्य देशले के गरिरहेका छन् र नेपालले कस्ता तयारी गर्नपर्ला भन्ने विषयमा चर्चा गर्दै छु । यसका साथै, म लगानी प्रवर्द्धन र नियमनका विषयमा पनि केही बोल्नेछु ।

डिजिटल अर्थतन्त्रमा सूचना र सञ्चार प्रविधिको महत्व धेरै छ । विश्वभर नै हामीले देखिरहेको तथ्य के हो भने धेरै देशले डिजिटल अर्थतन्त्रसँगै डिजिटलाइजेसनलाई प्रवर्द्धन गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आईटीयू) काे अध्ययनले १० प्रतिशतले मोबाइल ब्रोडव्याण्डको पहुँच बढ्दा अर्थतन्त्रमा १.५ प्रतिशतले योगदान दिने देखाएको छ ।

कोभिड १९ को महामारीपछि धेरै देशमा टेलिकम सेवाप्रदायकका कारण भौतिक कार्यालयबिनै काम गर्ने वातावरण बनेको छ र अर्थतन्त्रको क्रियाकलापलाई गति दिन यो महत्वपूर्ण सावित भएको छ ।

नेपालले सन् २०१८ मा तयार पारेर सन् २०१९ मा परिमार्जन गरेको डिजिटल नेपालको फ्रेमवर्क पनि मैले अध्ययन गरें र त्यसमा राखिएका विभिन्न क्षेत्र र पहलहरुबारे जानकारी पाएँ ।

फ्रेमवर्कमा रहेका लक्ष्यहरु हासिल गर्नका लागि नेपालले विश्वभर देखिएका र आन्तरिक चुनौतीहरु पार गरेर अघि बढ्नुपर्छ ।

हामीले आइटीयूसँग मिलेर केही काम गर्दा पछिल्लो समय गरेको अनुभूति पनि म यहाँ बाँड्न चाहन्छु । गत वर्षको मध्यदेखि हामीले डिजिटल डिभाइड र यसलाई सम्बोधन गर्नुपर्ने चुनौती महसुस गरेका छौं ।

जसले दूरसञ्चार सेवामा पहुँच पाइरहेका थिए, उनीहरुले पाइरहेका छन् भने जसले यसमा पहुँच पाउन सकेका छैनन् उनीहरु महामारीको बेलामा पनि यस्तो सेवा लिन वञ्चित भए ।

सायद आगामी महिना सार्वजनिक हुने आइटीयूको प्रतिवेदन कोभिडपछिको पुनरुत्थानमा केन्द्रित हुनेछ ।

यो प्रतिवेदन बिशेषगरी चार वटा विषयमा केन्द्रित हुनेछ । समग्रमा डिजिटल डिभाइडमा केन्द्रित हुने प्रतिवेदनको पहिलो विषय डिजिटल डिभाइडको सम्बोधन, दोस्रो ड्राइभिङ डिजिटल डिपेनिङ, तेस्रो प्रभावकारी डिजिटल रुपान्तरण हुनेछ ।

  • सेवा प्रदायकलाई फ्रिक्वेन्सी दिन नेपालले ढिलाई गर्नुहुन्न ।
  • जति बढी फ्रिक्वेन्सी खुला गर्‍यो, उति बढी लगानी र सेवा प्रवाह हुन्छ ।
  • डिजिटल खाडलको सम्बोधन अबको चुनौती

प्रतिवेदनको महत्वपूर्ण पक्ष डिजिटल उत्थान हुनेछ । भूकम्प आउँदा वा विपत्ति जाँदा हामीले पूर्वाधारको आवश्यकता महसुस गरेका छौं । यसका लागि हामीले नयाँ राष्ट्रिय डिजिटल ब्रोडव्याण्ड योजना बनाएर कार्यान्वयन गर्न जरुरी छ ।

डिजिटल नेपालको लक्ष्य हासिलका लागि आवश्यक महत्वपूर्ण अर्को कुरा लगानी प्रवर्द्धन पनि हो । यदि फोरजी कनेक्टिभिटी सुधार्ने हो र फाइभजी सेवाको लागि पूर्वाधार तयारी अवस्थामा राख्ने हो भने उदाहरणीय नियामक नीति अंगीकार गर्न जरुरी छ ।

नेपाल र नेपालजस्तै उदाउँदो बजारको लागि मैले देखेको अर्को चुनौती भनेको यस्तो स्थानमा ब्रोडव्याण्ड कनेक्टिभिटी बढाउन नयाँ लगानी र प्रत्यक्ष वैदेशिक लगानीको आवश्यक पर्छ ।

कोभिडपछिको अवस्थामा यस्तो लगानीको लागि थप चुनौती छ । किनकि विश्वका ठूला लगानीकर्तासँग लगानीको लागि प्रशस्त पूँजी नभएको अवस्था छ । यस्तो बेलामा निर्माण गर्ने नीतिले लगानीकर्तालाई प्रोत्साहित गर्नुपर्छ भने लगानीको लागि नकारात्मक असर पार्ने व्यवस्था समावेश हुनुहुन्न ।

डिजिटल अर्थतन्त्रको लागि अर्को महत्वपूर्ण पक्ष भनेको यूनिफाइड लाइसेन्स पनि हो । नेपालमा यूनिफाइड लाइसेन्सको कार्यान्वयन वर्षौदेखि बहसको बिषय हुँदै आएको छ ।

यूनिफाइड लाइसेन्सको कार्यान्वयनले सेवाको क्षेत्रहरु विस्तार गर्छ त्यसकारण एकीकृत लाइसेन्सको नीति अंगीकार गर्नुपर्छ । जसकारण एकीकृत प्रविधिका समाधानहरु अंगीकार गर्न सहयोग गर्छ ।

अब म स्पेक्ट्रमको विषयमा प्रवेश गर्न चाहन्छु । म यो क्षेत्रमा काम गरेको ३० वर्षभन्दा बढी भइसकेको छ ।

मोबाइल नेटवर्क अपरेटरलाई १ सयदेखि डेढ सय मेगाहर्ज स्पेक्ट्रम भए पर्याप्त हुन्थ्यो भन्ने हामीलाई लाग्थ्यो तर अब भने १ हजार मेगाहर्ज भन्दा बढी आवश्यक पर्न सक्छ । र, यसलाई मूल्यका हिसाबले पनि सन्तुलिन बनाउनुपर्छ । यस बिषयमा नेपाल दूरसञ्चार प्राधिकरण र सरकारले बुझ्नुपर्छ ।

बंगलादेशसहित भारत, इन्डोनेसिया, मलेसिया, पाकिस्तान, भियतनाजस्ता देशहरुले ठूलो परिमाणमा स्पेक्ट्रम खुला गर्दै छन् । विश्वव्यापी रुपमा पनि फोरजी र फाइभजीको लागि धेरै देशहरुले धेरै स्पेक्ट्रम खुला गरेका छन् ।

नेपालको सन्दर्भमा पनि बाँकी स्पेक्ट्रम खुला गर्न ढिला गर्नुपर्ने कारण देख्दिनँ । बजारमा धेरैभन्दा धेरै फ्रिक्वेन्सी छाड्दा सेवा प्रदायकहरु लगानी गर्न र सेवा विस्तारको लागि तयार हुन्छन् ।

प्रविधिबाट प्रभावकारी लाभ उठाउनको लागि मुख्य फ्रिक्वेन्सीहरु प्रविधि तटस्थ हुनुपर्छ । भूगोलको आधारमा थ्रीजी र फोरजीको सम्मीश्रण तथा फोरजी र फाइभजीको सम्मीश्रणबाट नेपालले लाभ उठाउन सक्छ ।

टेकपाना टेल्कोज टक सिरिजअन्तर्गत गत चैत ३० गते काठमाडौंमा आयोजित कनेक्टिङ ब्रोडव्याण्ड टु प्रडक्टिभिटी : कन्टेक्स्ट अफ नेपाल बिषयक कार्यक्रममा प्रमुख वक्ताको रुपमा आइटीयूका विज्ञ सल्लाहकार स्कड डब्ल्यू मेनहनले राखेको विचारको संक्षेप ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१