close

नेपालको जमिनमुनि ९ हजार किलोमिटर अप्टिकल फाइबरको सञ्जाल

रन्जन कोइराला रन्जन कोइराला

मंसिर १५, २०७६ १३:२८

नेपालको जमिनमुनि ९ हजार किलोमिटर अप्टिकल फाइबरको सञ्जाल

अप्टिकल फाइबर कुनै पनि देशको सुचना प्रविधि तथा दूरसञ्चार सेवाका लागि मेरुदण्ड नै हो । पछिल्लो समय नेपालमा पनि यसको विस्तारले गति लिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म नेपालको जमिनमुनि नौ हजार तीन सय ८० किलोमिटर फाइबर बिछ्याउने काम सम्पन्न भएको छ ।

हालसम्म विच्छ्याइएको फाइबर मध्ये धेरैजसो इन्टरनेट सेवा प्रदायकले प्रयोग गरिरहेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपालको सिमानाबाट विभन्नि सहरमा इन्टरनेट पुर्‍याउनेको लागि फाइबर बिछ्याउने काम भइरहेको छ । त्यसमा नेपाल टेलिकम, एनसेल, स्मार्ट, वल्र्डलिंक, मर्कन्टाइल, सुबीसु, भायनेट लगायतका सेवा प्रदायक कम्पनीको फाइबर रहेको छ ।

सरकारले चालु आवसम्म कुल १० हजार ३ सय ७० किलोमीटर फाइबर विस्तार गर्ने लक्ष्य  राखेको छ । मन्त्रालयका अनुसार अधिल्लो आर्थिक वर्षसम्ममै ९ हजार ३ सय २० कीलोमिटर फाइबर बिछ्याइएको थियो । विगत चार महिनाको अवधिमा थप जम्मा ६० किलोमटिर फाइबर विछ्याउने काम भएको छ ।

उक्त ६० किलो मिटर अप्टिकल फाइबर पनि मध्यपहाडी लोकमार्गमा निर्माण भइरहेको सुचना महामार्ग अन्तरगत नेपाल टेलिकमले बिछ्याएको हो । सम्पन्न हुनेपर्ने समयमा बल्ल सुरु भएको टेलिकमको उक्त परियोजना अन्तरगत जम्मा ६० किलोमिटर अप्टिकल फाइबर मात्रै विस्तार भएको मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ ।

प्राधिकरणले करीब तीन वर्षअघि मध्यपहाडी लोकमार्गमा पूर्वपश्चिम अप्टिकल फाइबर विस्तार गर्ने परियोजनालाई तीन खण्डमा विभाजन गरी छुट्टाछुट्टै सेवाप्रदायक मार्फत अगाडि बढाउन खोजेको थियो । जसअनुसार पूर्वी खण्डमा प्रदेश १, २ र ३ मा नेपाल टेलिकम, मध्यखण्ड अन्तरगत गण्डकी र प्रदेश ५ मा यूटिएल र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा स्मार्ट टेलिकमले स्वरुप उक्त परियोजना ठेक्कामा पाएका थिए ।

तर कुनै पनि कम्पनीले निर्धारित अवधिमा परयोजनाकाे काम सम्पन्न गर्न भने सकेनन् । हाल स्मार्टले पाएको ठेक्का पनि टेलिकममार्फत नै अगाडि बढाइएकाे छ । तर युटीएलले पाएको परियोजना भने अझे अलपत्र अवस्थामा रहेको छ । इन्फरमेशन सुपर हाइवेकाे परियोजना सम्पन्न भएमा नेपालकाे अधिकांश भुभाग अप्टिकल फाइबरकाे सञ्जालमा समेटिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१