close

गुगल ड्राइभ फुल भयो ? यसरी सजिलै सार्नुहोस् अर्को अकाउन्टमा

टेकपाना टेकपाना

बैशाख ९, २०७८ १६:५६

गुगल ड्राइभ फुल भयो ? यसरी सजिलै सार्नुहोस् अर्को अकाउन्टमा

काठमाडौं । गुगलले आफ्ना प्रयोगकर्ताका लागि प्रदान गर्ने अनलाइन फाइल स्टोरेज सेवा हो, गुगल ड्राइभ । कम्पनीले १५ जीबीसम्म निःशुल्क क्लाउड स्टाेरेजकाे सुविधा दिने गरेकाे छ । यस्ताे स्टोरेज सेवा जीमेल, गुगल फोटो, गुगल ड्राइभ लगायतका लागि प्रयाेग गर्न सकिन्छ ।

नियमित रूपमा चलाउने गुगल अकाउन्टमा स्टाेरेज फुल हुनु स्वभाविक नै हाे । अर्थात् अधिकांश प्रयाेगकर्ताले १५ जीबीको सीमित डेटा स्टोरेज पुरा गरिसकेका छन् । यसपछि स्टाेराेज खाली गर्ने वा थप स्पेस खरिद गर्ने विकल्प उनीहरूसामु छ ।

यदि पैसा तिरेर स्टोरेज बढाउने विकल्प तपाईंसामु छैन भने अकाउन्टबाट फाइल हटाउने उपाय नै रोज्नुहुन्छ । यसका लागि एउटा अकाउन्टबाट अर्को अकाउन्टमा फाइल सार्ने उपाय तपाईंका लागि उचित हुनेछ ।

तर गुगल ड्राइभको सामग्री अर्को ड्राइभमा सार्दा डिलिट गर्नुपर्ने झन्झट, महत्वपूर्ण सामग्री डिलिट भएर जाला भन्ने डर हुन्छ ।

स्टोरेज ब्याकअपका लागि नयाँ-नयाँ जीमेल अकाउन्ट खोल्दै ड्राइभमा रहेका पुराना महत्वपूर्ण सामग्री अर्को ड्राइभमा स्थानन्तरण गर्न सक्नुहुन्छ ।

आज हामी तपाईंलाई दुई गुगल ड्राइभ अकाउन्टबीच क्लाउड डेटा आदानप्रदान गर्ने उपयुक्त विधिका बारेमा बताउने छौं । यसमा म्यानुअल र अटोमेटेड दुवै विधि छन् ।

गुगल ड्राइभका डेटालाई सार्ने विधि
यदि हामीले म्यानुअल प्रक्रियालाई हेर्‍यौं भने त्यसमा एकदमै सीमित विकल्पहरु उपलब्ध छन् । आज हामी गुगल ड्राइभबीच डेटा स्थानन्तरण गर्ने केही सामान्य विधिहरुका बारेमा कुरा गर्नेछौं । 

पहिलो विधि: एउटाबाट अर्को अकाउन्टमा सिधै ट्रान्सफर 

जीमेल अकाउन्टले उपलब्ध गराउँदै आइरहेका भित्री फिचरहरुको प्रयोग गरेर तपाईंले डेटालाई दुई गुगल ड्राइभबीच आदान-प्रदान गर्न सक्नुहुन्छ । 

  • गुगल अकाउन्ट साइन ईन गरी गुगल ड्राइभमा जानुहोस् ।
  • अर्काे अकाउन्टमा पठाउन चाहेको विशेष डकुमेन्ट तथा फाइलहरु चयन गर्नुहोस् ।
  • अब फाइलभित्र राइट क्लिक गरी शेयरमा क्लिक गर्नुहोस् । यति गरेपछि स्क्रिनमा विजार्ड (wizard) देखा पर्दछ ।
  • त्यहाँ अर्को अकाउन्ट डिटेल इन्टर गर्नुहोस् र एड्भान्स सेटिङमा क्लिक गर्नुहोस् । “To Owner” लाई एक्सेस अनुमति दिएको कुरामा सुनिश्चित भइ सेन्ड बटन थिच्नुहोस् ।
  • अब अर्को गुगल ड्राइभ अकाउन्टमा फाइल सर्छ । नयाँ अकाउन्ट खोलेर फाइल सरेको छ, छैन चेक गर्नुहोस् । 

दोस्रो विधि: डाउनलोड गरी अपलोड गर्नुहोस् ।

माथिको जस्तो विधि अपनाउन नसक्नेहरुका लागि यो विधि उपयुक्त हुनसक्छ ।

  • जीमेलमा गएर अकाउन्टमा साइन ईन गर्नुहोस् ।
  • अब गुगल ड्राइभमा गएर अर्को अकाउन्टमा सार्न चाहेको फाइलहरु सेलेक्ट गर्नुहोस् ।
  • सबै फाइललाई कपी गरी नयाँ फोल्डरमा पठाउनुहोस् र त्यस फोल्डरलाई एक्सपोर्ट (Export folder) नाम दिनुहोस् । यो फोल्डर अब तपाईंको डाइरेक्टोरीमा देखापर्छ ।
  • अब तपाईंले त्यो एक्सपोर्ट फोल्डरलाई डाउनलोड गरी सिस्टममा सबै सेलेक्टेड फाइलहरुलाई सुरक्षित राख्नुहोस् ।
  • फोल्डरमा राइट क्लिक गरी डाउनलोड अप्सनमा क्लिक गर्नुहोस् । गुगल सर्भरले सबै फाइललाई जिप फाइलमा स्वत: कम्प्रेस गरिदिन्छ ।
  • एकपटक डाउनलोड भएपछि सिङ्गल जिप फाइलबाट तपाईंले सजिलै त्यसलाई निकाल्न सक्नुहुन्छ ।
  • फाइल निकाली सकेपछि अर्को गुगल ड्राइभ अकाउन्ट खोल्नुहोस् र ‘+’ आइकनमा क्लिक गरी अर्को अकाउन्टको फाइल तथा फोल्डरहरु अपलोड गर्नुहोस् । 

तेस्रो विधि: गुगल टेकआउटको प्रयोग 

प्रयोगकर्ताहरुलाई आफ्नो डेटाको आर्काइभ बनाउन सहयोग गर्न गुगलले गुगल टेकआउट नामको अर्को सेवा पनि प्रदान गरेको छ । यसभित्र डेटा ट्रान्सफर गर्ने एकदमै जटिल प्रक्रिया छ ।

साथै यसले तपाईंको फाइललाई अर्को फर्म्याटमा पनि परिवर्तन गरिदिन्छ । यद्यपि नयाँ अकाउन्टमा डेटा अपलोड गरिरहँदा तपाईंले फाइल फर्म्याटलाई सेटिङबाट परिवर्तन गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१