close

तपाईंको नामलाई अब गुगल असिस्टेन्टले गर्नेछ सही उच्चारण

टेकपाना टेकपाना

बैशाख १७, २०७८ २०:२८

तपाईंको नामलाई अब गुगल असिस्टेन्टले गर्नेछ सही उच्चारण

काठमाडौं । गुगल असिस्टेन्ट दिनदिनै स्मार्ट बनिरहेकाे छ । मौसम पूर्वानुमानबारे जानकारी दिने, मनपर्ने स्पोर्ट्स टिमको स्कोर बताउनेदेखि तपाईंलाई चाहिएको नजिकको उत्कृष्ट रेस्टुरेन्ट सबै कुराहरु यसले बताइदिन्छ ।

तर जब तपाईं आफ्नो कन्ट्याक्ट लिस्टमा भएका मानिसहरुलाई फोन लगाउन यसलाई आदेश दिनुहुन्छ । तब नाम पहिचान गर्न यो सधै असफल भइदिन्छ ।

अझ हाम्रो नेपाल जस्तो बहुजातीय, साँस्कृतिक तथा बहुभाषिक मुलुकमा मानिसहरुका नाम पनि एकदमै फरक किसिमका हुन्छन् । जसको उच्चारण पनि एकदमै सहजदेखि जटिलसम्म हुन्छन् ।

यसैले गुगल असिस्टेन्टले ती सबै नामलाई पहिचान वा डिटेक्ट गर्न सक्दैन । यो समस्या नेपालमा मात्र होइन विश्वभरी नै छ ।

अब भने गुगलले यो समस्यालाई समाधान गर्ने संकेत दिएकाे छ । गुगलले असिस्टेन्टमा नयाँ अपडेट रोलआउट गर्दैछ । यो टुलबाट तपाईंले कुनै विशेष किसिमको शब्द उच्चारण गर्न गुगल असिस्टेन्टलाई सिकाउन सक्नुहुनेछ ।

यसका लागि तपाईंले आफ्नो भ्वाइसमा उच्चारण रेकर्ड गराउनुका साथै उच्चारणलाई प्राेनाउन्सेसन (हिज्जे) समेत गर्न सक्नुहुन्छ ।

यसरी एकपटक तपाईंले भ्वाइस रेकर्ड गरिसकेपछि तपाईंले जब त्यो शब्द उच्चारण गरेर गुगल असिस्टेन्टलाई कमाण्ड दिनु हुन्छ, तब त्यसले उक्त नाम वा शब्दलाई सजिलै पहिचान गर्न सक्छ ।

गुगल असिस्टेन्टको अपग्रेडको हिस्साको रुपमा कम्पनीले यो नयाँ टुल ल्याएको हो । कम्पनीले यो आफ्नो बर्ट ल्याङ्ग्वेज मोडलबाट गर्नेछ ।

हाल यो नेम लर्निङ फिचर अंग्रेजीमा मात्र उपलब्ध छ । कम्पनीले यसलाई चाँडै नै अन्य भाषामा समेत विस्तार गर्ने योजना लिएको छ ।

फिचर प्रयोग गर्ने तरिका सिक्न यस लिङ्कमा गएर हेर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१