close

अब नेपालबाट कानूनी रुपमै फेसबुक विज्ञापन, फिट बन्यो पहिलो एजेन्सी

टेकपाना टेकपाना

बैशाख २७, २०७८ १०:४८

अब नेपालबाट कानूनी रुपमै फेसबुक विज्ञापन, फिट बन्यो पहिलो एजेन्सी

काठमाडौं । फिट इन्टरनेसनल नेपालमा फेसबुक विज्ञापनको पहिलो आधिकारिक रिसेलर बनेको छ। नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ ।

यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटर र अन्य एजेन्सीहरूका लागि सहज बाटो खोलेको छ। अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन् ।

पछिल्लो समय फेसबुक विज्ञापनहरू कुनै पनि व्यवसायको लागि एकदम महत्त्वपूर्ण बनेका छन् । तर अहिलेसम्म यस्ता विज्ञापनहरूको भुक्तानी अनौपचारिक रूपमा गरिने हुँदा देशको अर्थव्यवस्थामा क्षति पुग्दै आएको थियो ।

फेसबुकको अनौपचारिक तथ्यांक अनुसार नेपाली व्यावसायीहरुले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग दुई अर्ब खर्च गरिरहेको छन् । जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रूपमा हुने गरेको छ ।

फिट र फेसबुकको साझेदारीले फेसबुकमा आउने विज्ञापनहरू अब इनभ्वाइस बिलिङ मार्फत ट्र्याक गर्न सकिनेछ। यससँगै अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएका प्रत्येक लेनदेनको तथ्यांक र हिसाब किताब राख्न सक्नेछ ।

यसरी औपचारिक माध्यमबाट भुक्तानी गर्ने व्यवस्था भएसँगै देशको राजस्व बढाउनुका साथै सम्बन्धित सबै पक्षहरूका लागि सहजता थपिने विश्वास लिइएको छ । फिट इन्टरनेसनल नेपाली विज्ञापन क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गरेको संस्था हो ।

जसले दक्षिण एसियामा डिजिटल मार्केटिङमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ। फिट इन्टरनेसनल फेसबुक विज्ञापनको आधिकारिक बिक्रेता हुनका साथै, ओहो डोमेन, भाइबर बिजनेस मेसेजएज र साउटआउटको पनि बिक्रेता हो ।

आफ्नो स्थापनादेखि नै फिटले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । कम्पनीका मुख्य कार्यकारी अधिकृत रवि सिंघलले उद्योग ठूलो भएसँगै त्यसले सबैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

यो साझेदारी फिट इन्टरनेसनलको तर्फबाट गरिएको भए पनि सबै एजेन्सीहरू र ब्रान्डका लागि एक महत्त्वपूर्ण उपलब्धिको विषय भएको उनको भनाई छ । ‘हामी भविष्यमा पनि उद्योगलाई फाइदा पुर्‍याउने साझेदारी गर्न चाहन्छौँ,’ उनले भने ।

फिट इन्टरनेसनलले व्यवसायहरूलाई मार्केटिङ र ब्रान्डिङ सम्बन्धी विविध सेवा तथा परामर्श दिँदै आएको छ । नेपालमा डिजिटल मार्केटिङलाई सकारात्मक दिशातर्फ लान फिट इन्टरनेसनल र फेसबुकको साझेदारीले सकारात्मक भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

अब फेसबुकमा विज्ञापन गर्न चाहने हरेक व्यवसायले सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्नेछन् । यसले नेपाल राष्ट्र बैंकको मान्यता प्राप्त गर्नुका साथै आन्तरिक राजश्व विभागको निर्देशिकालाई समेत पालना गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१