close

कर्मचारीको निगरानी गर्न सघाउने प्रविधि भित्र्याउँदै एनसेल

टेकपाना टेकपाना

मंसिर २०, २०७६ १०:५९

कर्मचारीको निगरानी गर्न सघाउने प्रविधि भित्र्याउँदै एनसेल

निजी क्षेत्रको सबैभन्दा ठुलो दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कर्पोर्ट ग्राहकलाई लक्षित गर्दै कर्मचारीको निगरानी गर्न मिल्ने ‘फिल्ड फोर्स अटोमेसन’ प्रविधि ल्याउने तयारी गरेको छ । मोबाइल सेवाबाट विस्तारै इन्टरप्राइज सेवातर्फसमेत आफ्नो दायरा विस्तार गर्ने क्रममा कम्पनीले यस किसिमको सेवा उपलब्ध गराउने तयारी गरेको हो ।

फिल्डमा गएका कर्मचारी कहाँ र के गरिरहेका छन् भनी निगरानी गर्ने मिल्ने सिस्टम नेपालमा भित्र्याउन लागिएको एनसेलले जनाकारी दिएको छ । एनसेलका अनुसार उक्त सिस्टमले मोबाइलमार्फत काम गर्नेछ । कर्मचारीलाई उपलब्ध गराइने मोबाइल नम्बरलाई उक्त सिस्टमले ट्र्याक गरि कर्मचारी फिल्डमा गए नगएको यकीन गर्नेछ ।

‘यो सिस्टममार्फत कर्मचारी आफ्नो जिम्मेवारी दिइएको ठाउँसम्म पुगे/नपुगेको थाहा हुन्छ’, एनसेलकाे इन्टरप्राइज सेल्सका शाखा प्रबन्धक सुशिल विष्टले भने, ‘यसले कुनै पनि कम्पनीले आफ्ना कर्मचारीमा गरेको लगानीको प्रतिफल हासिल गर्न मद्धत पुग्ने अपेक्षा छ ।’

विशेषगरी मार्केटिङ, सेल्सलगायतका क्षेत्रमा यस्तो प्रविधिले मद्दत पुर्‍याउने विष्टले बताए । ‘यो सिस्टमले लोकेशनमात्रै नभएर उसले कोसँग के कुरा गर्‍यो, कसले के अर्डर गरेका छन् भन्ने विषयको विवरण पनि उपलब्ध गराउँछ’, उनले भने, ‘यसले सेल्स व्यवसायमा समयमा सामान पुर्‍याउन धेरै सहज हुनेछ । कसले कहाँ के अर्डर गरेका छन् भन्ने विषय फिल्डमा गएको कर्मचारीले त्यहिँबाट सिस्टममा जानकारी दिन सक्ने भएकाले उक्त कर्मचारी कार्यलय उपस्थिती नहुँदै सामान उक्त पसलमा पुर्‍याउन सकिन्छ ।’

त्यतिमात्रै नभएर यसैमार्फत कर्मचारीको कार्यक्षमताको जाँच पनि गर्न सकिने भएकाले यो प्रविधि नेपालको परिवेशमा सफल हुने विश्वास कम्पनीले लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३