close

सरल रूपमा यसरी बुझ्नुहोस् शेयर्ड र डेडिकेटेड इन्टरनेट

टेकपाना टेकपाना

जेठ ४, २०७८ १९:३१

सरल रूपमा यसरी बुझ्नुहोस् शेयर्ड र डेडिकेटेड इन्टरनेट

काठमाडाैं । इन्टरनेट २० एमबीपीएस भनेको छ, तर हरेक समय भनेजति स्पिडमा चल्दैन । यो हामी सबैले भोगिररहेको समस्या हो । आखिर यसको कारण के हो त ?

आज हामी डेडिकेटेड र सेयर्ड इन्टरनेट भनेको के हो र यी दुईबीच के भिन्नता छ र इन्टरनेट स्पिड भनेजति नुहुनुसँग यसको सम्बन्ध के छ, त्यसलाई केलाउँदै छौं ।

यसका लागि सुरुमा सेयर्ड अर्थात साझा इन्टरनेटको के हो भन्ने विषयमा कुरा गरौं । उदाहरणको रुपमा भन्दा १० एमबीपीएस डाउनलोड र २ एमबीपीएस अपलोड स्पिड भनिएको हुन्छ । तर, हरेक समय सोही गतिमा इन्टरनेट भने चलिरहेको हुँदैन ।

तपाईं हामीले घरमा चलाउने यही इन्टरनेट नै शेयर्ड इन्टरनेट हो । यसमा भनिएको डाउनलोड स्पिडको अर्थ बढीमा १० एमबीपीएस भन्ने हो । जुन तपाईंले हर बखत पाउन सम्भव हुँदैन ।

यसमा सेवाप्रदायकको जुक्तिले काम गरेको छ । सबै प्रयोगकर्ता एकै पटक अनलाइन हुँदैनन् भन्ने उनीहरुले अन्दाज गरेका हुन्छन् । अनलाइन भएतापनि ठूला फाइल एकै समय डाउनलोड गर्दैनन् भन्ने मान्यता हुन्छ ।

यसै आधारमा १० एमबीपीएस ब्याण्डविथ चारदेखि ८ वटा घरमा बाँडिएको हुन्छ । नेपालमा मात्र नभएर बाहिरको अभ्यास पनि यस्तै हुन्छ । यसरी बाँडिएका प्रयोगकर्ता सबैले एउटै समयमा धेरै ब्याण्डविथ खपत हुने ठूला फाइल डाउनलोड गर्न थाले भने इन्टरनेट बाँडिन्छ र स्लो हुन्छ ।

उदाहरणको लागि तपाईंको टोलमा रहेका ८ वटा धाराका लागि एक इन्च पाइप बराबरको खाने पानी छोडिएको छ । यस्तोमा एक समयमा एउटा मात्र धारा खोलियो भने भरिभराउ पानी आउँछ । जति धेरै धारा खुल्दै जान्छन्, पानी बाँडिएर कम हुँदै जान्छ ।

शेयर्ड इन्टरनेट पनि ठीक त्यस्तै हो । यसको पछाडिको कारण भनेको यसको मूल्य नै हो । किन भने ब्याण्डविथ शेयर गर्दा शुल्क पनि शेयर हुन्छ र घरमा घरमा जोडिने इन्टरनेट सस्तो पर्न आउँछ ।

 अब कुरा गरौं डेडिकेटेड इन्टरनेटको । यसमा तपाईंले भनिए जत्तिकै इन्टरनेट स्पिड पाउने ग्यारेन्टी हुन्छ । तर, मूल्यको हिसाबले भने यो निकै महंगो पर्न जान्छ ।

अन्तर्राष्ट्रिय ब्याण्डविथ विदेशबाट आउँछ । अहिले यसरी आउने इन्टरनेट ब्याण्डविथको मूल्य प्रति महिना एक एमबीपीएसको औषत ७ अमेरिकी डलर छ । जसअनुसार १० एमबीपीएसका लागि महिनामा ७० डलर अर्थात ८ हजार २ सय ६० रुपैयाँ  खर्च हुने भयो ।

त्यसमा सरकारी करको रुपमा १० प्रतिशत टीडीएस, टीएससी १३ प्रतिशत, भ्याट १३ प्रतिशत, आरटीडीएफ २ प्रतिशत र रोयल्टी चार प्रतिशत थपिन्छ । कम्पनीको लगानी र नाफा पनि त्यसमा जोडिने भयो ।

कर मात्रै समावेश गर्दा पनि १० एमबीपीएसको मूल्य १० हजार माथि पर्न जान्छ । त्यसैले त यसलाई कर्पोरेट इन्टरनेट भन्ने चलन पनि छ । अर्को भनेको यसमा सेवा प्रदायकले दिने सेवामा पनि फरक पर्न जान्छ । त्यसैले यो बढी भरपर्दो मानिन्छ ।

ठूला कार्यालयमा डेडिकेटेड इन्टरनेट प्रयोग भइरहेको हुन्छ । यदि केही गरी इन्टरनेट अवरुद्ध भयो भने यस्ता प्रयोगकर्ताले बढी प्राथामिकता पाउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१