close

सरकारले फेसबुकसँग माग्यो ९२१ प्रयोगकर्ताको डेटा

टेकपाना टेकपाना

जेठ ७, २०७८ १६:३६

सरकारले फेसबुकसँग माग्यो ९२१ प्रयोगकर्ताको डेटा

काठमाडौं । सरकारले सन् २०२० मा ९२१ जना प्रयोगकर्ताको डेटा फेसबुकसँग मागेको छ । सरकारले कानूनी प्रक्रिया तथा आपतकालीन जानकारीको रुपमा फेसबुकसँग यस्तो विवरण माग गरेको हो ।

फेसबुकले स्थानीय कानून र आफ्नो सेवाको शर्त अनुसार सरकारको आग्रहमा प्रयोगकर्ताको डेटा उपलब्ध गराउँदै आएको छ । कम्पनीले यस्ता हरेक अनुरोधका लागि पर्याप्त कानूनी आधारलाई सावधानीपूर्वक हेर्ने गर्दछ ।

कतिपय अवस्थामा फेसबुकले थप आधार माग गर्ने तथा त्यस्ता अनुरोधलाई अस्वीकार समेत गर्दछ । सन् २०२० को पछिल्लो ६ महिनाको अवधिमा मात्रै सरकारले ५५९ जना प्रयोगकर्ताको डेटा माग गर्दै ४०६ पटक फेसबुकसँग सम्पर्क राखेको छ ।

नेपाल सरकारले फेसबुकसँग माग गरेको प्रयोगकर्ताको विवरण संख्या

स्रोतः फेसबुक ट्रान्सपरेन्सी रिपोर्ट

जब कि वर्षको सुरुवाती छ महिनामा २८३ पटकको अनुरोधमा ३६२ जना प्रयोगकर्ताको जानकारी मागिएको थियो । पछिल्लो पटकको अनुरोधमा ३८० वटा कानूनी प्रक्रियासँग र २६ वटा आपतकालीन खुलासा (इमर्जेन्सी डिसक्लोजर) सँग सम्बन्धित रहेका थिए ।

कुल अनुरोधमा ६२ प्रतिशतमा फेसबुकले प्रयोगकर्ताको डेटा उपलब्ध गराइएको उल्लेख गरेको छ । फेसबुकले सरकारबाट प्रयोगकर्ताको डेटाका लागि माग भएका अनुरोधहरुलाई समेटेर हरेक छ महिनामा ट्रान्सपरेन्सी रिपोर्ट प्रकाशित गर्दै आएको छ ।

सन् २०२० को पछिल्लो छ महिनाको अवधिमा विश्वभरबाट तीन लाख २० हजार ९२६ प्रयोगकर्ताको डेटाका लागि एक लाख ९१ हजार १३ पटक अनुरोध प्राप्त भएको फेसबुक ट्रान्सपरेन्सी रिपोर्टमा उल्लेख छ । जसमध्ये ७२.३ प्रतिशत अनुरोधमा केही डेटा उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१