close

सन् २०२५ सम्म नेपालभर फाइभजी विस्तार

टेकपाना टेकपाना

जेठ १३, २०७८ १४:३२

सन् २०२५ सम्म नेपालभर फाइभजी विस्तार

काठमाडौं । सरकारले सन् २०२५ भित्रमा देशभर फाइभजी विस्तार गर्ने योजना बनाएको छ । सन् २०२१ भित्र फाइभजी परीक्षण गर्ने र चार वर्षभित्र देशभर यसलाई विस्तार गर्ने योजना सरकारले बनाएको हो ।

एसिया प्यासिफिक स्पेक्ट्रम म्यानेजमेन्ट फोरममा प्रस्तुति दिंदै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सन् २०२५ भित्र नेपालभर फाइभजी विस्तार गर्ने सरकारी योजनाबारे जानकारी गराएका हुन् ।

प्राधिकरणले फाइभजी सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सी पहिचान गरी राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिसमक्ष सिफारिस गरिसकेको छ । नेपाल टेलिकमले अहिलेको फोरजी विस्तार परियोजनाको अन्तिम चरणमा केही सहरमा फाइभजी सेवाको परीक्षण गर्ने तयारी गरिरहेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीको अध्यक्षतामा रहेको फ्रिक्वेन्सी नीति निर्धारण समितिले फाइभजी परीक्षणको स्वीकृति दिइसकेको भन्दै खनालले प्राधिकरणले फाइभजीको परीक्षणका लागि एक वर्षसम्म फ्रिक्वेन्सी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको जानकारी गराए ।

फाइभजी परीक्षणका लागि ७०० मेगाहर्ज र २.६ गिगाहर्ज फ्रिक्वेन्सीलाई प्राथमिकतामा राखिएको खनालले बताए । उनले सन् २०२२ देखि सन् २०२३ सम्ममा फाइभजीका लागि आवश्यक फ्रिक्वेन्सी तयार हुनुका साथै सेवा प्रदायकले फाइभजीको प्रारम्भिक पूर्वाधार तयार पारिसक्ने बताए ।

उनले सन् २०२२ सम्ममा प्रमुख सहरमा फाइभजी सेवा सुरु हुने जानकारी दिए । सन् २०२८ सम्ममा नेपालको ७० प्रतिशत जनसंख्यामा फाइभजी सेवाको कभरेज पुग्ने अनुमान समेत उनले प्रस्तुत गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१