close

११ हजार सरकारी कर्मचारीको मात्र आधिकारिक ईमेल आईडी !

टेकपाना टेकपाना

जेठ १४, २०७८ १७:४१

११ हजार सरकारी कर्मचारीको मात्र आधिकारिक ईमेल आईडी  !

काठमाडौं । देशभरका ११ हजार कर्मचारीको मात्र सरकारी ईमेल रहेको पाइएको छ । अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्भेक्षण प्रतिवेदन २०७७ अनुसार गत फागुनसम्म उक्त संख्याका कर्मचारीलाई मात्र सरकारी ईमेल आईडी उपलब्ध गराइएको छ । 

नेपाल सरकारका कर्मचारीहरुको ईमेलको आधिकारिकता र सुरक्षा सुनिश्चत गर्न विभिन्न निकायका कर्मचारीहरूलाई सरकारी ईमेल आईडी उपलब्ध गराउने व्यवस्था छ । त्यसअनुसार २०७७ फागुनसम्म ११ हजार ईमेल ठेगाना नेपाल सरकारको केन्द्रीय ईमेल प्रणालीमा आवद्ध गरी व्यवस्थापन गरिएको छ ।

यी इमेलको सुरक्षाका लागि आवश्यक सफ्टवेयर समेत जडान गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सरकारी सूचना एवं तथ्याङ्क सुरक्षित गरी विद्युतीय सेवा अवरुद्ध हुन नदिन ती सूचना एवं तथ्याङ्कलाई हेटौंडामा डिजास्टर डाटा रिकभरि सेन्टरमा ब्याकअप गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा उक्त सेन्टरको सर्भरको क्षमता ५०० टेराबाइटले बृद्धि गरिएको छ । गत आर्थिक वर्षमा सरकारी डाटा सेन्टरमा रहेका सबै डाटा केन्द्रीय डीएनएस, वेब होस्टिङ, सी प्यानल, सरकारी ईमेल प्रणाली लगायत नेपाल सरकारका सबै मन्त्रालय लगायत अन्य महत्वपूर्ण निकायका सूचना प्रविधि प्रणाली र डाटा उक्त सेन्टरमा व्याकअपको रूपमा सुरक्षित भण्डारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१