close

‘पूर्वाधार शेयरिङमा जाने हो भने दूरसञ्चार सेवा आधा सस्तोमा दिन सकिन्छ’

टेकपाना टेकपाना

जेठ १५, २०७८ १३:५६

‘पूर्वाधार शेयरिङमा जाने हो भने दूरसञ्चार सेवा आधा सस्तोमा दिन सकिन्छ’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले दूरसञ्चार पूर्वाधारमा शेयरिङ जाने हो भने अहिलेको भन्दा आधा सस्तो मूल्यमा सेवा दिन सकिने बताए । टेकपाना मिडियाको आयोजनामा शनिबार भइरहेकाे दूरसञ्चार नीतिगत श्रृंखलाअन्तर्गत अन्तर्क्रिया कार्यक्रममा बाेल्दै निर्देशक घिमिरेले अहिले सबैभन्दा ठूला समस्या नै लगानीमा रहेकाले पूवार्धारकाे सहप्रयाेगमा जाेड दिन उनले आग्रह गरे ।

‘दुई वर्षअघि नै सहप्रयाेगकाे नीति आएपनि लागू हुन सकेको छैन,’ उनले भने, ‘सेवाप्रदायकलाई सस्तो दे भनेर मात्रै हुँदैन । त्यसका लागि उनीहरुलाई आवश्यक आधार पनि तयार गरिदिनुपर्छ ।’

दूरसञ्चार प्राधिकरण काेषकाे रकम परिचालन गरी स्थानीय तह, स्वास्थ्य चाैकी र सामुदायिक विद्यायलयलाई निःशुल्क इन्टरनेट दिने याेजना ल्याइए पनि यसबाट सर्वसाधारणले लाभ उठाउन नसकेकाे गुनासाे उनले गरे ।

‘गाउँपालिका, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयलाई दुई वर्ष निःशुल्क इन्टरनेट दिने विषय ३ वर्ष पुरानो हो । फेरि समय थपियाे । तर यहाँ निःशुल्क सेवा दिने विषयमा सरकारी कार्यालयलाई ध्यानमा राखिएको छ । प्रयोगकर्तालाई बेवास्ता गरिएको छ । पूर्वाधार भएको स्थानमा प्रयाेगकर्ताले हजार रुपैयाँ तिरेर भए पनि सेवा उपभोग गर्न सक्छन् । तर त्यस किसिमको आधार हामीले तयार पार्न सकेनौं,’ उनले भने ।

त्यस्तै उनले दूरसञ्चार नीति, ब्रोडब्याण्ड नीति र सूचना प्रविधि नीतिलाई एउटै बनाउने प्रयास लामो समयदेखि भइरहेपनि नयाँ नीति तयार हुन नसकेको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३