close

उज्वल थापाले यसकारण बनाएका थिए ‘आन्ट्रप्रेनर्स फर नेपाल’

टेकपाना टेकपाना

जेठ १८, २०७८ १९:३१

उज्वल थापाले यसकारण बनाएका थिए ‘आन्ट्रप्रेनर्स फर नेपाल’

काठमाडौं । दिवंगत उज्जल थापालाई धेरैले राजनीतिक व्यक्तित्वको रुपमा चिन्ने भए पनि उनी एक आईटी उद्यमी समेत हुन् । भलै उनी आफ्नो उद्यमशिलतामा सफल हुन सकेनन् । तर पनि उनी युवाहरुलाई उद्यमशिलतामा लाग्न सधैं प्रेरित गरिरहन्थे ।

त्यसैका उपज हुन्, ‘आन्ट्रप्रेनर्स फर नेपाल‘ र ‘आईटी आन्ट्रप्रेनर्स फर नेपाल‘ । उज्वल कम्प्युटर लगायतका विषयमा अमेरिकाबाट दक्षता हासिल गरेर नेपाल फर्किएका थिए । नेपालमै कम्प्युटरसम्बन्धी काम गर्ने सोचका साथ उनले डिजिटल म्याक्स सोलुसन्स नामक कम्पनी खडा गरे ।

जुन निकै चर्चित पनि भयो । तर कुनै पनि बैंकले तिमी के गर्दैछौँ, हामी के सहयोग गरौं भनेर आएनन् । त्यसपछि उनले आफू जस्ता धेरै युवा आर्थिक अभावका कारण उद्यमी बन्न नचाहेकोे थाहा पाए ।

त्यसो त तत्कालीन अवस्थामा उद्योग र व्यापारसम्बन्धी संगठन नेपालमा नभएका होइनन् । तर ती सबै ठूला व्यावसायीलाई मात्र सहयोग गर्न खडा भएका थिए ।

सानो क्षेत्रमा काम गर्ने मानिसको कुरा सुन्ने चलन त्यति थिएन । जबकि नेपाललाई यस्तै स-साना उद्यमीहरूले माथि पुर्‍याउँछन् भन्ने विश्वास उज्जलको थियो ।

तर तिनीहरू संगठित थिएनन् । त्यसपछि आफ्नो जस्तै स-साना कम्पनीलाई संगठित गर्नुपर्छ भन्ने उद्देश्यका साथ उनले २६ जुन २००७ मा फेसबुकमा ‘आन्ट्रप्रेनर्स फर नेपाल’को सुरुवात गरे । अहिले यो फेसबुक ग्रुपमा एक लाख १९ हजार ४०० भन्दा बढी सदस्य छन् ।

उनैले सन् २०१२ तिर स्थापना गरेको अर्को ग्रुप ‘आईटी आन्ट्रप्रेनर्स फर नेपाल’ मा २६ हजार ५०० भन्दा बढी युवाहरु जोडिएका छन् । जसमा आईटी क्षेत्रका उद्यमीहरुले सामना गरिरहेका समस्याको समाधान आपसमा खोज्ने प्रयास गरिन्छ ।

त्यसो त यी ग्रुपमा सबै उद्यमी मात्र छैनन् । तर ग्रुपमा जोडिने सबैलाई थापाले भविष्यका उद्यमी ठान्थे । यो समूह कतै दर्ता छैन । न त यो संगठनमा कुनै पद नै सिर्जना गरिएको छ ।

तै पनि उद्यमीहरू यसमा सक्रिय छन् । ग्रुपका सदस्यहरुले एक-अर्काका स-साना समस्या समाधान गर्ने, कुनै मुद्दामा एकजुट बनाउने आदि काम गर्दै आएका छन् । आफू राजनीतिमा लागेपछि भने उज्वल दुवै ग्रुपको एड्मिनको जिम्मेवारीबाट बाहिरिएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३