close

एन्ड्रोइडलाई चुनौती दिन ह्वावेले ल्यायो आफ्नै अपरेटिङ सिस्टम

टेकपाना टेकपाना

जेठ २०, २०७८ १३:५५

एन्ड्रोइडलाई चुनौती दिन ह्वावेले ल्यायो आफ्नै अपरेटिङ सिस्टम

काठमाडौं । ह्वावेले आफैंले विकास गरेको अपरेटिङ सिस्टम हार्मोनी ओएस सार्वजनिक गरेको छ । स्मार्टफोनलगायत आईओटीमा आधारित विभिन्न डिभाइसमा प्रयोग गर्न सकिने गरी ह्वावेले बुधबार यो ओएस सार्वजनिक गरेको हो । अमेरिकाले गुगलको एन्ड्रोइड तथा अन्य विभिन्न उत्पादन प्रयोगमा प्रतिबन्ध लगाएपछि ह्वावेले यो कदम चालेको हो ।

अमेरिकाले सन् २०१९ मा ह्वावेलाई कालाेसूचीमा राखेसँगै कम्पनीले हार्मोनी ओएस ल्याएको थियो । तर, यो पूर्णरुपमा गुगलको एन्ड्रोइडमा आधारित भएर निर्माण गरिएको थियो । तर, सँगै ह्वावेलाई अमेरिकी कम्पनीले निर्माण गरेको कुनै पनि प्रडक्ट प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध गरियो । त्यसपछि कम्पनीले एन्ड्रोइडमा आधारित भएर हार्मोनी ओएस विस्तार गर्ने अवस्था रहेन ।

विस्तारै ह्वावे स्मार्टफोन बजारमा नम्बर वानबाट हराउँदै गयो । उसले सन् २०१६ बाटै हार्मोनी ओएस निर्माणको काम सुरु गरेको थियो । एन्ड्रोइडको ब्याकअपका रुपमा विभिन्न आईओटीमा आधारित डिभाइसमा हार्मोनी ओएस प्रयोगमा ल्याउँदै आएको थियो ।

अब कम्पनीले त्यसलाई अझ परिस्कृत गरी बुधबार सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अब यसमा आधारित भएर डेभलपरहरुले सहज रुपमा विभिन्न प्रडक्ट निर्माण गर्न सक्नेछन् ।

ओपनसोर्सको रुपमा उपलब्ध गराइएको हार्मोनी ओएस गुगलको एन्ड्रोइड, एप्प्लको आईओएसभन्दा पूर्णरुपमा फरक रहेको छ । यो ओएस हाल कनेक्टेड डिभाइसको बढ्दो मागलाई मध्यनजर गरेर निर्माण गरिएको छ । यसले हाल एप्पलको जस्तै आफ्नै छुट्टै प्लेटफर्म निर्माण गरी प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्न सहयोग पुर्‍याउने छ ।

स्मार्टफोन, स्मार्टवाचमा हार्मोनी ओएस

सन् २०१९ मा ह्वावेले हार्मोनी ओएस पहिलो पटक स्मार्ट टिभीमा प्रयोग गरेको थियो । जुन अनर ब्राण्डको टिभी थियो । तर, बुधबार कम्पनीले हार्मोनी ओएसमा आधारित फ्ल्यागशिप स्मार्टफोन मेट ४० र मेट एक्स२ फाेल्डेबल फोनमा उपलब्ध गराएको छ । यसका साथै ह्वावेको वाच सिरिज ३ र मेट प्या प्रो ट्याब्लेटमा समेत हार्मोनी ओएस प्रयोगमा ल्याइएको छ ।

सन् २०१९ मा अमेरिकारले लगाएको प्रतिबन्धपश्चात ह्वावेका कुनै पनि फोनमा एन्ड्रोइडको अपडेट उपलब्ध भएको छैन । तर, अब ह्वावेका पुराना फोनमा पनि हार्मोनी ओएस अपडेट गर्न सकिने कम्पनीले जनाएको छ । यो अपडेट बुधबारबाटै सुरू भएको छ भने यो वर्षभित्र सम्पूर्ण प्रयोगकर्तालाई उपलब्ध हुने जनाइएको छ ।

अमेरिकाले लगाएको प्रतिबन्धका कारण कम्पनीको आम्दानी सन् २०२० को अन्त्यमा आएर घटेको छ । स्मार्टफोन बजारमा लागेको ठूलाे धक्काका कारण कम्पनीले ठूलो आम्दानी गुमाउन पुग्यो । जसले गर्दा कम्पनीले अन्य इलेक्ट्रिक डिभाइसमा आफूलाई विस्तारै केन्द्रित गर्दै गएको छ । यसको अर्थ कम्पनीले स्मर्टफोनबाट हात झिक्ने तयारी गरेको भने होइन ।

तर, कम्पनीले आफ्नो इकोस्टिमलाई अझ बलियो बनाउँदै गएको छ । कम्पनीका अनुसार हार्मोनी ओएसले कम्पनीका सयभन्दा बढी प्रडक्टलाई सर्पोट गर्नेछ । भने, याे ओएसमार्फत यो वर्षको अन्त्यसम्म ३० करोड डिभाइस सञ्चालनमा आउनेछन् ।

एपहरुकाे उपलब्धता

हाल एपहरुमा आईओएस र एन्ड्रोइडको हालिमुहाली छ । सामसङ र माइक्रोसफ्टले यसमो प्रयास गरेको भएतापनि त्यसमा सफलता हात पार्न सकेका छैनन् । यस्तोमा ह्वोको लागि एप च्यालेन्ज हो । जबसम्म एप हुँदैन तबसम्म सफ्टवेयरले मात्रै कुनै काम गर्दैन ।

यसका लागि डेभलपरलाई यसमा आकर्षण गर्न जरुरी हुन्छ । तर, यसका लागि ह्वावेले धेरै नै फोकस गरिरहेको छ । यसको अर्थ कम्पनीले डेभलपरलाई विभिन्न अपरका साथै हार्मोनी ओएसमा काम गर्न सहजता प्रदान गरिरहको छ । डेभलपरले पनि आफ्नो लागि फाइदा हेर्ने हुँदा ह्वावेको हार्मोनीमा एप निर्माण गर्नसक्ने विज्ञ बताउँछन् ।

ह्वावेले गुगलको मोबाइल सर्भिस जस्तै ह्वावे मोबाइल सर्भिस सञ्चालनमा ल्याएको छ । जसमा डेभलपरका लागि आवश्यक पर्ने किट उपलब्ध गराइएको छ । हालसम्म ह्वावे मोबाइल सर्भिसमा २७ लाख डेभलपर जोडिइसकेको जनाइएको छ ।

यसका साथै कम्पनीले आफ्नै एप ग्यालरी पनि सुरुवात गरिसकेको छ । जसमा ५ करोड ४० लाखभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । यसको अर्थ ह्ववोले केही खालको परिवर्तन ल्याउनसक्ने आँकलन गर्न सकिन्छ । अझ अन्य कम्पनीहरुले पनि ह्वावेको हार्मोनी ओएसलाई आत्मसाथ गरेको खण्डमा यसको बजार अझ तीव्र गतिमा विस्तार हुने अपेक्षा गर्न सकिन्छ ।

यी सबै कुरालाई आधार मान्ने हो भने ह्वावेले सार्वजनिक गरेको हार्मोनी ओएस भोलिका दिनमा एन्ड्रोइडका लागि एउटा महत्वपूर्ण चुनौतीको रुपमा स्थापित हुने सक्ने देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३