close

डेटा नहुँदा पनि टेलिकमको ‘नमस्ते पे’ बाट भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

जेठ २२, २०७८ १७:५५

डेटा नहुँदा पनि टेलिकमको ‘नमस्ते पे’ बाट भुक्तानी गर्न सकिने


काठाडौं । नेपाल टेलिकमले सञ्चालनमा ल्याउन लागेको मोबाइल मनी ‘नमस्ते पे‘ बाट डेटा नभएको अवस्थामा पनि भुक्तानी गर्न सकिने भएको छ ।

शनिबार टेकपाना मिडियाले आयोजना गरेको दूरसञ्चार नीतिगत बहसमा बोल्दै टेलिकमका उपप्रबन्धक रञ्जित लोहियाले नमस्ते पे मा डेटा कनेक्टिभिटी नभएको अवस्थामा यूएसएसडीमार्फत कारोबार गर्न सकिने सुविधा रहेकाे जानकारी दिए ।

‘हाल नेपालमा सञ्चालित अरू डिजिटल वालेटबाट भुक्तानी सेवा लिन कनेक्टिभिटी अनिवार्य चाहिन्छ । तर नमस्ते पे बाट इन्टरनेट वा डेटा कनेक्टिभिटी नभएको र नेटवर्क कोल्याप्स भएको अवस्थामा पनि भुक्तानी गर्न सकिने फिचर रहेको छ,’ उनले भने ।

हाल परीक्षणकाे क्रममा रहेकाे याे वालेट चाँडै नै व्यावसायिक रुपमा सञ्चालनमा आउन लागेको उनले जानकारी दिए ।

कम्पनीकाे याे मोबाइल वालेट फिचर फोन प्रयोगकर्ताहरुले समेत चलाउन पाउने बताइएकाे छ । त्यस्तै कम्पनीले नेपाल टेलिकमको मोबाइलमा भएको ब्यालेन्सलाई कारोबार रकमको रुपमा समेत प्रयोगमा ल्याउन सकिने जनाएकाे छ । तर, मोबाइल भुक्तानीका लागि रहने रकम रिचार्ज ब्यालेन्सको रुपमा भन्दा फरक खातामा रहने छ ।

रिचार्जमा दूरसञ्चार सेवा शुल्कलगायतका कर लाग्ने भएकाले मोबाइल मनी सस्तो बनाउन यस्तो विकल्प अगाडि सारिएको हो । त्यसका लागि पहिलो चरणमा कम्पनीले यूएसएसडी च्यानल प्रयोग गर्ने गरी तयारी गरको छ ।

यूएसएसडी अर्थात हामीले मोबाइल ब्यालेन्स हेर्नका लागि प्रयोग गर्ने कोडजस्तै कोड टाइप गरेको भरमा पनि नमस्ते पे बाट कारोबार गर्न सकिने छ । यो भएको खण्डमा फिचर फोन प्रयोग गर्ने प्रयोगकर्ताले पनि सहजै कारोबार गर्न सक्नेछन् ।

सँगै वालेट पनि उपलब्ध हुनेछ । जुन अनलाइन प्रयोगकर्ताका लागि प्रभावकारी हुनेछ । यसमार्फत प्रयोगकर्ताले विभिन्न सेवाको भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३