close

होटल बुकिङ र अर्डर गर्न मिल्ने ‘सत्कार’ एप

टेकपाना टेकपाना

असार १, २०७८ १९:४५

होटल बुकिङ र अर्डर गर्न मिल्ने ‘सत्कार’ एप

काठमाडौं । कोरोना संक्रमणको त्रासले पर्यटन क्षेत्र लामो समयदेखि बन्द छ । मानिसहरुले चाहेर पनि यात्रा गर्न नसक्दा र सामाजिक सुरक्षाको कारण बेलाबेलामा भइरहेको बन्दाबन्दीले ठूलो लगानी भएका होटलदेखि रेष्टुरेन्टसम्म बन्द छन् ।

यस जोखिमबाट पर्यटन क्षेत्रलाई थोरै भएपनि राहत दिन ‘द पिक हस्पिटालिटी’ ले टच फ्री सोलुसन र मोबाइल एप्लिकेसनमार्फत कोभिडविरुद्दको लडाईंमा सहभागिता जनाउने प्रयास गरेकाे छ ।

कोभिडको संक्रमण मूलभूत रुपमा शारीरिक निकटताले हुन्छ । यहीकारण सेवाग्राहीलाई लक्षित गर्दै कम्पनीले ‘सुरक्षा नै आराम’ भन्ने मुल नाराका साथ सत्कार एप सार्वजनिक गरेको छ ।

म्यानुअल टच प्लाइन्टलाई हटाएर डिजिटल तरिकाले काम गर्ने गरी याे विकास गरिएकाे कम्पनीले जनाएकाे छ । उसका अनुसार होटलको फ्रन्ट अफिस, मानव संसाधन, वित्त, स्टोर, सुरक्षा, हाउस किपिङ, फुड एण्ड बेभरेज, इन्जिनियरिङ लगायतका सबै डिभिजनहरुलाई एउटै एपमा एकीकृत गरिएकाे छ ।

मोबाइलमै होटल बुकिङदेखि चेक इन गर्न, ढोका खोल्न, खानाहरु अर्डर गर्न, एसी चलाउन, टिभी खोल्न कुनै कुरा अर्डर गर्न वा स्वीच थिची राख्नपर्दैन ।

चेक आउट गर्न फोन वा रिसेप्सनमा लाइन लागेर पर्खिनुपर्दैन । यी सबै काम मोबाइल एप्लिकेसनबाटै होटलका ग्राहक आफैंले गर्न सक्छन् ।

कम्पनीले एप चलाउन निकै सजिलाे र सुरक्षित रहेकाे दाबी गरेकाे छ ।

होटल क्षेत्रमा लामो अनुभव हासिल गरेका विज्ञहरुको परामर्शमा यो एप्लिकेसन विकास गरिएको हाे । अहिलेसम्म विभिन्न वेब एप्लिकेसनमार्फत होटलको बुकिङ गरेपछि सबै काम होटलको काउन्टरदेखि ग्राहक कर्मचारीले म्यानुअल्ली काम गर्नुपर्थ्याे ।

सत्कार एपमार्फत ग्राहकले सेल्फ बुकिङ, सेल्फ अर्डर गर्न सक्छन् । ग्राहकले क्यूआरमार्फत ढोका खोलेर होटलको कर्मचारीको सहयोग विना आफ्नो रुममा प्रवेश गर्न सक्छ ।

सत्कार एप नन-स्टारदेखि फाइभ स्टार होटलसम्मका लागि उपयोगी हुने गरी विभिन्न भर्सनमा उपलब्ध छ । यस एपलाई होटलले आफ्नो अनुकूल हुने गरी मोडिफाइ गरेर प्रयोग गर्न सक्छ । यसलाई होटलको आवश्यकता अनुसार बदल्न सकिन्छ ।

यस एपले पर्यटकको सुरक्षालाई सुनिश्चित गर्छ । होटलहरुको सञ्चालन खर्च घटाउँछ । यसले मानवीय त्रुटिलाई घटाउँछ । सबै कुरा स्वचालित रुपमा हुने भएकाले होटलको जनशक्तिसमेत घट्नेछ । कागजी कामलाई यसले प्रतिस्थापन गर्ने छ । आन्तरिक राजस्वले प्रमाणित गरेको बिलिङ प्रणाली यसमा एकीकृत गरिएको छ ।

नेपालमा विकास भएको यो एप विश्वव्यापी रुपमा हस्पिटालिटी उद्योगका लागि उपयोगी हुने गरी डिजाइन गरिएको छ । कोभिडको महामारी विश्वव्यापीरुपमा होटल क्षेत्रले ब्यहोरेकाले यस एपको माग विदेशमा समेत उत्तिकै हुने एप विकासकर्ता कम्पनीको दाबी छ ।

नेपाली प्रडक्टका रुपमा विदेशमा समेत यसले बजार लिने अपेक्षा छ । द पिक हस्पाटिलिटीले अन्तर्राष्टिय बजारमा समेत प्रवर्द्धन र मार्केटिङ गर्ने योजना बनाएको छ ।

सत्कार एप सार्वजनिक गरिएको अवसरमा यसको प्रवर्द्धनका लागि सफ्टवेयर एप्लिकेसन भारी छुटमा उपलब्ध गराइने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१