close

‘नेपाली स्याट-१’ ले पृथ्वी परिक्रमा गर्न थालेको २ वर्ष पुरा, सेप्टेम्बरमा जमिनमा खस्ने अनुमान

टेकपाना टेकपाना

असार ३, २०७८ १६:२४

‘नेपाली स्याट-१’ ले पृथ्वी परिक्रमा गर्न थालेको २ वर्ष पुरा, सेप्टेम्बरमा जमिनमा खस्ने अनुमान

काठमाडौं । नेपालको पहिलो नानो स्याटेलाइट ‘नेपाली स्याट-१’ ले पृथ्वीको परिक्रमा लगाउन थालेको आज दुई वर्ष पुरा भएको छ । वैशाख ४, २०७६ मा अमेरिकास्थित भर्जिनिया राज्यमा रहेकाे प्रक्षेपण केन्द्रबाट याे स्याटेलाइटको प्रक्षेपण गरिएको थियो ।

नाष्टका वैज्ञानिक आभाष मास्केसहितको टोलीले जापानमा निर्माण गरेको उक्त स्याटेलाइट प्रक्षेपण भएको करिब दुई महिनापछि नेपाली स्याट-१ ले पृथ्वीको परिक्रमा सुरु गरेको थियो । त्यसबेला ‘नेपाली स्याट–१’ का साथै श्रीलंकाको ‘रावण–१’ र जापानको ‘युवुसु’ पनि एकैसाथ प्रक्षेपण गरिएको थियो ।

त्यसैले पनि उक्त प्रक्षेपण कार्यक्रमलाई ‘‘वर्ड–थ्री’ स्याटेलाइट प्रक्षेपण कार्यक्रम नामाकरण गरिएको थियो । स्याटेलाइटमा उच्च क्षमतायुक्त ५ मेगापिक्सेलको क्यामेरा जडान गरिएको छ । जसको सहायताले विभिन्न जानकारी संकलन गर्ने काम भइरहेको छ ।

पहिलो पटक २०७६ पुस महिनामा उक्त स्याटेलाइटले तीन तस्वीर लिन सफल भएको थियो । त्यसबेला नास्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या भएका कारण फोटो जापानस्थित क्यूटेक विश्वविद्यालमा रहेको स्टेसनमार्फत लिइएको थियो ।

उक्त तस्वीरमा भुटान, बंगलादेशको ढाका तथा भारतका आसाम, दाजिर्लिङ र सिक्किमलगायतको भू-भाग समेटिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले जनाएको थियो । पछिल्लो समयमा भने नेपालको भू-भागका तस्वीरहरू नास्टले निर्माण गरेकाे स्टेसनबाटै संकलन हुन थालेकाे थियाे ।

अब भने उक्त स्याटको आयु सकिने अवस्थामा रहेको नास्टका प्रविधि संकाय प्रुख रविन्द्र ढकालले बताए । उनका अनुसार सुरुमा नेपाली स्याट पृथ्वीको सतहबाट ४२० किलोमिटरमाथि अन्तरिक्षमा रहेकाे थियाे । अहिले भने पृथ्वीकाे सतहबाट ३०० किलो मिटरमाथि आइपुगेकाे र आउँदाे सेप्टेम्बरभित्र जमिनमा खस्ने प्रारम्भिक अनुमान गरिएकाे उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१