close

किसान र उपभोक्तालाई सिधै जोड्न ‘कृषि बजार’ एप

टेकपाना टेकपाना

असार ७, २०७८ १४:३२

किसान र उपभोक्तालाई सिधै जोड्न ‘कृषि बजार’ एप

काठमाडौं । किसान र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यले नास्टको सहयोगमा कृषि बजार एप सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेको उपज उपभोक्तासम्म पुग्दा मूल्यमा धेरै अन्तर हुने र किसानले पनि आफ्नो लागत अनुसार उपजको मूल्य नपाउने समस्यालाई सम्बोधन गर्दै यो एप सञ्चालनमा ल्याइएको हो ।

यस एपमार्फत किसानले आफ्नो उपज नि:शुल्क रुपमा मार्केटिङ गर्न पाउनेछन् भने उपभोक्ताले कृषि समग्रीहरु सिधै किसानहरुबाट नै खरिद गर्न सक्नेछन् ।

एपमा किसान र उपभोक्ताहरुको लागि दुई वटा फरक दर्ता प्रकृया रहेको छ । किसानले दर्ता गरेर फलफूल, तरकारी, दुग्धजन्य उत्पादन लगायत माछामासुहरु पनि एपमा आफ्नो अनुकूलता अनुसार बजारीकरणको लागि मूल्यसहित राख्न सक्नेछन् ।

त्यस्तै उपभोक्ताहरुले आफूलाई आवश्यक सामग्री सिधै किसानहरुसँग एपमार्फत कुराकानी गरेर खरिद गर्न सक्नेछन् । एपमा भएका कुनै पनि उत्पादनको निश्चित मूल्य तोकिएको छैन । किसान र उपभोक्ताले आफ्नो समझदारीमा सामान खरिद बिक्री गर्न सक्नेछन् । सामान ढुवानी भने किसान आफैंले गर्नुपर्नेछ ।

किसानहरुले आफ्नो उपजको बजार मूल्य नपाउने र उपभोक्ताहरुले वास्तविक मूल्यभन्दा धेरै तिरेर उत्पादन उपभोग गर्नुपर्ने समस्यालाई समाधान गर्ने उद्देश्यले यो एप विकास भएको कृषि बजारका योजना प्रमुख गौरव न्यौपानेले बताए ।

May be an illustration of 2 people

लमजुङ कृषि क्यामपसका कृषि विद्यार्थीहरुको सहकार्यमा यो एपको सुरुवात गरिएको हो । कोरोना महामारीका कारण अन्य क्षेत्रजस्तै कृषि बजारमा परेको असरको दीर्घकालीन न्यूनीकरणका लागि प्रविधिको भूमिकालाई प्राथमिकतामा राख्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले “कृषि उपजको लागि डिजिटल मार्केटिङको विकास” अन्तर्गत प्रस्ताव आह्वान गरेको थियो ।

सोही आह्वानमा छनाैट भई कृषि बजार एप सञ्चालनमा ल्याइएको हो । हालको लागि यो एप स्थान विशेषमा बढी प्रभावकारी हुने बताउँदै आगामी दिनमा एपका सुविधाहरुमा विभिन्न परिमार्जन गर्दै लैजाने न्यौपानेले जानकारी दिए ।

‘किसानहरु आफैंले आफ्नो अर्डर डेलिभरी गर्नुपर्ने भएको कारण हाललाई यो एप स्थान विशेषमा मात्र उपयोगी हुनेछ,’ उनले भने, ‘उपभोक्ताले पनि आफ्नो नजिकको किसानबाट सामान मगाउन सक्नेछ भने किसानले पनि आफ्नो अनुकूल भएको स्थानको अर्डर लिन पाउँछन् ।’

आगामी दिनमा भने ढुवानीको व्यवस्थालाई पनि मध्यनजर गरेर एप विकास गर्दै लैजाने न्यौपानेले बताए । ‘उपभोक्ता मात्र होइन किसानहरुले ठूला व्यापारीहरुलाई पनि सिधै आफ्नो सामान बेच्न पाउने गरी सुविधाहरु थप्ने योजनामा छौं । त्यस्तै विभिन्न सहकारी तथा स्थानीय निकायहरुसँगको सहकार्यमा किसानहरुले आफ्नो उपज आफैं बेच्ने वातावरण मिलाउने प्रयासमा छौँ ।

यद्यपि एपलाई सफलताका लागि धेरै मेहेनत गर्नुपर्ने उनी बताउँछन् । ‘धेरैजसो किसानहरु यस्ता प्रविधिहरुसँग अझै पनि परिचित छैनन् । त्यसैले यसलाई हामीले किसानहरु सम्म पुगेर नै उनीहरुलाई बुझाउनुपर्ने छ ।’ तत्कालको लागि भने देशका विभिन्न स्थानहरुमा जारी निषेधाज्ञाको कारण सो काम रोकिएको उनले बताए ।

एपका योजनाकारहरु लमजुङ कृषि क्यामपसका विद्यार्थीहरु गौरव न्यौपाने, निराजन भण्डारी र कुशल पौडेलसहित आईटीतर्फ प्रकाश भण्डारी रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६