close

नेपाली बजारमा पुनः प्रवेश गर्दै जियोनी, पाउला त सफलता ?

टेकपाना टेकपाना

असार १०, २०७८ १५:१०

नेपाली बजारमा पुनः प्रवेश गर्दै जियोनी, पाउला त सफलता ?

काठमाडौं । चिनियाँ ब्राण्ड जियोनीसँग हामी परिचित नै छाैं । कुनै समय नेपालका प्रयोगकर्ताले रुचाएको स्मार्टफोन ब्राण्ड हाे, जियाेनी । सस्तो मूल्यमा उत्कृष्ट प्रविधियुक्त फोन बजारमा भित्र्याउने ब्राण्डको रुपमा आफूलाई स्थापित गरेको जियोनी विगत केही वर्षदेखि भने बजारमा हराएको थियो ।

अब फेरि कम्पनी नयाँ उत्पादनका साथ नेपाली बजारमा प्रवेश गर्ने भएको छ । नेपाली बजारमा आफ्नो उपस्थिति कम गरेको भएपनि कम्पनीले विश्व बजारमा भने आफ्ना केही उत्पादन निरन्तर सार्वजनिक गरिरहेको छ । जसमा ए१००, पी१२, एम१२ स्मार्टफोन केही महिनाअघि सार्वजनिक भएकाे थियो ।

त्यस्तै हालैमात्र कम्पनीले जियोनी एम१५ नाइजेरियाबाट सार्वजनिक गरेको छ । नाइजेरियाबाट सार्वजनिक गरिएको उक्त स्मार्टफोन अब नेपाली बजारमा आउँदो जुलाई ५ तारिखमा सार्वजनिक गर्ने तयारीमा कम्पनी रहेको छ ।

यसका साथै कम्पनीका अन्य केही मोडल पनि सँगै भित्रिने कम्पनीले जनाएको छ । उक्त मोडलको विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन ।

कम्पनीका अनुसार जियोनी एम१५ मिड रेन्जको स्मार्टफोन हाे, जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित ४ वटा क्यामेरा रहेको छ । गेमिङ स्मार्टफोनका रुपमा सार्वजनिक हुने फोनमा उत्कृष्ट प्रविधिको प्रयोग भएको दावी कम्पनीले गरेको छ ।

के–के छन् फिचर ?

जियोनी एम१५ मा ६.६७ इन्चको आईपीएस एलसीडी प्यानल अर्थात फुल एचडी डिस्प्ले रहेको छ । जसको रिफ्रेस रेट ६० हर्ज रहेको छ । फोनको पछाडिको भागमा चार वटा क्यामेरा सेटअप छ ।

जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलकाे अल्ट्रावाइड, २ मेगापिक्सेलकाे म्याक्राे क्यामेरा र २ मेगापिक्सेलकाे डेप्थ सेन्सर रहेका छन् । भने, सेल्फीका लागि फोनमा १६ मेगापिक्सेलको क्यामेरा रहेको जनाइएको छ ।

एन्ड्रोइड ११ मा आधारित यो फोनमा मिडियाटेक हेलिया जी९० चिपसेट प्रयोग भएको छ । यो फोन ६ र ८ जीबी र्‍याम र १२८ जीबी रोम रहेको छ । डुअल सिमका साथै यसमा छुट्टै माइक्रोएसडी स्लट पनि उपलब्ध हुने जनाइएको छ ।

फोनमा ५१०० एमएएचको ब्याट्री रहेको छ । जसले १८ वाटको फास्ट जार्जिङ सपोर्ट गर्ने जनाइएको छ । फोरजी सपोर्टयुक्त फोनमा सुरक्षाका लागि फिङ्गरप्रिन्ट स्क्यानर उलब्ध रहेको छ ।

मूल्य तथा उपलब्धता

यो फोनको नेपाली मूल्यको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । तर अनुमानित रुपमा हेर्ने हो भने ६ जीबी तथा र्‍याम १२८ जीबी रोम भेरियन्टको बजार मूल्य २४ हजारको हाराहारीमा हुनेछ ।

त्यस्तै ८ जीबी र्‍याम तथा १२८ जीबी रोम भेरियन्टको बजार मूल्य २७ हजार ५ सय रहने अनुमान छ । कम्पनीका अनुसार यो फोन ग्रे र ब्लु गरी दुई कलर भेरियन्टमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६