close

देशकै स्मार्ट वडा बन्दै मालारानी-२, मोबाइल एपबाट यति धेरै सुविधा

टेकपाना टेकपाना

असार २४, २०७८ १५:१८

देशकै स्मार्ट वडा बन्दै मालारानी-२, मोबाइल एपबाट यति धेरै सुविधा

काठमाडौं । अर्घाखाँचीस्थित मालारानी गाउँपालिका वडा नं. २ को आधिकारिक एप सार्वजनिक भएको छ । सेवाग्राही र वडाका कर्मचारीलाई डिजिटल प्लेटफर्मबाट जोड्ने उद्देश्यका साथ ‘मालारानी ०२’ नामको एप सञ्चालनमा आएको हो ।

एबीएस सफ्ट कम्पनीको प्राविधिक सहयोगमा निर्माण गरिएको एप नेपालकै पहिलो वडास्तरीय मोबाइल एप भएको दाबी गरिएको छ । यो एपमा वडाभित्र आउने कार्यक्रम, वडाबाट प्रदान गर्ने सेवा सुविधा, सेवा लिन चाहिने डकुमेन्ट र प्रक्रिया, शुल्क विवरण लगायतको जानकारी लिन सकिन्छ ।

त्यस्तै वडाले कुनै सूचना निकाल्याे भने एपमा स्वत: नाेटिफिकेसन आउने व्यवस्था मिलाइएको छ ।

वडा अध्यक्ष, वडा सदस्य र वडा सचिव लगायत कार्यालयमा भए/नभएको बारे पनि एपबाटै थाहा पाउन सकिन्छ । त्यस्तै प्रयोगकर्ताले एपबाटै मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर जाँच्न सक्छन् ।

त्यस्तै वडाभित्र रहेका महत्वूर्ण धार्मिक एवं पर्यटकीय स्थलहरुका बारेमा जानकारी दिनुका साथै ती ठाउँमा पुग्न डिजिटल म्यापको सुविधा दिइएको छ ।

एपबाटै वडाभित्र रहेका इमर्जेन्सी नम्बरहरु (दमकल, एम्बुलेन्स, स्वास्थ्यकर्मी, स्वयम् सेवक लगायत) मा डायल गर्न सकिने व्यवस्था ल्याइएकाे छ ।

सेवाग्राहीले वडाकाे नीति तथा कार्यक्रम पनि एपमै पढ्न पाउनेछन् । त्यस्तै वडालाई कुनै सुझाव र समस्या सुनाउन पनि एपबाटै सकिन्छ ।

‘वडासँग समन्वय गरेर हामीले थप फिचर ल्याउने छाैं । भविष्यमा जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराइ लगायतका लागि वडा कार्यालय धाउन नपर्ने गरी एपबाटै निवेदन दिन र काम सम्पन्न भएपछि एपमा नाेटिफिकेशन जाने फिचर ल्याउन लागेका छौं,’ एबीएस सफ्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशाेक केसीले बताए ।

साथै एपकै सहायतबाट भुक्तानी र अन्य नवीनतम सेवा दिनेबारे अध्ययन पनि भइरहेको उनले जनाए ।

उनका अनुसार एप प्रयोग गर्न टु फ्याक्टर अथेन्टिकेशन सिस्टम अनिवार्य गरिएको छ । ‘भोटर आईडीबाट मात्र नभएर नागरिकताकाे फाेटाेकपी सब्मिट गरेपछि मात्र एपमा अकाउन्ट क्रिएट गर्ने व्यवस्था ल्याएका छाैं,’ उनले भने । वडाभित्रका जनता हाे कि हाेइन भनेर भेरिफेकेशन गर्न यस्ताे व्यवस्था गरिएकाे उनले जनाए ।

त्यस्तै ५ पटकसम्म गलत लगइन प्रयास गरे २ दिनसम्म अकाउन्ट सस्पेन्ड गरिने उनले जनाए । याे एप अंग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध छ ।

यसअघि गुगल प्ले स्टोरमा सार्वजनिक भएको यो एपका लागि थप विवरण माग भएको जानकारी दिँदै केसीले भने, ‘यो सरकारी एप भएकाले प्ले स्टोरमा भेरिफिकेशनका लागि लेटर पठाउन भनिएको थियो । हामीले वडाबाट लेटर पठाइसकेका छौं । केही दिनमा पुनः प्ले स्टोरमा उपलब्ध हुनेछ ।’

त्यतिन्जेल प्रयोगकर्ताले एपीके फाइल डाउनलोड गरेर एप प्रयोग गर्न सक्ने उनले जानकारी दिए ।

वडा अध्यक्ष विष्णुप्रसाद भुसाल (विनाेद) ले नागरिकलाई वडाभित्रका हरेक जानकारी सजिलोसँग थाहा पाउन र वडाका हरेक गतिविधि, वडाकाे भैगाेलिक अवस्था, वडाभित्र रहेका धार्मिक क्षेत्र, प्रकृतिक क्षेत्र, वडाभित्रका विद्यालय, महत्त्वपूर्ण क्षेत्र, गाैरवका याेजना थाहा पाउन एप प्रभावकारी हुने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३