close

हाम्रो बजार डटकममा अब निःशुल्क ‘जब भ्याकेन्सी’ पोस्ट गर्न मिल्ने

टेकपाना टेकपाना

असार २५, २०७८ १४:४९

हाम्रो बजार डटकममा अब निःशुल्क ‘जब भ्याकेन्सी’ पोस्ट गर्न मिल्ने

काठमाडौं । नयाँ तथा पुराना सामग्रीहरू खरिद तथा बिक्री गर्नका लागि उपयोगी प्लेटफर्मको रूपमा परिचित ‘हाम्रो बजार डटकम’ ले जब पोस्टिङ सेवाको सुरुवात गरेको छ । अब हाम्रो बजार डटकम मार्फत रोजगारीको लागि आवेदन माग्न र दिन सकिन्छ ।

हाम्रो बजार डटकमको साइटमा रहेको जब्स ‘Jobs’ क्याटेगोरीमा गएर रोजगारदाताले कर्मचारीको लागि आह्वान गर्न सक्छन् भने रोजगारीको आवश्यकता भएकाहरूले आफूलाई आवश्यक जागिरमा आवेदन दिनसक्छन् ।

गत वर्षदेखि सुरु भएको कोरोना महामारीका कारण कयौंले जागिर गुमाएका थिए । विदेशबाट रोजगारी गुमाएर आउनेहरूको संख्या पनि बढेपछि रोजगारीलाई सहज बनाउनको लागि जब पोस्टिङको सेवा सुरु गरेको हाम्रो बजारका डटकमका सीईओ रोहित तिवारीले बताए ।

‘कोरोना महामारीका कारण विश्व अर्थतन्त्रलाई नै असर गरेको बेलामा नेपालीमा पनि धेरै बेरोजगारी बढेको थियो । केही मान्छेहरू काम खोज्दै थिए भने केही रोजगारदाताहरू कर्मचारी खोजिरहेका थिए,’ सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले भने, ‘यही काम गर्ने मान्छे र काम खोज्ने मान्छेहरूको बीचको दूरीलाई मेटाउन हामीले यो सेवा सुरु गरेका हौं ।’

एक महिनाअघि सुरु भएको यो सेवामार्फत हाल दैनिक तीन देखि चार जनाले रोजगार पाइरहेका छन् । ‘हामीले सुरु गर्दा यसमा मान्छेहरूको खासै सक्रियता देखिएको थिएन तर अहिले भने हरेक दिन १०० भन्दा बढी रोजगारदाताहरूले कर्मचारीको आह्वान गरिरहेको हुन्छ भने हरेक दिन तीन देखि चार जनाले रोजगारी पाइरहेका छन्,’ तिवारीले बताए ।

पोस्ट भएका आह्वानहरू दुईदेखि तीन दिनभन्दा बढी साइट नरहेको बताउँदै तिवारीले अहिले साइटमा रहेको यो क्याटेगोरीमा धेरैजना सक्रिय भएका छन् । आउँदो एक महिनाभित्र दैनिक ५० देखि ६० जनाले रोजगार पाउने विश्वास व्यक्त गर्दै उनले बताए ।

‘हामीले रोजगारदाता र श्रमिकको बिचमा बसेर काम गर्न भन्दा पनि उनीहरूको लागि एउटा माध्यम बनाइदिएका हौँ,’ उनले भने , ‘रोजगारदाता र श्रमिकले हाम्रो साइटमा पोस्टका आधारमा सिधै एकअर्कासँग सम्पर्क गर्न सक्छन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३