close

आईफोन १३ को डिजाइन लिक, १२ भन्दा के होला फरक ?

टेकपाना टेकपाना

असार २५, २०७८ २१:०

आईफोन १३ को डिजाइन लिक, १२ भन्दा के होला फरक ?

काठमाडौं । स्मार्टफोन एक्सेसरी निर्माताहरू यस अघि देखि नै आईफोन १३ का लागि आवश्यक केस उत्पादन गर्न व्यस्त छन् । यस्तै मध्येको एउटा कम्पनीले एप्पलका आगामी फ्ल्यागशिप डिभाइसका मोडेलहरूको चेसिस मोडलको डिजाइन सार्वजनिक गरेको छ ।

उक्त कम्पनीले आफूले काम गरिरहेको मोडेलमा आधारित डिजाइन सामाजिक सञ्जालमा अस्वभाविक किसिमले पोस्ट गरेको छ । प्रतिष्ठित चिनियाँ केस अर्थात मोबाइलको कभर निर्माता कम्पनी बेङ्सले शुक्रबार सामाजिक सञ्जाल वोइबोमा आफूले काम गरिरहेको मोडेलमा आधारित तस्वीर पोस्ट गरेको छ ।

लिकर्स (चुहावट गर्ने व्यक्ति) डुयनरुई र आईस युनिभर्स दुवैले लगत्तै ट्वीटरमा त्यसलाई रिपोस्ट गरेका छन् । जसमा आईफोन १३ का चार वटै मोडेल देख्न सकिन्छ । लिक भएका तस्वीरको डिजाइन तथा आकार आईफोन १२ को जस्तै समान डिजाइन रहेको देखिन्छ ।

यी चार वटा उपकरणहरू ५.४ इन्च, ६.१ इन्च र ६.७ इन्च को विकल्पमा आउनेछन् । प्रो भेरियन्ट ६.१ इन्चको रहनेछ । झट्ट देखिने स्वरूपको आधारमा यस वर्ष आउने आईफोनमा अगाडि भागमा नचको आधार सानो देख्न पाइनेछ ।

साथै आईफोन १३ मिनिमा दुई वटा क्यामेरा हुनेछन् । आईफोन १३ प्रो मोडेलमा पछाडि भागमा रहने क्यामेराको आकार केही ठूलो हुनेछ । आउँदो आईफोन केही बाक्लो हुने बताइएको छ । त्यस्तै आईफोन १३ प्रो र प्रो म्याक्समा क्यामेरा बम्प समेत ठूलो हुनेछ ।

जसमा अल्ट्रा वाइड क्यामेराको क्षमता सुधार हुने देखिन्छ । एप्पलको नियमित समयसीमा अनुसार आउँदो सेप्टेम्बरमा आईफोन १३ सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३