close

फेसबुकबाट यसरी सजिलै डाउनलोड गर्नुहोस् मन परेको भिडिओ

टेकपाना टेकपाना

असार २६, २०७८ २१:३९

फेसबुकबाट यसरी सजिलै डाउनलोड गर्नुहोस् मन परेको भिडिओ

काठमाडौं । अहिलेको समयमा फेसबुक नचलाउने इन्टरनेट प्रयोगकर्ता नगन्य हुन्छन् । फेसबुकको न्युज फिड स्क्रोल गर्दागर्दै तपाईंलाई कुनै भिडिओ मन पर्न सक्छ । त्यसमा लाइक, कमेन्ट र शेयरको विकल्प त दिइएकै हुन्छ ।

तर डाउनलोड गर्नुपर्‍यो भने के गर्ने ? अथवा फेसबुकमा देखेको भिडिओलाई अफलाइन पठाउनु पर्‍यो भने ? तपाईंले यसका लागि उचित किसिमको विकल्प फेला पार्नु भएको छैन भने चिन्ता नलिनुहोस्, आज हामी यहाँ त्यसैको बारेमा बताउँदै छौं ।

त्यसो त फेसबुकबाट भिडिओ डाउनलोड गर्ने अनेक एपहरू छन् । तर जथाभावी रुपमा यस्ता एप डाउनलोड गर्नु तपाईंको सुरक्षाका लागि घातक वा हानिकारक हुन सक्छ ।

किन कि कुनै कुनै यस्ता एपहरू हुन्छन्, जसले तपाईंको फोनलाई नै असुरक्षित तुल्याइ दिन सक्छन् र तपाईं साइबर अपराधको शिकार हुन सक्नुहुन्छ । त्यसैले हामी तपाईंलाई त्यस्ता थर्डपार्टी एप अथवा सफ्टवेयर प्रयोग नगर्न सल्लाह दिन्छौं । त्यसो हो भने बिना एप वा सफ्टवेयर इन्स्टल फेसबुकबाट कुनै भिडिओ डाउनलोड गर्न सकिन्छ त ? हो, पक्कै पनि सकिन्छ ।

कसरी डाउनलोड गर्ने फेसबुकको भिडिओ ?

यसका लागि फेसबुक एपमा जानुहोस् र जुन भिडिओ डाउनलोड गर्न चाहनुहुन्छ, त्यसमा ट्याप गर्नुहोस् ।

अब भिडिओको तलपट्टि रहेको तीन वटा थोप्ला भएको बटनमा जानुहोस् र लिङ्क कपी गर्नुहोस् ।

त्यसपछि यहाँ क्लिक गर्नुहोस् र माथि दायाँ कुनामा रहेको तीन ओटा थोप्ला हुँदै ओपन विथबाट कुनै एउटा ब्राउजर रोज्नुहोस् । यसबाहेक तपाईं गुगल क्रोम, ओपेरा मिनी, ब्रेभ, एज मध्ये कुनै एउटा ब्राउजरमा गएर सोझै fbdown.net खोल्न समेत सक्नुहुन्छ ।

अब त्यहाँ खुल्ने बक्समा भर्खरै कपी गरेको लिङ्क पेस्ट गर्नुहोस् र डाउनलोड बटनमा दबाउनुहोस् ।

यति गरिसकेपछि तपाईंले त्यहाँ कुन क्वालिटीमा भिडिओ डाउनलोड गर्ने भनेर छनौटको विकल्प पाउनुहुनेछ । त्यसमध्ये कुनै एउटा विकल्प रोज्नुहोस् ।

यससँगै फेसबुकको भिडिओ बज्न सुरु हुन्छ । अब भिडिओमा ट्याप गर्नुहोस् र तल दायाँ कुनातर्फ रहेको तीन ओटा थोप्ला भएको स्थानमा थिच्नुहोस् र डाउनलोडमा थिच्नुहोस् ।

अन्तिममा भिडिओलाई के नाम दिने र कुन फोल्डरमा सेभ गर्ने छनौट गर्नुहोस् र डाउनलोड बटन दबाउनुहोस् । भिडिओ डाउनलोड भइसकेपछि मोबाइलको फोल्डरमा गएर यस्तो भिडिओ पाउन सक्नुहुनेछ ।

यदि तपाईं आईफोन प्रयोग गर्नुहुन्छ भने पनि यही प्रक्रिया अपनाउनुहोस् । तर ब्राउजरमा भने सफारी नै रोज्नुपर्ने हुन्छ । यसबाट डाउनलोड भएको भिडिओ फोटोज् एपमा देखिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३