close

प्रयोगकर्तालाई एकपछि अर्को चुनौती, फिशिङसँगै अब भिशिङबाट समेत जोगिनुपर्ने

टेकपाना टेकपाना

असार २७, २०७८ २०:४०

प्रयोगकर्तालाई एकपछि अर्को चुनौती, फिशिङसँगै अब भिशिङबाट समेत जोगिनुपर्ने

काठमाडाैं । ‘भ्वाइस प्लस फिशिङ’ अर्थात भिशिङ एउटा भ्वाइस अथवा भीओआईपी (VoIP) मा आधारित फिशिङ आक्रमण हो । जसमा साइबर अपराधीहरूले सोसल इन्जिनियरिङ गरेर टेलिफोन, मोबाइल, भाइबर, म्यासेन्जर, ह्वाट्सएप वा कुनै पनि अपरिचित नम्बरबाट फोन गरी प्रयोगकर्तालाई प्रलोभन वा डर धम्की देखाउँदै महत्वपूर्ण जानकारी थुत्ने गर्छन् ।

जसमा प्रयोगकर्ताको बैंक खाता, क्रेडिट कार्ड वा पिन नम्बर आदिमा समस्या भएको झुटो जानकारी गराउँदै सहयोग गर्ने बहानामा कम्प्युटर तथा मोबाइल प्रयोगकर्ताको संवेदनशील व्यक्तिगत तथा वित्तीय विवरण माग्ने गरिन्छ । ईमेल तथा पासवर्ड, पिन कोड, बैंक खाता नम्बर आदि प्राप्त गर्नेदेखि बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न लगाउने जस्ता प्रयासहरू समेत यसरी हुने गर्छन् ।

यस्ता घटना पछिल्लो समय बढ्दै गएका छन् । त्यसैलाई मध्यनजर गर्दै दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भिशिङबाट बच्ने केही उपायहरू सुझाएको छ । त्यसैका आधारमा भिशिङबाट कसरी जोगिने भन्ने विषयमा तयार पारिएको टिप्स यहाँ दिँदै छौं ।

  • अपरिचित नम्बरबाट आउने फोन नउठाऔं । साथै त्यस्ता अपरिचित नम्बरहरूमा कल ब्याक (Call Back) पनि नगरौं ।
  • झुक्किएर अपरिचित नम्बरबाट आएको फोन उठाउँदा त्यस्ता अपरिचित व्यक्तिहरूले हतारमा मागेको जानकारी उपलब्ध नगराऔं । साथै उक्त फोन कलमा कुनै शंका लागेमा तुरुन्तै उक्त फोन कलकाे विषयमा प्राधिकरणको आधिकारिक ईमेल वा Complaint Handling System मार्फत नियामक समक्ष जानकारी जानकारी गराऔं ।
  • कुनै अपरिचित व्यक्तिबाट विभिन्न प्रलोभन (चिठ्ठा/उपहार, भिषा, सामाजिक सुरक्षा, Loan) देखाई आएको फोन कल अथवा भ्वाइस सन्देश (Voice Message) लाई विश्वास नगरौं र जवाफ नफर्काऔं ।
  • कसैले आकस्मिक (Urgent) रुपमा फोन गरेर बैंक अकाउन्ट (Bank Account ) तथा क्रेडिट कार्ड (Credit Card) कम्प्रोमाइज (Compromise) भएको भनी सहयोग गर्ने बहानामा पासवर्ड (Password), ओटीपी (OTP), बैंक अकाउन्ट नम्बर (Bank Account Number), पिन (PIN code) तथा मोबाइलमा आएको कोड माग गर्दा त्यस्ता संवेदनशील विवरणहरू कसैलाई पनि नदिऔं ।
  • कसैले फोनमार्फत नागरिकता नम्बर, पासपोर्ट नम्बर, बीमा नम्बर, बैंक खाता नम्बर लगायतका व्यक्तिगत पहिचान हुने सूचना (Personally Identifiable Information-PII) माग गर्दा त्यस्ता विवरणहरू कसैलाई पनि उपलब्ध नगराऔं ।
  • कसैले फोन वा भ्वाईस सन्देशमार्फत आफ्नो उपकरणको कुनै बटन (Button) थिच्न वा कुनै लिंकमा क्लिक (Click) गर्न सुझाएमा कहिल्यै पनि त्यस्तो कार्य नगरौँ ।
  • आफ्नो बैंकको वित्तीय विवरण, पिनकोड, पासवर्ड लगायतका कुनै पनि संवेदनशील विवरण चोरी भएको शंका लागेमा तत्काल पासवर्ड तथा पिनकोड परिवर्तन गरौं र सम्बन्धित संस्था/बैंकलाई तत्काल जानकारी गराऔं ।
  • अपरिचित व्यक्तिबाट आउने स्क्याम कल (Scam Call) ब्लक (Block) गर्न आधिकारिक वा विश्वासिलो एप (APP) प्रयोग गरौँ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३