close

चैतभित्र सीडीएमए बन्द गर्दै टेलिकम, प्रयोगकर्तालाई फोरजी फिचर फोन दिने योजना

टेकपाना टेकपाना

असार ३०, २०७८ २०:३३

चैतभित्र सीडीएमए बन्द गर्दै टेलिकम, प्रयोगकर्तालाई फोरजी फिचर फोन दिने योजना

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको सीडीएमए सेवा यसै वर्षभित्र बन्द हुने भएको छ । कम्पनीले प्रविधि पुरानो हुँदै गएको भन्दै जीएसएम फोरजी सेवाबाट यसलाई बन्द गर्ने भएको हो ।

कम्पनीले गत वर्षकै वार्षिक कार्यक्रममार्फत सीडीएमए सेवा बन्द गर्ने घोषणा गरेको थियो । त्यसपछि जीएसएम सेवा उपलब्ध रहेका क्षेत्रका प्रयोगकर्ताहरू आफैं धमाधम थ्रीजी तथा फोरजी सेवामा स्थानान्तरण हुन थालेको कम्पनीले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण अगाडि बढ्न नसकेको सीडीएमए सेवा विस्थापनको कामलाई कम्पनीले यस वर्ष सम्पन्न गर्ने गरी आफ्नो वार्षिक कार्यक्रम तय गरेको छ । कोभिडले थप चुनौति सिर्जना नगरेको खण्डमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अर्थात आउँदो चैतसम्ममा सीडीएमए सेवा बन्द गर्नेछ ।

कम्पनीले करिब १६ वर्ष अघि नेपालमै पहिलो पटक सीडीएमए मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । यसका लागि ८५० मेगाहर्ज ब्याण्डको १० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गरिरहेको कम्पनीले यो सेवा बन्द गर्ने भएपछि ४ मेगाहर्ज नियामकलाई फिर्ता गरिसकेको छ । हाल छ मेगाहर्जमा चलिरहेको यो सेवाबाट क्रमशः बाँकी फ्रिक्वेन्सी समेत फिर्ता गर्ने कम्पनीको योजना छ ।

‘सीडीएमए सेवा पूर्ण रुपमा शट डाउन भइसकेपछि यसमा प्रयोग भइरहेको सबै फ्रिक्वेन्सी नियामकलाई फिर्ता गर्छौं,’ कम्पनीको मोबाइल सेवा निर्देशनालयकी निर्देशक मिनु प्रधानले जानकारी दिइन् । कम्पनीले सीडीएमए सेवालाई फोरजी तथा भीओएलटीई सेवाबाट प्रतिस्थापन गर्ने लक्ष्य अनुरूप ग्राहकलाई त्यसतर्फ प्रोत्साहन गर्ने कार्यक्रम समेत ल्याएको छ ।

जसअनुसार सीडीएमए ग्राहकलाई भीओएलटीई सहितका फिचर फोन र वाई-फाई राउटर सहितको एलटीई इनडोर सीपीई उपलब्ध गराइनेछ । जसमा आकर्षक अफर समेत रहने कम्पनीको वार्षिक कार्यक्रमबाट थाहा हुन आएको छ । तर टेलिकमले कस्तो किसिमको अफर ल्याउँछ भन्ने विषय चाहिँ अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

सीडीएमए प्रयोगकर्तालाई जीएसएममा स्थानान्तरण गर्न उपलब्ध गराइने उपकरण र अफर निःशुल्क भने नहुने प्रधानले जानकारी दिएकी छन् । उनका अनुसार बजारको तुलनामा आकर्षक मूल्यमा मोबाइल तथा वाईफाई राउटरहरू उपलब्ध हुने अपेक्षा गरिएको छ ।

हिमाली भेगमा कम्पनीका सीडीएमए फोन प्रयोगकर्ताको संख्या धेरै छ । त्यसैले त्यहाँका प्रयोगकर्तालाई फोनसहितको प्याकेज उपलब्ध गराउने योजना टेलिकमले बनाएको हो । यसका लागि कम्पनीले गाउँगाउँमा प्रवर्द्धन गर्ने अभियान सहित टिम समेत परिचालन गर्ने बताइएको छ ।

‘सीडीएम मोबाइल प्रयोगकर्तालाई लक्षित गरेर भोल्टे सहितको फिचर फोन र सीडीएमए ईभीडीओ प्रयोगकर्ताका लागि सीपीई राउटरको योजना अगाडि सारिएको हो,’ निर्देशक प्रधानले टेकपानासँगको कुराकानीमा भनिन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षतामा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नै नेपाल टेलिकमले दिँदै आएको सीडीएमए सेवा सन् २०२२ देखि बन्द गर्ने निर्णय गरेको थियो । कम्पनीले सीडीएमए मोबाइल फोन प्रतिस्थापनका लागि आगामी आर्थिक वर्ष २०७८/७९ का लागि तयार पारेको वार्षिक कार्यक्रममा १३ करोड ६८ लाख ३९ हजार बजेट छुट्याएको छ ।

त्यस्तै सीडीएमएमा आधारित ईभीडीओ ग्राहकलाई प्रतिस्थापन गर्न वाई-फाई राउटर सहितको एलटीई इनडोर सीपीई खरिदका लागि ११ करोड १५ लाख ८१ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१