close

फेसबुक म्यासेन्जर प्रयोग नगर्न साइबर सुरक्षा विज्ञको आपतकालीन चेतावनी

टेकपाना टेकपाना

असार ३१, २०७८ १०:२

फेसबुक म्यासेन्जर प्रयोग नगर्न साइबर सुरक्षा विज्ञको आपतकालीन चेतावनी

काठमाडौं । फेसबुक म्यासेन्जरमा सुरक्षा अपडेट ल्याउन ढिलाइ भएको भन्दै सुरक्षा विशेषज्ञले प्रयोगकर्तालाई आपतकालीन चेतावनी दिएका छन् । उनीहरुले एन्ड्रोइड र आईओएस प्रयोगकर्तालाई तत्काल यो एपबाट टाढा हुन आग्रह गरेका छन् ।

फेसबुककै अर्को म्यासेजिङ एप ह्वाट्सएपमा जस्तै म्यासेन्जरमा इन्ड-टु-इन्ड इन्क्रिप्सन लागू नभएका कारण प्रयाेगकर्ताकाे प्राइभेसी र कन्टेन्ट जोखिममा रहेको चेतावनी उनीहरुले दिएका हुन् ।

‘तपाईंले आफ्ना व्यक्तिगत कुराकानी ह्वाट्सएप, सिंगललगायतका सुरक्षित एपबाट गर्न सक्नुहुन्छ,’ साइबर सुरक्षा विज्ञ ज्याक डोफम्यानले फाेर्ब्समा लेख लेख्दै भनेका छन, ‘सुन्दा अच्चम्म लाग्न सक्छ । तर, यो यथार्थ हो । अहिले दुई डिभाइसबाट म्यासेन्जरमा हुने कुराकानी तेस्राे पक्षले पहुँच राख्न सक्छ ।’

उनले लेखेका छन्, ‘हामी धेरैलाई थाहा नहुन सक्छ फेसबुक म्यासेन्जरमा हालसम्म इन्ड–टु–इन्ड इन्क्रिप्सन सेवा स्वतः रुपमा लागू गरिएकाे छैन । तपाईंले आफैंले सेटिङमा गएर यसलाई प्राइभेट कन्भर्सेसन गर्न भने सक्नुहुनेछ । तर, यो फिचर ग्रुप च्याटमा छैन ।’

यो सुरक्षा कमजोरीको विषयमा फेसबुक कम्पनी पनि पक्कै जानकार छ । केही समय अघिमात्रै उसले म्यासेन्जरमा पनि इन्ड–टु–इन्ड इन्क्रिप्सन सर्भिस उपलब्ध गराउने घाेषणा गरेकाे छ । याे फिचर आगामी वर्ष २०२२ मा प्रयोगकर्तामाझ उपलब्ध हुने अपेक्षा गरिएको छ ।

‘हामी इन्ड–टु–इन्ड इन्क्रिप्सन हाम्रा सबै म्यासेजिङ एपमा उपलब्ध गराउने तयारी गरिरहेका छौ,’ फेसबुकले भनेकाे छ, ‘जसले प्रयोगकर्ताको प्राइभेट म्यासेजमा सेन्डर र रिसिभरले मात्रै एक्सेस गर्न सक्नेछन् । यसको अर्थ उक्त म्यासेजमा हाम्रो पनि कुनै एक्सेस हुने छैन ।’

इन्ड–टु–इन्ड इन्क्रिप्सन लागू नहुँदासम्म सुरक्षाका लागि फेसबुक म्यासेन्जर जाेखिम नै रहेकाले साइबर सुरक्षा विज्ञले यसकाे प्रयाेग नगर्न सुझाव दिएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१