close

कति ओटा स्मार्टफोन चलाउँछन्, गुगलका सीईओ सुन्दर पिचाई ?

टेकपाना टेकपाना

असार ३०, २०७८ २२:४९

कति ओटा स्मार्टफोन चलाउँछन्, गुगलका सीईओ सुन्दर पिचाई ?

काठमाडौं । गुगलका सीई‌ओ सुन्दर पिचाईले नयाँ पिँढीलाई प्रविधि सिक्न र जिम्मेवार बन्न आवश्यक रहेको सल्लाह दिएका छन् । आगामी दिनमा मानव जीवनका लागि प्रविधि अझ महत्वपूर्ण बन्ने भन्दै उनले यस्तो सुझाव दिएका हुन् ।

‘सधैं प्रविधिको विषयलाई देखाएर हामीमा डर पैदा गराइएको छ,’ उनले भनेका छन्, ‘तर यो नोक्सानदायी छैन ।’ पिचाईसँग उनले आफ्ना बालबालिकालाई ग्याजेट तथा डिभाइसको स्क्रिनमा कति समय बिताउन दिन्छन् भन्ने कुरा सोधिएको थियो ।

जवाफमा उनले ग्याजेटसँग समय विताउने निर्णय व्यक्तिगत हुने जवाफ दिए । उनी यस विषयमा आफ्ना बालबालिकालाई यस विषयमा रोकतोक लगाउँदैनन् ।

भारतीय मूलका पिचाईले बीबीसीसँगको कुराकानीमा ग्याजेट सम्बन्धी आफ्नो बानी व्यवहारको विषयमा समेत खुलाएका छन् । सामान्यतया यस्ता दिग्गज व्यक्तिको जीवनयापन तथा बानी व्यवहारबाट धेरै कुरा सिक्ने अवसर समेत मिल्छ ।

उनी आफ्नो पासवर्ड कति समयमा फेर्ने गर्दछन् भन्ने विषयमा समेत सोधिएको थियो । जवाफमा उनले आफूले बारम्बार पासवर्ड फेर्ने नगरेको बताए । बरु यसको साटो सुरक्षाका लागि टु फ्याक्टर अथेन्टिकेसन अपनाउन उनले सल्लाह दिए ।

यसबाट कयौं प्रकारको सुरक्षा प्राप्त हुन्छ र बारम्बार पासवर्ड परिवर्तन गर्दा बिर्सिने अथवा झुक्किने सम्भावना समेत रहन्छ । अन्तर्वार्ताका क्रममा पिचाईलाई उनको साथमा कति फोन छन् भन्ने विषयमा समेत सोधिएको थियो ।

जवाफमा उनले आफ्नो साथमा २० भन्दा बढी फोन रहेको बताए । यद्यपि उनले हरेक फोनलाई अलग अलग कामका लागि उपयोग गर्ने गरेको उल्लेख गरेका छन् । ‘म लगातार रुपमा फोन परिवर्तन गरिरहन्छु र नयाँ नयाँ फोनको अनुभव गरिरहन्छु,’ उनले भनेका छन्, ‘अनि समय समयमा फोन परीक्षण समेत गरिरहन्छु ।’ सुन्दर पिचाईले आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा समेत बताएका छन् ।

उनले यसलाई सबैभन्दा महत्वपूर्ण र क्रान्तिकारी प्रविधि बताएका छन् । जसलाई मानवले बनाएको हो । ‘यसको तुलना बिजुली वा इन्टरनेट जस्ता आविष्कारसँग गर्न सकिन्छ । तर कहिले काहीँ त यो त्यसभन्दा पनि बढी महत्वपूर्ण लाग्दछ,’ पिचाईले भनेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१