close

बक्यौता तिर्न स्मार्ट टेलिकमलाई थप ६ महिना

टेकपाना टेकपाना

असार ३१, २०७८ १६:४३

बक्यौता तिर्न स्मार्ट टेलिकमलाई थप ६ महिना

काठमाडौं । नेपालको तेस्रो ठूलो टेलिकम कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम बुझाउनका सरकारले थप ६ महिना उपलब्ध गराएको छ । असार मसान्तसम्म बुझाउनुपर्ने बक्यौता कोभिड-१९ का कारण बुझाउन थप समय आवश्यक परेको भन्दै स्मार्टले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाएर थप एक वर्षको समय माग गरेको थियो ।

तर, सरकारले भने हाललाई ६ महिना उपल्ब्ध गराउने निर्णय गरेको छ । स्मार्टले यही असार मसान्तसम्म सरकारलाई चार अर्ब ८५ करोड रुपैयाँ बुझाउनु पर्नेछ । विभिन्न चरणको किस्ताका साथै फ्रिक्वेन्सी लगायतको शुल्क बक्यौताका रुपमा रहेको छ ।

जसका कारण यसअघि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्टको अनुमति खारेज गर्ने निर्णय गरेको थियो । तर, सरकारले स्मार्टलाई विभिन्न सयमा बक्यौता रकम बुझाउने समय थप गर्दै आएको छ ।

दुई लाखभन्दा बढी प्रयोगकर्ता रहेको स्मार्ट हाल लगानी भित्र्याउने तयारीमा छ । लगानी भित्र्याएर सेवा विस्तारमा जाने तयारी गरिरहेको कम्पनीलाई सरकारले पनि सहज बाटो खोलिदिएको हो । योसँगै कम्पनीले उक्त अवधिमा लगानी भित्र्याउने लगायतको आवश्यक प्रक्रिया पुरा गर्ने तयारी गरिरहेको कम्पनी स्रोतले जनाएको छ ।

अर्कोतर्फ सरकारले पनि अब थप भएको ६ महिनाको अवधिमा प्राधिकरणलाई दूरसञ्चार कम्पनीको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने सम्बन्धमा कानून तयार गरी पेस गर्न भनेको छ ।

प्राधिकरणले दूरसञ्चार कम्पनीको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने सम्बन्धमा कानून तयार पारी मन्त्रालयमा यसअघि नै पठाइसकेको छ । तर, उक्त कानून अघि बढ्न नसकेको खण्डमा पूनः प्राधिकरणलाई कानून पेस गर्ने निर्देशन सरकारले दिएको छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले भने, ‘सरकारले दूरसञ्चार कम्पनीको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने सम्बन्धमा कानून निर्माण गरी मन्त्रालयमा पेस गर्न भनेको छ । साथै स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन गर्नसमेत निर्देशन दिएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१