close

२ खर्ब ६३ अर्ब बढीको आईपीओ जारी गर्दै पेटीएम

टेकपाना टेकपाना

साउन १, २०७८ १७:४९

२ खर्ब ६३ अर्ब बढीको आईपीओ जारी गर्दै पेटीएम

काठमाडौं । भारतको एक मूल्यवान स्टार्टअप कम्पनी पेटीएमले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २.२ बिलियन डलर अर्थात २ खर्ब ६३ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको आइपीओ जारी गर्ने भएको हो ।

आईपीओमार्फत कम्पनी विस्तारका लागि आवश्यक रकम संकलन गर्ने योजनाका साथ यस्तो तयारी गरेको जनाइएको छ । भारतको नोयडामा मुख्य कार्यालय रहेको पेटीएममा अलिबाबा ग्रुप, वर्कशायर ह्याथवे, सफ्टबैंक लगायत कम्पनीकाे लगानी रहेको छ ।

कम्पनीले भारतमा फोनपे तथा गुगल पेसँग प्रतिस्पर्धा गरिरहेको छ । नयाँ लगानी पाँच सय ७७ मिलियन डलर मार्फत आफ्नो पेमेन्ट बजार विस्तार गर्ने तयारी गरिरहेको कम्पनीले थप लगानीको लागि आईपीओ मार्फत रकम संकलन गर्ने योजना बनाएको हो ।

यसका साथै कम्पनीले केही अन्य कम्पनी खरिद गर्ने योजना समेत बनाएको बताइएको छ । हालसम्म कुन कम्पनी खरिद गर्ने भन्ने विषयमा कुनै जानकारी बाहिर नआए पनि त्यसका लागि २६९ मिलियन डलर खर्च गर्ने जनाइएको छ ।

सन् २००९ मा स्थापना भएको पेटीएमका हाल ३३ करोड ३० लाख भन्दा बढी  प्रयोगकर्ता रहेका छन् । त्यसमध्ये ११ करोड ४० लाख मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१