close

हार्मोनी ओएससहित ‘ह्वावे पी५० सिरिज’ साउन १४ मा सार्वजनिक हुँदै

टेकपाना टेकपाना

साउन ३, २०७८ ९:२७

हार्मोनी ओएससहित ‘ह्वावे पी५० सिरिज’ साउन १४ मा सार्वजनिक हुँदै

काठमाडौं । पछिल्लो समय ह्वावेको पी ५० सिरिजका नयाँ स्पेसिफिकेशन लिक भइरहेका छन् । ह्वावेको पी सिरिजअन्तर्गत बहुप्रतिक्षित लाइनअपका रुपमा पी ५० आउँदो जुलाई २९ (साउन १४) मा सार्वजनिक हुने भएको छ ।

ह्वावे इन्साइडरले सार्वजनिक हुने मिति खुलासा गर्दै केही फिचरसमेत बाहिर ल्याएको छ । यसअन्तर्गत ह्वावे पी५० स्न्यापड्रागन ८८८ को फोरजी भर्सनको चिपसेटसहित सार्वजनिक हुने भएकाे छ ।

यसअघि ह्वावेको पी५० सिरिज किरिन चिपसेटका साथ बजार उपलब्ध हुने जनाइएको थियो । अमेरिकामा प्रतिबन्ध खेपिरहेको ह्वावेले आफूले प्रयोग गर्दै आएको किरिन चिपसेटको आपूर्तिमा समेत असहजता भएसँगै स्न्यापड्रागन चिपसेट प्रयोगमा ल्याउने भएको छ ।

प्राप्त जानकारी अनुसार हाल किरिन चिपसेटको आपूर्ति सीमित मात्रमा भइरहेको छ र स्टकमा रहेका चिपसेट पी५० सिरिजका लागि अपुग हुने भएपछि कम्पनीले क्वालकमको स्न्यापड्रागन चिपसेट प्रयोगमा ल्याउने तयारी गरेको हो ।

अमेरिकाले फाइभजी प्रविधिमा ह्वावेलाई प्रतिबन्ध लगाएकाले कम्पनीले सार्वजनिक गर्ने उक्त फोनमा स्न्यापड्रागन ८८८ को फोरजी भर्सनको चिपसेट उपलब्ध हुने अनुमान गरिएको छ । यसको अर्थ ह्वावे पी ५० फोरजी फोनको रुपमा बजारमा आउनेछ ।

यो फोनमा ह्वावेको आफ्नै अपरेटिङ सिस्टम हार्मोनी ओएस रहेको छ । प्रिमियम सेग्मेन्टको स्मार्टफोनका रुपमा आउने फोनमा ६० वाट चार्जिङ सिस्टम हुने अनुमान गरिएकाे छ । चाइनिज थ्रीसी सर्टिफिकेसन अथोरोटिको वेबसाइटबाट प्राप्त जानकारीअनुसार कम्पनीले ६० वाट चार्जिङ सिस्टमको अनुमति लिएको छ, जुन पी ५० मा उपलब्ध हुने अनुमान छ ।

यो फोनमा सुधारिएकाे वाइड एङ्गल क्यामेरा, अल्ट्रावाइड, टेलिफोटो (नन पेरिस्कोप) आउने अनुमान गरिएको छ । लिक भएको फोटोअनुसार यो मोडल ४ कलर अप्सनमा उपलब्ध हुने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१