close

नयाँ मोबाइल किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस् आफ्ना लागि उपयुक्त फोन

टेकपाना टेकपाना

साउन ३, २०७८ १४:१२

नयाँ मोबाइल किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस् आफ्ना लागि उपयुक्त फोन

काठमाडौं । पछिल्लो समय एकपछि अर्को नयाँ स्मार्टफोन बजारमा आइरहेका छन् । यस्तोमा कुन फोन लिने भनेर पक्कै पनि दुविधा उत्पन्न हुने गर्छ ।

यदि तपाईं नयाँ मोबाइल खरिद गर्ने योजनामा हुनुहुन्छ र आफ्नो लागि उपयुक्त फोन चयन गर्ने कुरामा अलमलमा हुनुहुन्छ भने आज हामी तपाईंलाई उपयोगी हुने जानकारी दिँदै छौं । यी विषयहरूलाई ध्यानमा राखेर स्मार्टफोन खरिद गर्नुभयो भने तपाईंलाई सम्भवतः पछुताउनुपर्ने अवस्था आउने छैन ।

स्मार्टफोन खरिद गर्ने विषयमा सबैभन्दा पहिलो कुरा बजेटकै हो । यदि तपाईंले कति मूल्यको मोबाइल खरिद गर्ने भनेर सोचिसक्नु भएको छ भने तपाईंले त्यही रेञ्जमा उपयुक्त विकल्प रोज्नुपर्ने हुन्छ ।

बजेट तय गरिसकेको अवस्थामा आफ्नो लागि उपयुक्त स्मार्टफोन चयन गर्न त्यति कठीन छैन । किन भने तपाईंले बजेट र फिचर अनुसार उपलब्ध विकल्पहरुबीच तुलना गरेर सही फोन छान्न सक्नुहुन्छ । 

अपरेटिङ सिस्टम

नयाँ स्मार्टफोन खरिद गर्दाको समयमा केवल त्यसको लुक्समा मात्र ध्यान नदिनुहोस् । बरु त्यसमा पछिल्लो अपरेटिङ सिस्टम छ कि छैन भन्ने कुरा यकिन गर्नुहोस् । एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि त झन् यो विषय अझ महत्वपूर्ण हुन्छ ।

किन कि पछिल्लो अपरेटिङ सिस्टममा कयौं नयाँ र उपयोगी फिचरहरू हुने गर्दछन् । त्यसका साथै फोन चलाउँदाको अनुभव पनि उही स्तरमा फरक पर्छ । त्यसका साथै एउटा भर्सनमा किनेको मोबाइलमा अपरेटिङ सिस्टमको अर्को भर्सनको अपडेट आउने कुनै ठेगान हुँदैन । 

प्रोसेसरलाई बेवास्ता नगर्नुहोस्

स्मार्टफोनको पर्फर्मेन्स कस्तो हुने भन्ने सबै कुरा धेरै हदसम्म त्यसमा प्रयोग गरिएको प्रोसेसरमा निर्भर हुने गर्दछ । यदि तपाईं नयाँ स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ भने त्यसमा कुन प्रोसेसर प्रयोग गरिएको छ भन्ने कुरा ख्याल गर्नुहोस् ।

सकेसम्म स्न्यापड्रागन ७३० जी देखि ८८८ सम्मको प्रोसेसर भएको स्मार्टफोन हेर्नुहोस् । जसले गर्दा तपाईंलाई मोबाइलको पर्फर्मेन्समा गुनासो रहने छैन र गेमिङ एक्सपिरियन्स समेत आनन्ददायी हुनेछ । 

क्यामेरा

आजकलका प्रयोगकर्ताले मोबाइललाई नै क्यामेराको रुपमा समेत प्रयोग गरिरहेका हुन्छन् । त्यसैले त कुनै पनि प्रयोगकर्ताले नयाँ स्मार्टफोन खरिद गर्दा सुरुमा हेर्ने अथवा सोध्ने भनेकै क्यामेरा फिचरको विषय हो ।

यदि तपाईं फोटोग्राफी र भिडिओग्राफीमा रुची राख्नुहुन्छ भने बजेट रेञ्जमै राम्रो क्यामेरा भएका कयौं विकल्प छन् । तर क्यामेराको विषयमा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा मेगापिक्सेलभन्दा त्यस सम्बन्धी अन्य फिचर हुन् । 

ब्याट्री

स्मार्टफोनको प्रयोग यतिसम्म बढेको छ कि तपाईं आफ्नो धेरैजसो समय फोनमै बिताइदिन सक्नुहुन्छ । खासगरी यतिखेर त झन् वर्क फ्रम होम र अनलाइन कक्षा जस्ता उपयोगी काम समेत फोनमै निर्भर हुने अवस्था बनेको छ ।

यस्तोमा फोनको ब्याट्री अर्को महत्वपूर्ण विषय हुन जान्छ । त्यसैले धेरै क्षमता भएको ब्याट्री र फास्ट चार्जिङ सपोर्ट तपाईंको मुख्य सरोकारको विषय हुनुपर्छ । जसले गर्दा भोलिको दिनमा तपाईंलाई ब्याट्रीको समस्या नआओस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१