close

बझाङमा टेलिफोन र इन्टरनेट सेवा अवरूद्ध

टेकपाना टेकपाना

साउन ५, २०७८ ९:१३

बझाङ । विगत केही दिनदेखि लगातार परेको वर्षाका कारण घाम नलाग्दा बझाङका टेलिफोन टावरहरूमा राखिएका सोलारमा चार्ज नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

सोलारको विकल्पमा जेनेरेटर राखिएका स्थान सदरमुकाम चैनपुर र बाताको टावरबाट टेलिफोन सेवा सञ्चालन भइरहे पनि बझाङका अन्य २० वटा भन्दा बढी टेलिफोन टावरबाट विस्तार गरिएको नेटवर्कको सोलारमा चार्ज नभएपछि अवरुद्ध भएको छ ।

खप्तड छान्ना गाउँपालिकालगायत त्यस आसपासका क्षेत्रहरूलाई लक्षित गरेर चौका र गडरायको डाँडामा टेलिकमको टावर राखिएको भए तापनि त्यहाँ जडान गरिएका सोलार केही दिनयता चार्ज नहुँदा त्यस क्षेत्रमा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

खप्तड छान्ना गाउँपालिका–४ का ईश्वर रोकायाले भने, ‘केही दिनदेखि यस क्षेत्रका सबै ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएकाले टेलिफोन गर्न निकै समस्या भएको छ ।’

खप्तड छान्ना जस्तै बित्थडचिर गाउँपालिकालगायत बुङंगल नगरपालिका, सुर्मा, मष्टा, तल्कोट, साइपाल, दुर्गाथली र छबीस पाथिभेरा गाउँपालिकामा पनि टेलिफोन सेवा पूर्णरूपले विच्छेद भएको बुझिएको छ ।

टेलिफोन तथा इन्टरनेट सेवा नहुँदा व्यक्तिगत र कार्यालय प्रयोजनमा समेत बाधा पुगेको छ । नेपाल टेलिकमले बझाङका ग्रामीण भेगमा जीएसएम र सीडीएमए सेवा विस्तार गरेको थियो ।

सदरमुकाम चैनपुरमा रहेको टावर र बातालेकमा रहेको टावरमा जेनेटर हुँदा टेलिफोन नेटवर्कलाई सिस्टममा ल्याउन सजिलो भएको बताउँदै नेपाल टेलिकम शाखाका निमित्त प्रमुख बमबहादुर सिंहले भने, ‘अन्य टावरमा सोलार प्यानलबाट चार्ज नहुँदा लामो समय पानी परेकाे र बादल लागेको दिन नेटवर्क अवरुद्ध हुनेगगरेको छ ।

बझाङ जिल्लामा नेपाल टेलिकमलगायत अन्य कम्पनीका झण्डै २५ वटाभन्दा बढी टेलिफोन टावर रहेका छन् । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: चैत १५, २०८० ४:५७