close

कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’ को तयारी

टेकपाना टेकपाना

साउन ६, २०७८ ७:४०

कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’ को तयारी

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ केन्द्रीय महाधिवेशनमा डिजिटल प्रविधिको प्रयोग गर्ने गरी तयारी अगाडि बढाएको छ । पार्टीले निर्णय गरेमा केन्द्रीय र सातवटै प्रदेशको अधिवेशन आयोजनाका साथै मतदान कार्य पनि डिजिटल प्रविधिको प्रयोगबाट हुन सक्ने छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी डिजिटल माध्यमबाट अधिवेशन गर्नका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । तर डिजिटल माध्यमबाट अधिवेशन गर्ने या नगर्ने भन्ने विषयमा केन्द्रीय समितिले नीतिगत निर्णय गर्नुपर्ने हुन्छ ।

उनले केन्द्रीय समितिले आवश्यक ठहर गर्दा सूचना, सञ्चार तथा प्रसार विभाग सोका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । पार्टीले यस्तो प्रविधिमा जाने निर्णय गरेको अवस्थामा महाधिवेशन प्रतिनिधिले जिल्लाबाटै केन्द्रीय महाधिवेशनमा आफूलाई उपयुक्त लागेको उम्मेदवारलाई मतदान गर्न सक्ने छन् भने महाधिवेशनको नतिजासमेत छिटो आउने छ ।

पार्टीका प्रवक्ता शर्माले समय छोटो भएकोले जिल्ला, क्षेत्र, नगर र पालिका स्तरको अधिवेशनमा यो प्रविधिको प्रयोग गर्न सकिने अवस्था नभएको प्रस्ट पारे ।

डिजिटल मतदानको नमुना प्रदर्शनीको आन्तरिक कार्ययोजनासमेत तय गरिएको र जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरूको नेटवर्क तयार गरिएको जानकारी पार्टीले दिएको छ । यसैबीच कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको हालै सम्पन्न तेस्रो पूर्ण बैठकले सो विभागले पार्टीको १४औंँ महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्ने निर्णय गरेको छ ।

यस क्रममा पार्टीको वेबसाइटलाई आधुनिकीकरण र क्रियाशील सदस्यताको अभिलेखीकरण (डेटा इन्ट्री) गर्ने कामसमेत भइरहेको र केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव दिनेश थापा मगरलाई दिइएको छ । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५