close

ह्वावेको बहुप्रतिक्षित फ्ल्यागशिप सिरिज ‘पी५०’ बिहीवार सार्वजनिक हुँदै

टेकपाना टेकपाना

साउन ११, २०७८ १३:३६

ह्वावेको बहुप्रतिक्षित फ्ल्यागशिप सिरिज ‘पी५०’ बिहीवार सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ कम्पनी ह्वावेका लागि विगतका दुई वर्ष अत्यन्तै कस्टकर रह्यो । व्यापारिक द्वन्द्वका कारण सन् २०१९ देखि ह्वावेमाथि अमेरिकाले लगाएको प्रतिबन्धका कारण कम्पनीले एन्ड्रोइडका साथै गुगलका अन्य प्रडक्ट प्रयोग गर्न पाएको छैन । जसले गर्दा हालसम्म पुरानो एन्ड्रोइडमै कम्पनीका फोन चलिरहेका छन् ।

गुगलका चर्चित एप, जीमेल, गुगल म्याप, प्ले स्टोरजस्ता महत्वपूर्ण सर्भिसमा लगाइएको प्रतिबन्धले चिनियाँ प्रयोगकर्तालाई त कुनै असर नपर्ला । तर, कम्पनीको बजार भने विगत दुई वर्षको आवधिमा घट्दै गएको छ । कुनै समय विश्वको दोस्रो ठूलो स्मार्टफोन कम्पनीको रुपमा स्थापित भइसकेको कम्पनी हाल उत्कृष्ट ५ भित्र पनि छैन ।

यति ठूलो क्षति बेहाेरेकाे ह्वावे विश्व बजारमा लडाईं नगरी पछि हट्ने अवस्थामा भने देखिँदैन । कम्पनीले यसअघि नै आफ्नै छुट्टै ‘एप ग्यालरी’ सार्वजनिक गरिसकेको छ । भने, अब हार्मोनी ओएमार्फत एन्ड्रोइडलाई विस्थापित गर्दै छ ।

सोही ओएसमा आधारित भएर कम्पनीको पहिलो स्मार्टफोनको रुपमा ‘पी५० प्रो’ यही हप्ताको अन्त्यतिर सार्वजनिक हुनसक्ने देखिएको छ । कम्पनीले आउँदो बिहीवार अर्थात २९ तारिख विशेष कार्यक्रमको घोषण गरेको छ । जहाँ कम्पनीले नयाँ प्रडक्ट प्रयोगकर्तामाझ प्रस्तुत गर्ने जनाएको छ ।

कम्पनीले उक्त कार्यक्रममा ठ्याक्कै कुन प्रडक्ट सार्वजनिक गर्ने भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । तर, ह्वावे पी ५० सिरिजको स्मार्टफोनमा लामो समयदेखि काम गरिरहेकाे र हालै टिजरसमेत सार्वजनिक गरेकाले विश्लेषकहरूले ‘पी५० प्रो’ सार्वजनिक हुने अनुमान गरेका छन् ।

जीएसएम एरेनाकाे रिपाेर्टअनुसार याे फाेन चीनसहित विश्वबजारमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१