काठमाडौं । एप्पलले आईफोन तथा आईक्लाउडमा रहेका दुर्व्यवहार जन्य फोटो स्क्यान गर्ने योजना बनाएको छ । यो नयाँ सिस्टमले कानून कार्यान्वयन गर्ने निकायहरूलाई अपराध अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तर यससँगै प्रयोगकर्ताको डेटामाथि यसले गम्भीर धक्का पुर्याउन सक्ने जोखिम पनि उत्तिकै छ । ‘न्युरलम्याच’ नामक यो सिस्टमले गैरकानूनी तस्वीर फेला पारेको खन्डमा मानवीय समीक्षाका लागि अलर्ट दिनेछ । फाइनान्सियल टाइम्सले बताए अनुसार यस्तोमा त्यसको प्रमाणीकरणका लागि प्रहरी तथा कानून कार्यान्वयन गर्ने निकायसँग सम्पर्क गरिनेछ ।
बेपत्ता तथा शोषणमा परेका बालबालिका सम्बन्धी राष्ट्रिय केन्द्रको सहयोगमा प्राप्त दुई लाख तस्वीर मार्फत न्युरलम्याच उपकरणलाई तालिम दिइएको छ । पहिलो चरणमा अमेरिकामा सार्वजनिक हुने बताइएको यो फिचरले डेटाबेसमा रहेका बाल यौन दुर्व्यवहार जन्य तस्वीरसँग फोटोलाई तुलना गर्नेछ ।
‘यो योजनाको बारेमा ब्रिफिङ गरिएका व्यक्तिहरूका अनुसार अमेरिकाबाट आईक्लाउडमा अपलोड हुने प्रत्येक तस्वीरमा सेफ्टी भौचर उपलब्ध हुनेछ, जसमा सन्देहास्पद छ वा छैन, उल्लेख गरिएको हुनेछ, ‘ फाइनान्सियल टाइम्सले लेखेको छ ।
‘जब निश्चित सङ्ख्यामा रहेका फोटोहरू सन्देहास्पद (Suspect) अंकित हुन्छन्, एप्पलले त्यस्ता सबै फोटोका लागि डिक्रिप्ट गरिदिनेछ र गैरकानूनी रहेको ठहर भएमा सम्बन्धित कानूनी अधिकार प्राप्त निकायमा पठाइनेछ ।’ जोन हप्किन्स युनिभर्सिटीका प्रोफेसर तथा क्रिप्टोग्राफर म्याथ्यु ग्रिनले यसप्रति चासो व्यक्त गर्दै बुधबार एउटा ट्वीट गरेका छन् ।
त्यसमा उनले लेखेका छन्, ‘यस किसिमका उपकरण मानिसहरूका फोनमा रहेका ‘चाइल्ड पोर्नोग्राफी’ (बाल यौन शोषण) पत्ता लगाउन बरदान सावित हुनसक्छन् ।’ ‘तर कल्पना गर्नुहोस् त, निरंकुश सरकारको हातमा यस्ता उपकरण भएको खण्डमा के होला ? एप्पलले यस किसिमका उपकरण दुरुपयोग हुन नदिनेमा विश्वास गर्ने हो भने पनि यो सरोकारको विषय हो ।’
त्यसो त अन्य क्लाउड सेवा प्रदायकले जस्तै एप्पलले आईक्लाउड फाइललाई बाल दुर्व्यवहार जन्य तस्वीरसँग मिलाएर जाँच गर्न सुरु गरिसकेको छ । तर यो नयाँ सिस्टमले भने प्रयोगकर्ताको लोकल स्टोरेजमा समेत केन्द्रीय स्तरको पहुँच बनाउनेछ ।
फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार एप्पलले आईम्यासेजमा एउटा नयाँ टुल समावेश गर्दैछ, जसले बाल यौन शोषण भएका फोटोहरू भेटिए चेतावनी दिनेछ । यसैवर्ष ‘आईओएस १५’, ‘आईप्याडओएस १५’, ‘वाच ओएस ८’ र ‘म्याक ओएस मोन्टेरे’ अपडेटसँगै यो नयाँ फिचर आउनेछ । यस विषयमा तपाईंले एप्पलको वेबसाइटमा गएर थप जानकारी लिन सक्नुहुन्छ ।