close

आर्थिक समृद्धिका लागि सूचना प्रविधिलाई प्राथमिकतामा राख्न सरोकारवालाको आग्रह

टेकपाना टेकपाना

साउन २४, २०७८ १९:१

आर्थिक समृद्धिका लागि सूचना प्रविधिलाई प्राथमिकतामा राख्न सरोकारवालाको आग्रह

काठमाडौं । कम्प्युटर अशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि क्यान महासंघ र यससँग सम्बन्धित संस्थाहरुबीच आगामी दिनमा हुनुपर्ने संस्थागत, कार्यगत र नीतिगत सहकार्य, नेपालमा यो क्षेत्रको विकासका निम्ति आगामी दिनमा आइपर्ने समस्या एवं चुनौतीहरु र नेपालले आगामी दिनमा आईसीटी क्षेत्रको विकासका लागि लिनुपर्ने नीति तथा रणनीतिहरुका बारेमा सुझावहरु दिन सकिने विषयका सन्दर्भमा महासंघले अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नेपालको आर्थिक विकासका निम्ति अबको परिसूचक सूचना प्रविधिको विकास र प्रयोगबाहेक अरु हुन नसक्ने बताए ।

हरेक क्षेत्रको विकासका लागि सूचना प्रविधिको प्रयोगमा अपरिहार्यता रहेकाले पनि आर्थिक समृद्धिका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखि यसको विकास हुनु आवश्यक रहेको अध्यक्ष कुँवरले बताए ।

कार्यक्रममा सूचना प्रविधिका क्षेत्रगत रुपमा काम गरिरहेका संस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने क्यान महासंघको नीति रहेकाले सबै आईसीटीका क्षेत्रगत रुपमा स्थापना भएका संस्थाहरु क्यान महासंघमा विषयगत सदस्यको रुपमा आवद्ध हुनसमेत अध्यक्ष कुँवरले आह्वान गरे ।

कार्यक्रममा क्यान महासंघका महासचिव नारायण थापाले क्यान महासंघले नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास तथा विस्तारका निम्ति निजी तथा गैरसरकारी संस्थाहरुको छाता संगठनका रुपमा नीतिगत तथा कानूनी सुधारका निम्ति गरिरहेको पहल तथा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी नीतिहरुको कार्यान्वयनको वर्तमान अवस्थाका बारेमा प्रकाश पारे ।

नेपाल इन्टरनेट फाउन्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले अन्तर्क्रिया कार्यक्रम तथा क्यान महासंघले गरिरहेका पहलका निम्ति धन्यवाद ब्यक्त गर्दै नेपालमा कार्यान्वयन गर्न सकिने सानासाना पहलहरुले पनि ठूलो परिवर्तन ल्याउनसक्ने तथा समस्याहरु मात्र औंल्याउनुको सट्टा समाधान पनि हामीले नै दिन सक्नुपर्ने विचार राखे ।

नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले आफ्नो संस्थाले हिजोको दिनमा पनि क्यान महासंघसँग सहकार्य गरेको स्मरण गर्दै यस्ता अन्तर्क्रिया कार्यक्रमहरु समयसमयमा आयोजना गरिराख्न क्यान महासंघलाई सुझाव दिए ।

अन्तर्क्रियामा ई विजनेश एसोसिएसनका अध्यक्ष सागरदेव भट्ट, प्राइम आईटी क्लबका अध्यक्ष रुजन श्रेष्ठ तथा महासचिव सृजय श्रेष्ठ, नेपाल मोबाइल वितरक संघका सदस्य राम श्रेष्ठ, नेपाल ईगभर्नन्स सोसाइटीका उपाध्यक्ष दिपेन्द्र पौडेल, स्टार्टअप अशाेसिएशन नेपालका सदस्य नारायण क्षेत्री र नेशनल आईसीटी क्लबका अध्यक्ष नेत्रप्रसाद पौडेलले पनि आआफ्नो धारणा राखेका थिए ।

त्यस्तै डिजिटल मार्केटिङ अशाेसिएशन नेपालका सदस्य निरञ्जन पटेल, सिटिभिटी टेक्नोस सोसाइटी नेपालका अध्यक्ष सञ्जय बस्नेत तथा महासचिव राजन मानन्धर, कम्प्यूटर फ्याकल्टी एसोसिएशन अफ नेपालका कोषाध्यक्ष दिपक ठाकुर तथा केन्द्रीय सदस्य सुवास शिव परियार र नविन अधिकारी, नेपाल डेटा सेन्टर सोसाइटीका प्राविधिक सुरेन्द्र गिरी लगायतले पनि भनाइ राखेका थिए ।

साे अवसरमा क्यान महासंघका उपाध्यक्ष खुशल रेग्मी, सचिव चिरञ्जीवी अधिकारी, सह-कोषाध्यक्ष चन्द्रप्रकाश भूर्तेल, कार्यसमिति सदस्य सुवास खड्का र उप-प्रबन्धक उदिप बराल पनि उपस्थित थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३