close

वैशाखमै प्रारम्भिक सुरुवात भएको ‘नमस्ते पे’ प्रयोग गर्न पाउने कहिले ?

टेकपाना टेकपाना

साउन २४, २०७८ १९:२०

वैशाखमै प्रारम्भिक सुरुवात भएको ‘नमस्ते पे’ प्रयोग गर्न पाउने कहिले ?

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा ल्याउन लागेको मोबाइल मनी ‘नमस्ते पे’ को प्रारम्भिक परीक्षण गत वैशाख १९ मै सुरु भएको हो । तर ‘प्रारम्भिक परीक्षण’मा आएको भनिएको उक्त सेवा तीन महिना बितिसक्दा समेत व्यवसायिक सुरुवातको टुङ्गो छैन ।

चौथो राष्ट्रिय सूचना तथा प्रविधि दिवसका दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमस्ते पेको ‘परीक्षण सुरुवात’ सुरु भएको घोषणा गरेका थिए । इन्टरनेट नभएको अवस्थामा पनि डिजिटल भुक्तानी गर्नसकिने गरी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी) ले ‘नमस्ते पे’ ल्याउने चर्चा सुरु भएको निकै लामो समय भइसकेको छ ।

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा ‘नमस्ते पे’ सार्वजनिक गर्ने तयारी भए पनि प्राविधिक कारणले सम्भव हुन नसकेको बताइएको थियो । प्रोजेक्टमा काम गर्ने भारतीय टिमका अधिकांशलाई कोभिड १९ संक्रमण भएको र त्यसका कारण केही कर्मचारीको ज्यान समेत गएको थियो । जसले गर्दा समयमै सेवा सञ्चालनमा ल्याउन नसकिएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले बताए ।

‘अहिले कम्पनीको सेवा आन्तरिक परीक्षणको क्रममा छ,’ उनले टेकपानासँगको कुराकानीमा भने, ‘सेप्टेम्बर पहिलो हप्तामा (भदौको मध्यतिर) यसको व्यवसायिक सुरुवात गर्ने योजना छ । त्यसै अनुसार अहिले काम सुचारु छ । ’ अधिकारीका अनुसार नेपाल क्लियरिङ हाउस, बैंक तथा वित्तीय संस्था लगायतका कतिपय ठाउँमा सेवा इन्टिग्रेसन (आवद्ध) गराउने काम भइसकेको छ ।

सरकारीस्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे ‘नमस्ते पे’ को चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ, जुन नेपालका अन्य भुक्तानी सेवा प्रदायकभन्दा धेरै हो । कम्पनीले सेवा सञ्चालनका लागि गत चैतमै राष्ट्र बैंकबाट स्वीकृति पाएको थियो ।

सेवा सञ्चालनमा ढिलाई हुँदै  गएपछि टेलिकमका कर्मचारीले समेत दबाब सिर्जना गर्न थालेका छन् । हाल धर्ना सहितको आन्दोलनमा रहेका कर्मचारीहरूले नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेड नमस्ते पे सेवा यथाशीघ्र व्यवसायिक रुपमा सञ्चालनमा ल्याउनुपर्ने माग समेत अघि सारेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३