close

के हो गुगल टिभी ? नेटफ्लिक्स र युट्युवभन्दा कसरी फरक छ ?

टेकपाना टेकपाना

भदौ २, २०७८ १९:४८

के हो गुगल टिभी ? नेटफ्लिक्स र युट्युवभन्दा कसरी फरक छ ?

काठमाडौं । गुगलले गतवर्ष नयाँ टिभी प्लेटफर्मको रुपमा ‘गुगल टिभी’ सञ्चालनमा ल्याएको छ । जुन स्मार्टफोन, टिभी र लेटेस्ट गुगल क्रोमकास्ट लगायतका एन्ड्रोइड डिभाइसमा चलाउन सकिन्छ ।

गुगल टिभीका प्रयोगकर्ताले यसमा नेटफ्लिक्स, अमेजन प्राइम भिडिओ, एप्पल टिभी, डिज्ने प्लस, युट्युव, एचबीओ प्लस लगायतका विभिन्न फरक कन्टेन्ट हेर्न सक्नेछन् ।

यी सुविधाहरू अन्य स्मार्ट प्लेटफर्ममा पनि नभएको भने होइन । यसकारण तपाईंलाई खासै नौलो भने नलाग्न सक्छ ।

तर, गुगलले आफ्ना प्रयोगकर्तालाई छिटो र सहज रुपमा यस्ता सुविधा लिन सकियोस् भनेर यो प्लेटफर्म बजारमा ल्याएको हो । गुगल टिभीले धेरै हेरिएका कन्टेन्टहरू प्रयोगकर्तालाई सिफारिस गर्नेछ ।

गुगल टिभीमा तपाईंले लगातार हेर्दै आउनुभएका कन्टेन्टहरु एक क्लिकमै देखिन्छन् । नेटफ्लिक्स, युट्युवजस्ता विभिन्न एपमा तपाईंको एक्टिभिटी अनुसार सोझै सिफारिस गर्नेछ । यसका साथै गुगलले सबै स्ट्रिमिङ सर्भिसमा उपलब्ध कन्टेन्टलाई मिसाएर प्रयोगकर्तालाई उपलब्ध गराउने छ ।

यसो हुँदा नेटफ्लिक्समा भिडिओ हेर्न नेटफ्लिक्सको एपमा गइरहनु पर्दैन । होम स्क्रिनको हेडमा रुचाइएका र लगातार हेरिएका कन्टेन्टहरु आउने हुनाले समयको बचतसमेत हुन्छ । गुगल टिभीका केही फिचरहरू एन्ड्रोइड टिभीकाे भन्दा फरक छन् ।

गुगल टिभीको अर्को चाखलाग्दो पक्ष भनेको यो चलाउनका लागि स्क्रिनअगाडि बसिरहन पर्दैन । यसर्थ गुगल टिभी प्रयोगकर्तामैत्री छ भन्न सकिन्छ । गुगल टिभीमा आफ्नो चाहनाअनुसार फोनमार्फत नै फिल्म अथवा टिभी कार्यक्रमहरूको सूची तयार गर्न पनि सकिन्छ ।

गुगल टिभीमा भएको स्मार्ट इन्जिनले अगाडि हेरिएका कन्टेन्टहरुका आधारमा कन्टेन्ट सुझाव गर्दछ । कुनै कार्यक्रमसम्बन्धी नयाँ अपडेटको खोजी गरी हेर्न चाहनेका लागि यो एकदमै उपयोगी हुनेछ ।

गुगल टिभी बच्चाका लागि पनि उपयोगी हुन सक्छ । उनीहरूका लागि उमेर समूहअनुसार छुट्टै च्यानलको लिस्ट बनाउन सकिन्छ । अभिभावकले बच्चालाई उपयुक्त हुने किसिमका च्यानल र कार्यक्रमहरू आफ्नै निगरानीमा चलाइदिन सक्छन् ।

यदि तपाइसँगै ‘गुगल नेस्ट’ छ भने पनि तपाइलाई नयाँ गुगल टिभीको सिस्टम मनपर्न सक्छ । गुगल नेस्टको क्यामेरा टिभीसँग कनेक्ट गराएर क्यामेरा-फिड हेर्न सकिने जनाइएको छ ।

यसका साथै अन्य फिचरद्वारा गुगल टिभीमा फोटोहरू स्लाइड गर्न र ब्राइटनेस घटाउन बढाउन मिल्छ । एउटा परिवारका फरक व्यक्तिलाई फरक किसिमका कन्टेन्ट मनपर्नु स्वाभाविक हो, यस्तो अवस्थामा  गुगल टिभीमा फरक-फरक अकाउन्ट बनाएर चलाउन पनि सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१