close

विद्युतका कर्मचारीले ‘लुटेका’ इन्टरनेट उपकरण फिर्ता पाउनुपर्ने भन्दै आइस्पानको उजुरी

टेकपाना टेकपाना

भदौ ४, २०७८ २१:३६

विद्युतका कर्मचारीले ‘लुटेका’ इन्टरनेट उपकरण फिर्ता पाउनुपर्ने भन्दै आइस्पानको उजुरी

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले ‘लुटेको’ दूरसञ्चार उपकरण फिर्ता पाउनुपर्ने माग गरेको छ । संघले शुक्रबार विद्युत प्राधिकरण दरबारमार्ग काठमाडौँमा उजुरी दर्ता गर्दै उपकरण फिर्ता मागेको हो ।

साथै बोधार्थको रुपमा नियामक नेपाल दूरसञ्चार प्राधिकरण, गृह मन्त्रालय, भरतपुर विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा समेत उजुरीको जानकारी दिएको छ । भरतपुर विद्युत प्राधिकरणका कर्मचारीले दूरसञ्चार उपकरण चार दिनसम्म पनि फिर्ता नगर्दा इन्टरनेट सेवा प्रदायकहरूका कर्मचारीहरूले इन्टरनेट समयमा मर्मत गर्न नपाएको र त्यसबाट आम उपभोक्ताले इन्टरनेट प्रयोग गर्न नपाएर अनलाइन शिक्षा, बैंकिङ कारोबार लगायतका सेवाबाट वञ्चित हुनुपरेको आइस्पानले जनाएको छ।

कोभिड-१९ मा डिजिटल शिक्षा, स्वास्थ्य लगायतका संवेदनशील क्षेत्र र सिङ्गो अर्थतन्त्रलाई चलायमान राखिरहेको अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पर्ने गरी दूरसञ्चार उपकरण फिर्ता नगर्दा भरतपुरका आम उपभोक्ताले इन्टरनेट सेवाबाट बञ्चित हुनुपरेको आइस्पानको भनाई छ ।

‘नागरिकका लागि गास, बास, कपाससँगै  इन्टरनेट पनि आधारभूत आवश्यकता भइसकेको छ,’ आइस्पानले भनेको छ । अति आवश्यक सेवाको रुपमा सूचिकृत भइसकेको इन्टरनेट सेवाको तार काट्दा वा दूरसञ्चार उपकरणमा हानी नोक्सानी पुर्‍याउँदा वा त्यस्तो काम गर्ने उद्योग गरेमा कसुरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१