close

सीसीटिभी मनिटरलाई कम्प्युटर भन्दै वर्ष दिनमा १६ करोड झ्वाम् !

टेकपाना टेकपाना

भदौ ६, २०७८ १८:४८

सीसीटिभी मनिटरलाई कम्प्युटर भन्दै वर्ष दिनमा १६ करोड झ्वाम् !

काठमाडौं । सीसीटिभी मनिटर कम्प्युटरको नाममा भित्रिँदा एक वर्षमै १६ करोड १६ लाख ६१ हजार राजस्व गुमेको छ । महालेखा परीक्षकको ५८औँ प्रतिवेदनले भन्सार दर बढी रहेका सीसीटिभी मनिटर सबै कम्प्युटरको नाममा भित्रिएको भन्दै राजस्व गुम्ने गरेको तथ्य औंल्याएको हो ।

प्रतिवेदन अनुसार ४६ करोड ९२ लाख २३ हजार मूल्य बराबरका १९ इन्च वा सोभन्दा कम आकारका ७३ हजार २६ थान मनिटर भित्रिएकोमा त्यसको १३ प्रतिशत मूल्य अभिवृद्धि कर मात्र असुल गरी जाँचपास गरेको देखिन्छ ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट चार हजार थान सीसी क्यामेरासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीरगञ्ज, तातोपानी लगायतका भन्सार कार्यालयबाट गत वर्ष १३ करोड २१ लाख १० हजार मूल्यका ६७ हजार ९०४ थान सीसीटिभी क्यामेरा पैठारी भएको देखिन्छ ।

यस हिसाबले आयातित मनिटरहरू सीसीटिभीमा समेत प्रयोग हुने देखिन्छ । तर भन्सारको तथ्याङ्क परीक्षणका क्रममा भने कुनै पनि मनिटर उक्त प्रयोजनका लागि पैठारी भएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

यसबाट कम्प्युटर प्रयोजन भनेर पैठारी भएकामध्ये न्यूनतम पनि ६७ हजार ९०४ थान मनिटर सीसीटिभी प्रयोजनमा उपयोग हुनसक्ने अवस्था छ । कम्प्युटर बाहेकको प्रयोजनमा प्रयोग हुने मनिटरलाई भन्सार दरबन्दीबाट जाँचपास गरी ३० प्रतिशत भन्सार महशुल र मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेमा फरक भन्सार दरबन्दीबाट जाँचपास गरेका कारण १६ करोड १६ लाख ६१ हजार रुपैयाँ राजस्व गुमेको हो ।

यस सम्बन्धमा पैठारी भएको मनिटरको प्रयोजन यकिन गरी सोही अनुसार महसुल असुल भएको सुनिश्चित गर्नेतर्फ सम्बन्धित कार्यालय एवम् भन्सार विभागको ध्यान जानुपर्ने भन्दै महालेखाले सचेत पारेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१