close

स्मार्टफोनमा यसरी राख्नुहोस् ब्याकअप, हराउँदा समेत सुरक्षित रहनेछ महत्वपूर्ण डेटा

टेकपाना टेकपाना

भदौ ७, २०७८ ९:४५

स्मार्टफोनमा यसरी राख्नुहोस् ब्याकअप, हराउँदा समेत सुरक्षित रहनेछ महत्वपूर्ण डेटा

काठमाडौं । अहिलेको समयमा धेरैजसो मानिसहरुले महत्वपूर्ण जानकारीहरु समेत आफ्नो फोनमै राख्ने गर्दछन् । तर यदि फोन चोरी भयो वा हरायो भने ?

यस्तोमा फोनमा भएका सबै डेटाहरु गुम्न सक्छन् । यदि तपाईंले ती डेटाको ब्याकअप बनाइराख्नु भयो भने फोन हराउँदा वा चोरी हुँदा समेत आफ्ना महत्वपूर्ण फोटो, भिडियो, फाइल लगायतका जानकारीहरु सुरक्षित रुपमा आफूसँगै फिर्ता पाउनुहुनेछ ।

आईफोन र एन्ड्रोइड स्मार्टफोन दुवैमा डेटा ब्याकअपका लागि क्लाउड स्टोरेजको सुविधा उपलब्ध हुन्छ । जसमा निश्चित स्पेस निःशूल्क रुपमा दिइएको हुन्छ ।

यदि तपाईं आईफोन प्रयोग गर्नुहुन्छ भने आईक्लाउडमा पाँच जीबीसम्मको डेटा निःशूल्क रुपमा ब्याकअप राख्न सक्नुहुन्छ । त्यसैगरी गुगलले एन्ड्रोइड डिभाइसका लागि आफ्नो गुगल ड्राइभमा १५ जीबी निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

निःशुल्क उपलब्ध गराइएको सीमाभन्दा बढी स्पेस आवश्यक परेको खण्डमा तपाईंले पैसा तिरेर लिनुपर्ने हुन्छ । यस किसिमका क्लाउडमा आफ्नो डेटा ब्याकअप राख्न एपको सहारा लिनुभयो भने तपाईंलाई सहज हुनेछ ।

सुपर ब्याकअप एण्ड रिस्टोर

यदि तपाईं एन्ड्रोइड स्मार्टफोनका लागि ब्याकअपको विकल्पको खोजिमा हुनुहुन्छ भने सुपर ब्याकअप एण्ड रिस्टोर एप प्रयोग गर्न सक्नुहुन्छ । यसमा प्रयोगकर्तालाई एप डेटा, कन्ट्याक्ट डेटा, कल लग, एसएमएस, लोकल फाइल जस्ता सबै किसिमका डेटा ब्याकअप राख्न सकिने सुविधा दिइएको छ ।

यसबाट तपाईंले आफ्नो मेमोरीकार्डमा रहेको डेटा समेत ब्याकअप राख्न सक्नुहुनेछ । साथसाथै म्यानुअल्ली ब्याकअप राख्न झन्झट नपर्ने गरी यसमा ब्याकअपका लागि स्वचालित समय तालिका सम्बन्धी फिचर (शेड्युल फिचर) पनि दिइएको छ । एपको सेटिङमा गएर ब्याकअपलाई व्यवस्थित गर्न सक्नुहुन्छ । यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

एसएमएस ब्याकअप एण्ड रिस्टोर

बेलाबखत फोन परिवर्तन गरिरहँदा समेत तपाईंसँग टेक्स्ट म्यासेजको ब्याकअप छैन भने पुराना म्यासेज हेर्न मुस्किल महसुस भइरहेको हुन्छ । यस्तोमा तपाईं एसएमएसलाई ब्याकअपको रुपमा राख्न यो एप प्रयोग गर्न सक्नुहुन्छ ।

यो एपमा ईमेल अकाउण्ट, गुगल ड्राइभ, ड्रपबक्ससँग इन्टिग्रेट गर्न सकिने सुविधा समेत दिइएको छ । यसमा एसएमएस, एमएमएस, कल लग आदिलाई एक्सएमएल फर्म्याटमा ब्याकअप राख्न सकिने सुविधा छ । सँगसँगै यसमा ब्याकअपका लागि लोकल डिभाइसको अप्सन समेत रहेको छ ।

जसबाट तपाईं अटोमेटिक ब्याकअपका लागि गुगल ड्राइभ, ड्रपबक्स, वान ड्राइभ जस्ता विकल्प रोज्न सक्नुहुन्छ । एन्ड्रोइड फाइभ वा त्यसपछिका नयाँ भर्सनका स्मार्टफोनमा यो एप सहजिलै प्रयोग गर्न सकिन्छ । यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

जी क्लाउड ब्याकअप

यो एपको मुख्य विशेषता के छ भने यसमा पुरै एन्ड्रोइड स्मार्टफोनको ब्याकअप लिन सकिन्छ । यो एपमा एप डेटा, भिडियो, म्युजिक, एसएमएस, डकुमेन्ट आदि सामग्रीको ब्याकअप गर्न सकिने सुविधा दिइएको छ ।

अटो ब्याअपको सुविधा समेत रहेको यो एपमा त्यसका लागि अटो शेड्युल फिचरको सहयोग लिन सकिन्छ । यतिमात्र होइन, क्यामेरा, ह्वाट्सएप, भाइबर आदि एपका फोटो र भिडियो समेत यसबाट ब्याकअपमा राख्न सकिन्छ ।

यो एपमा सुरक्षित डेटा ट्रान्सफर गर्न सकिने र पासकोडबाट सुरक्षित राख्न सकिने फिचर समेत रहेको छ । यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

याे पनि पढ्नुहाेस्:

थाहा पाइराख्नुहोस् स्मार्टफोन हराउँदा काम लाग्ने टिप्स

थाहा पाउनैपर्ने गूगलको ट्रिक, जुन मोबाइल हराउँदा काम लाग्छ

मोबाइलमा फोन नम्बर डिलिट हुँदा रिस्टोर गर्ने तरिका

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१