close

च्याट जीपीटीको सहारा लिएर नेपालमा कस्तो स्टार्टअप व्यवसाय गर्न सकिएला ?

टेकपाना टेकपाना

पुस १८, २०७९ १२:५२

च्याट जीपीटीको सहारा लिएर नेपालमा कस्तो स्टार्टअप व्यवसाय गर्न सकिएला ?

काठमाडौं । अहिले बजारमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा चुलिएकाे छ । 'ओपन एआई' नामक कम्पनीले तयार पारेका 'च्याट जीपीटी' नामकाे  एआई टुल लाेकप्रिय बनिरहेकाे छ । विभिन्न देशका मानिसले यो प्रविधिको सदुपयोग गर्दै आफ्नो व्यापार प्रवर्द्धन गर्न थालेका छन् ।

आज हामी विदेशमा सुरु भई सफल भएका र नेपालमा सफल हुनसक्ने सम्भावना बोकेका स्टार्टअप व्यवसायको चर्चा गर्दैछौं । एउटा विकासोन्मुख देश भएको नाताले नेपालजस्तो देशमा जहाँ प्रविधिको भर्खर सुरु हुँदैछ, च्याट जीपीटी जस्तो प्रविधि प्रयोग गरेर धेरै काम गर्न सकिन्छ ।

आज हामी च्याट जीपीटी वा इन्टरनेटमा उपलब्ध विभिन्न एआई टुलको सहायताले कस्तो स्टार्टअप सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

च्याटबट

ग्राहक सेवाका लागि च्याटबटको विकास गर्नु राम्रो सम्भावना बोकेको स्टार्टअप हो । विभिन्न ठूला कम्पनीले ग्राहक सेवा उपलब्ध गराउन धेरै कर्मचारी राखेका हुन्छन् । यसरी कर्मचारी राख्दा पनि कतिपय अवस्थामा ग्राहक प्रतिनिधिले सेवाग्राहीको समस्यालाई समाधान गर्न सकेका हुँदैनन्, जसले गर्दा कम्पनीको विश्वसनीयता घट्दै जानसक्ने सम्भवना रहन्छ ।

कुनै पनि कम्पनीको क्षेत्र, त्यसले दिने सेवा आदिका आधारमा च्याटबट बनाई बारम्बार आइरहने प्रश्नको उत्तर सो च्याटबटबाटै उपलब्ध गराउन सकियो भने त्यसले कम्पनीलाई टेवा पुर्‍याउँछ । अतिरिक्त कर्मचारी राख्ने पैसाले ती कम्पनी र स्टार्टअप गर्ने तपाईँलाई पनि राम्रो अवसर दिन्छ ।

हाल यस्तो प्रकारको सेवा विशेषगरी बैंकहरूको वेबसाइटमा देख्न सकिन्छ । यसरी बैंक लगायतका अन्य कम्पनीहरूलाई च्याटबटको सुविधा दिने कम्पनी च्याट जीपीटीको सहायतामा खोल्न सकिन्छ ।  

रेकमेन्डेसन टुल

कुनै पनि ई-कमर्स साइटमा एउटा सामान सर्च गर्‍यौँ भने त्यहाँ हामीलाई सुझावका रूपमा अन्य विभिन्न सामग्री देखाइएको हुन्छ । यसको सामान्य उदाहरणका लागि युट्युबलाई नै लिन सकिन्छ । हामीले हेरेका भिडिओको आधारमा त्यहाँ अन्य विभिन्न भिडिओ सुझाव दिइएको हुन्छ । त्यस्ता सुझावमा दिइएका अधिकांश भिडिओ हाम्रो रुचि अनुसारका हुन्छन् ।

त्यस्तै ई-कमर्स, अनलाइन होटल बुकिङ साइट, अनलाइन न्युज पोर्टल आदिलाई रेकमेन्डेसन इन्जिनको आवश्यक पर्छ । यस्तो हुँदा अनलाइन न्युज पोर्टल साइटले पाठकको रुचि अनुसारको सामग्री सुझाव दिन सक्छन् । त्यस्तै ई-कमर्स, डिजिटल वालेट, ओटीटी प्लेटफर्म लगायतका एप सञ्चालन गर्ने कम्पनीलाई रेकमेन्डेसन इन्जिनको आवश्यकता पर्छ ।

रेकमेन्डेसन टुललाई विस्तृत रूपले विकास गरी आफ्नो सर्भिस विभिन्न कम्पनीलाई बिक्री गर्न सकिन्छ । यदि तपाईँको रेकमेन्डेसन टुलले सटीक रूपमा काम गर्‍यो भने त्यस्ता कम्पनीको भिजिटर वा ग्राहक बढी हुन्छन् ।

त्यसैले रेकमेन्डेसन इन्जिन तयार पारेर त्यसैमा समर्पित स्टार्टअप खोल्न सकिन्छ । रेकमेन्डर टुल एआई तथा एल्गोरिदमको सहायताले चल्ने भएकाले तपाईँले च्याट जीपीटीको सहयोग लिन सक्नुहुन्छ ।

भर्चुअल असिस्टेन्ट

भर्चुअल असिस्टेन्ट अहिले निकै आवश्यक मानिएको टुल हो । सबै मानिसलाई वैयक्तिक सहायक अर्थात् पर्सनल असिस्टेन्ट राख्न सम्भव नहुन सक्छ । समय तालिका मिलाइदिने, विभिन्न मिटिङबारे जानकारी दिने, एपोइन्टमेन्ट लगायत अन्य विविध काममा सघाउने भर्चुअल असिस्टेन्टको महत्त्व अन्तर्राष्ट्रिय बजारमा बढ्दो छ ।

च्याट जीपीटीको प्रयोग गरी भर्चुअल असिस्टेन्टको स्कोप, त्यसको प्रयोग, बनाउने तरिका आदिबारे विस्तृतमा बुझ्न सकिन्छ । भर्चुअल असिस्टेन्टका रूपमा गुगलको गुगल असिस्टेन्ट र अमेजनको एलेक्सालाई लिन सकिन्छ । नेपाली भाषालाई आधार बनाएर त्यस्ता भर्चुअल असिस्टेन्ट टुल वा डिभाइस बनाउने स्टार्टअप कम्पनी स्थापना गर्नुभयो भने त्यसले राम्रो बजार पाउन सक्छ ।

तपाईँलाई भर्चुअल असिस्टेन्ट तयार पार्नका लागि के-के आवश्यक पर्छ भन्ने सहयोग पाउन च्याट जीपीटीको प्रयोग गर्न सक्नुहुन्छ । भर्चुअल असिस्टेन्ट विशेषगरी एआईमा आधारित हुने भएकाले च्याट जीपीटीको काम गर्ने तरिकाबाट त्यस्तो डिभाइस बनाउन सकिन्छ ।

प्रोजेक्ट म्यानेजमेन्ट टुल

दुई वा दुईभन्दा बढी परियोजनामा काम गर्ने कम्पनीलाई त्यससम्बन्धी व्यवस्थापनको पाटो निकै आवश्यक पर्छ । कम्पनीमा आएका कुनै पनि परियोजना कसरी, कुन तहबाट, कस्ता स्रोत प्रयोग गरेर सम्पन्न गर्न सकिन्छ भन्ने कुरा व्यवस्थापन गर्न सकियो भने त्यसले राम्रो बजार पाउन सक्छ ।

विशेषगरी इभेन्ट वा प्रोजेक्ट म्यानेजमेन्ट कार्यमा संलग्न कम्पनीहरूलाई यस्ता एआई टुलको आवश्यक पर्छ । यस्तो अवस्थामा तपाईँले उनीहरूलाई आवश्यकता अनुसारको एआई टुल बनाएर सेवा दिन सक्नुहुन्छ । प्रोजेक्ट म्यानेजमेन्ट टुल बनाउने स्टार्टअप कम्पनीले भविष्यमा समयको माग अनुसार अन्य टुल बनाउन सक्छ । त्यसका लागि गहन खोज गरेर यस्ता टुल बनाउन सक्नुहुन्छ ।

एआई अबको आवश्यकता हो भन्ने कुरा च्याट जीपीटीको लोकप्रियताबाटै थाहा पाउन सकिन्छ । हरेक क्षेत्रमा एआई वा अटोमेसन टुलको माग बढिरहेको छ । यस्ता एआई टुलमा आधारित कम्पनी खोलेर बजारमा प्रवेश गर्न सक्नुभयो भने तपाईँको व्यापार आइडिया सफल हुन्छ ।

बजारमा थुप्रै अवसर भए कस्तो प्रणालीको माग बढी छ केलाउनु जरुरी छ । जसका लागि बजार अध्ययन धेरै महत्त्वपूर्ण विषय हो । बजार अध्ययन गरिसकेपछि व्यावसायिक योजना बनाउनुपर्ने हुन्छ । यसपछि एउटा मजबुत टिम बनाएर योजना अनुरूप कम्पनी अगाडि बढाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस १८, २०७९ १२:५६