close

फेसबुकमा अपरिचितसँग जोडिँदा नग्न फोटोमा टाउको राखेर सार्वजनिक गरियो महिलाको मोबाइल नम्बर

टेकपाना टेकपाना

पुस १८, २०७९ १८:४८

फेसबुकमा अपरिचितसँग जोडिँदा नग्न फोटोमा टाउको राखेर सार्वजनिक गरियो महिलाको मोबाइल नम्बर

काठमाडौं । आफ्नो सामाजिक सञ्जालका अकाउन्टमा फलोअर, लाइक र प्रशंसा गरेर आएका कमेन्ट कसलाई पो मन नपर्ला र ! वास्तवमा मानिसहरूको यही रुचिलाई आधार बनाएर सामाजिक सञ्जाल कम्पनीले आफ्ना प्लेटफर्म खडा गरेका हुन्छन् ।

इन्टरनेटमा आफूलाई परिचित बनाउन होस् वा आफ्नाबारे अन्य व्यक्तिलाई जानकारी दिन नै किन नहोस्, हामी हाम्रा अधिकांश गतिविधि सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छौं । तर, त्यही व्यक्तिगत विवरण सामाजिक सञ्जालमा शेयर गर्दा भविष्यमा ठूलो समस्या निम्तिन सक्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा हालै एउटा त्यस्तो उजुरी पर्‍याे, जसअनुसार पीडकले एक महिलाकाे व्यक्तिगत विवरणकाे चरम दुरुपयोग गरेका छन् । याे घटनाले पीडित महिलाको जिन्दगीमै ठूलो समस्या ल्याएकाे छ ।

ती पीडितले फेसबुकमा केही महिनाअघि एक अपरिचित पुरुषको फ्रेन्ड रिक्वाइस्ट एक्सेप्ट गरिन् । कुरा गर्दै जाँदा उनीहरू नजिक भए, फोन नम्बर साटे । पछि उनीहरूबीच कुरा नमिल्दा पीडकले महिलाको फोटो र फाेन नम्बर दुरुपयोग गरे ।

उनले ती महिलाको अनुहार अश्लील फोटोमा जोडेर नयाँ तस्वीर तयार पारे । त्यही तस्वीरलाई नक्कली फेसबुक अकाउन्ट बनाएर उनले ती महिलाको नम्बर सार्वजनिक गरे । र, क्याप्सन लेखे ‘एक रातको मूल्य पाँच हजार । चाहिएमा यो नम्बरमा सम्पर्क गर्नुहोला । नम्बर ९८********* ।’

त्यसरी अञ्जान व्यक्तिसँग सामाजिक सञ्जालमा नजिकिँदा ती महिलाले जीवनमा कहिल्यै नपाएको दुःख भाेगेकी छन् । बेलैमा सचेत नहुँदा धेरै निर्दाेष व्यक्तिकाे चरित्रहत्या हुने र यसले जीवनमा विभिन्न समस्या ल्याउने साइबर ब्यूरोका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पशुपति राय बताउँछन् । 

ब्यूरोमा आउने उजुरीमध्ये ८० प्रतिशतभन्दा बढी घटना सामाजिक सञ्जालसँग सम्बन्धित रहेको राय सुनाउँछन् । ''अधिकांश उजुरीमा फेसबुकमार्फत चरित्रहत्या भएको, मानसिक दुःख र हेरानी पाएको, आर्थिक लाभका लागि अश्लील सामग्री पोस्ट गरेको लगायतका घटना छन् । यसमध्ये पनि अपरिचित पुरुषलाई विश्वास गर्दा पीडित बनेका महिलाको उजुरी धेरै छन्,'' उनी भन्छन् ।

''लाइक र कमेन्टको लोभमा मानिसहरू आफ्नो प्राइभेसी भुल्छन्," उनी भन्छन्, "फेसबुक खोल्दा सुरुमै ‘ह्वाट्स अन योर माइन्ड’ अर्थात् तपाईँको दिमागमा के छ भनेर सोधिन्छ । त्यसपछि मानिसहरू आफ्नो गोपनीयता भुलेर दिमागमा भएका सानातिना कुरादेखि बेडसम्मका कुरा शेयर गर्न पुग्छन् ।"

यसरी आफ्ना व्यक्तिगत विवरण शेयर गर्दा आपराधिक मनस्थिति भएका मानिसले माैका पाउने उनी बताउँछन् । "व्यक्तिगत विवरण कुनै अपरिचित व्यक्तिलाई दिँदा वा सार्वजनिक रूपमा शेयर गर्दा भविष्यमा अप्ठ्याराे पर्नसक्छ,'' उनी थप्छन् ।

कस्ता विवरण वा जानकारी फेसबुकमा राख्दा असर पर्दैन, त्यस्तो मात्र राख्न उनको सुझाव छ । ''विशेषगरी आफ्ना नजिकका मानिससँग मात्र सामाजिक सञ्चालमा जोडिनुपर्छ । फोटो वा केही कुराहरू शेयर गर्दा साथी सर्कलका मानिसहरूले मात्र देख्ने अपलोड गर्नु राम्राे मानिन्छ,'' उनी भन्छन् ।

पछिल्लो अध्यावधिक: पुस १८, २०७९ १८:४८