close

अब नेपालकै सस्तो इन्टरनेट वाई-फाई नेपालको सेवा पोखरामा पनि

टेकपाना टेकपाना

पुस १९, २०७९ १४:५८

अब नेपालकै सस्तो इन्टरनेट वाई-फाई नेपालको सेवा पोखरामा पनि

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वाई-फाई नेपालको सेवा अब पोखरमा पनि विस्तार हुने भएको छ । गत जेठमा नेपालकै सस्तो इन्टरनेट प्याकेजका साथ सञ्चालनमा आएको कम्पनीले पोखरामा पनि सेवा विस्तार गर्न लागेको हो ।

माघ १ देखि पाेखरा आसपासका सर्वसाधारणले वाई-फाई नेपालकाे ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्नसक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रितेशराज सिंह श्रेष्ठले जानकारी दिए ।

"हामीले काठमाडाैं उपत्यकाका तीन जिल्लामा सेवा विस्तार गरेसँगै अब पोखरमा पनि वाई-फाई नेपाल विस्तार गर्न लागेका छौं ," सीईओ श्रेष्ठले भने, "उपत्यका बाहिर अब पोखराबाट हाम्राे सेवा विस्तार हुनेछ ।''

उनका अनुसार मासिक ३३३ रुपैयाँमा ५० एमबीपीस र मासिक ५३३ रुपैयाँमा ८० एमबीपीएस इन्टरनेट प्याकेज खरिद गर्न सकिनेछ ।

५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्नका लागि न्यूनतम तीन महिनाको शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । तीन महिनाका लागि कुल तीन हजार १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । जसमा तीन महिनाको शुल्क ११ सय रुपैयाँ, तारको शुल्क ५०० रुपैयाँ र राउटरको शुल्क १५ सय रुपैयाँ लाग्नेछ ।

छ महिना र एक वर्षका लागि जडान गर्दा तारको शुल्क लाग्नेछैन ।

यसरी तीन महिनाका लागि वाई-फाई नेपालकाे ५० एमबीपीएस इन्टरनेट जडान गर्दा कुल तीन हजार १०० रुपैयाँ, छ महिनाका लागि तीन हजार ६०० रुपैयाँ र एक वर्षका लागि पाँच हजार ५०० रुपैयाँ लाग्नेछ ।

अर्काेतर्फ ८० एमबीपीएस इन्टरनेट स्पिड जडान गर्न तीन महिने प्याकेजका लागि तीन हजार ६०० रुपैयाँ लाग्छ, जसमा एक हजार ६०० रुपैयाँ तीन महिनाको इन्टरनेट शुल्क, ५०० रुपैयाँ तार शुल्क र एक हजार ५०० रुपैयाँ राउटर शुल्क समावेश हुन्छ । सुरुवातमा छ महिना वा एक वर्षको भुक्तानी गर्ने ग्राहकले तारको शुल्क तिर्नुपर्दैन ।

यसरी तीन महिनाका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्दा तीन हजार ६०० रुपैयाँ, छ महिनाका लागि चार हजार ७०० रुपैयाँ र एक वर्षका लागि सात हजार ५०० रुपैयाँ लाग्नेछ ।

पछिल्लो अध्यावधिक: पुस १९, २०७९ १५:१५