close

राहदानीको समस्या पत्ता लागेन, छपाइ र वितरण कार्य अनिश्चित

टेकपाना टेकपाना

पुस २१, २०७९ ८:४३

राहदानीको समस्या पत्ता लागेन, छपाइ र वितरण कार्य अनिश्चित

काठमाडाैं । विद्युतीय राहदानी वितरण बन्द भएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना प्रविधि टोली राहदानी विभागमै पुगेर समस्या बुझ्ने पहल गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राहदानीलगायतका अत्यावश्यक कागजपत्र वितरणमा ढिलाइ गर्न नहुने भन्दै प्राविधिक टोलीलाई समस्या बुझ्न पठाएका थिए ।

छपाइ तथा वितरणमा सघाउने प्राविधिक प्रणालीमा समस्या आएपछि औपचारिक रूपमा मंगलबारदेखि राहदानी छपाइ तथा वितरण अनिश्चितकालका लागि बन्द भएको छ । प्रधानमन्त्री कार्यालयको सूचना तथा प्रविधि टोलीले त्रिपुरेश्वरस्थित विभागमै पुगेर अवस्थाबारे जानकारी लिँदै समस्या समाधानको उपायका विषयमा पदाधिकारीसँग छलफल गरेको छ ।

टोलीले विभागका महानिर्देशक सुरेन्द्र यादव, प्रशासनका उच्चाधिकारी तथा छपाइ वितरणको जिम्मा लिएको प्राविधिक टोलीसँग समस्याबारे विस्तृत छलफल गरेको विभागले जनाएको छ । प्रधानमन्त्री कार्यालयको प्राविधिको टोलीले सम्झौता अनुसार जिम्मा लिएको कम्पनीले समस्या हल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । जसका कारण राहदानी वितरण रोकिँदा जनताले सास्ती भोग्नु परेकाले तत्काल समस्या हल गर्न निर्देशन दिएको छ ।

यसका लागि जिम्मा लिएको प्राविधकि कम्पनीको केन्द्रीय कार्यालयबाट नै प्राविधिक झिकाएर तत्काल समस्या समाधानको पहल गर्न भनिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । छलफलका क्रममा सेवाग्राहीले लामो समय लाइनमा नबसी राहदानी पाउने व्यवस्थाका लागि आवश्यक संरचनागत तथा नीतिगत सुधार वा परिमार्जनका लागि तत्काल कार्ययोजना बनाउन विभागलाई सुझाव दिइएको थियो ।

राहदानी विभागका अनुसार दैनिक कम्तीमा एक हजार प्रति राहदानी छपाइ र सोही अनुसारको परिमाणमा वितरण हुँदै आएको थियो । तर विगत केही दिनयता करिब चार सयको हारहारीमा मात्र छपाइ हुन थालेको थियो । सामान्य प्राविधिक समस्याले होला, छिट्टै समाधान होला भन्ने सोचमा विभागले अघिल्ला समयमा छपाइ भएका राहदानी वितरण जारी राख्यो ।

विभागका महानिर्देशक सुरेन्द्र यादवले तीन दिनयता छपाइ ह्वात्तै घटेपछि वितरण रोक्नुको विकल्प नरहेको बताए । सरकारले विद्युतीय राहदानी छपाइका लागि फ्रान्सको आइडियामिया कम्पनीसँग दुई वर्षको सम्झौता गरेको थियो । एक वर्षको अवधि बितिसकेको छ ।

उनले भने, “हामी सुधारका लागि निरन्तर पहल गरिरहेका छौं । प्राविधिक विषय आफ्नो हातमा नहुँदा अप्ठ्यारो पर्दो रहेछ ।''

अनलाइन आवेदन र त्यसका आधारमा प्राप्त गरेको मितिमा बायोमेट्रिक परीक्षण गर्ने प्रविधिमा भने कुनै समस्या नरहेको विभागले प्रस्ट पारेको छ । उनका अनुसार सफ्टवेयरको मूल समस्या अहिलेसम्म पत्ता लागेको छैन । समस्या पता लगाउनमै प्राविधिक टोली व्यस्त छ ।

कम्पनीले तारन्तार फ्रान्सस्थित आफ्नो मुख्य कार्यालयको सम्पर्कमा रहेर सुधारको प्रयास जारी राखेको छ, तर कहिले त्यो सफल हुन्छ र विद्युतीय राहदानी छपाइ फेरि सुरु हुन्छ भन्न सकिने अवस्था नरहेको विभागले जनाएको छ ।

-गाेरखापत्र

पछिल्लो अध्यावधिक: पुस २१, २०७९ १०:४